भारतबाट भागेर आएका सुर्खेतका किशोरी दिदीबहिनी भक्तपुरमा मृत फेला, मृत्युअघि बनाएका थिए टिकटक



भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८, सिन्टीटारमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका दुई किशोरी दिदीबहिनी करिब २० दिनअघि भारतको मुम्बईबाट भागेर नेपाल आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार उनीहरु सुर्खेत पञ्चपुरी नगरपालिका–८ का १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल हुन् । दुबै एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

लामो समयदेखि मुम्बईमा कार्यरत आमा–बाबुसँगै बस्दै आएका दिदीबहिनी त्यहाँ कम्प्युटर कक्षा लिइरहेका थिए । करिब २० दिनअघि उनीहरू घरबाट सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

अनुसन्धानमा उनीहरूको अन्तिम लोकेशन भारतको गोरखपुर देखिए पनि त्यसपछि उनीहरू नेपाल प्रवेश गरेका थिए ।
नेपाल आएपछि उनीहरूले भक्तपुरको सिन्टीटारमा आफूहरू विद्यार्थी भएको र बुबा नेपालकै कुनै होटलमा काम गर्ने बताउँदै कोठा भाडामा लिएका थिए ।

प्रहरीले घटनास्थलबाट उनीहरूको मोबाइल बरामद गरेको छ, जसमा मृत्यु भएको राति करिब २ बजे टिकटक भिडिओ बनाएको पाइएको छ ।
प्रहरीका अनुसार उक्त भिडिओमा उनीहरूले आत्महत्यामा प्रयोग भएको डोरीसमेत देखाएका छन्। घटनास्थलमा कुनै सुसाइड नोट फेला नपरेकोले आत्महत्याको कारण खुल्न सकेको छैन ।

प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको छ भने बरामद मोबाइल र अन्य प्रमाणका आधारमा घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । घटनाको खबर पाएपछि मृतकका बाबु भारतबाट नेपाल आउँदै गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार