‘अब युवालाई सुनौं’ नारासहित कर्णालीमा पहिलो पटक प्रदेशस्तरीय बहस, मुख्यमन्त्री र मन्त्रीहरू श्रोता बन्ने



सुर्खेत । कर्णालीको भविष्यबारे सधैँजसो नेताहरूले भाषण गरे, नीतिहरू बनाए र योजनाहरू सुनाए । यसपटक माइक र मञ्च युवाको हातमा हुनेछ, र नीति–निर्माताहरू श्रोताको कुर्सीमा बसेर सुन्नेछन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार युवाह बहस आयोजना गरिएको छ, जहाँ युवाहरूले नै ‘समृद्ध कर्णाली’को सपना र सम्भावनाबारे आफ्नो आवाज बुलन्द गर्नेछन् ।

कर्णाली युथ सोसाइटीको आयोजनामा सोमबार मध्यपश्चिम विश्वविद्यालयमा हुन लागेको ‘समृद्ध कर्णालीका लागि युवा’ शीर्षकको यो बहस आफैँमा विशेष छ ।

‘अब युवालाई सुनौं’ भन्ने मूल नाराले यसको उद्देश्य स्पष्ट पार्छ— युवाका विचार, सिर्जना र सुझावलाई भाषणमा मात्रै सीमित नराखी सिधै नीति निर्माणको तहसम्म पुर्‍याउने ।

‘हामीले धेरै पटक नेताहरूका भाषण सुन्यौँ, अब हाम्रो पालो । कर्णालीका युवा के सोच्छन्, कस्तो प्रदेश चाहन्छन् भन्ने कुरा अब हामी आफैँ भन्नेछौँ,’ आयोजक संस्थाकी अध्यक्ष सुप्रिया शाहीले आत्मविश्वासका साथ भनिन् ।

बहसको मञ्चमा ६ जना युवाहरूले कर्णालीको आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक विकासमा युवाको भूमिकाबारे धारणा राख्नेछन् । यी युवाहरू आफैँमा विविधताको प्रतीक हुन् । कोही राजनीतिक दलको कान्छा केन्द्रीय सदस्य छन्, कोही विद्यार्थी संगठनमा क्रियाशील छन्, त कोही विशुद्ध सामाजिक उत्प्रेरकका रूपमा युवा जागरणको अभियान चलाइरहेका छन् ।

वक्ताहरूमा मनोसामाजिक परामर्शकर्ता शर्मिला बिसी, राप्रपाका कान्छा केन्द्रीय सदस्य रवीकिरण हमाल, एमाले निकट विद्यार्थी नेतृ प्रतिमा केसी, युवा उत्प्रेरकहरू दिपेश शाही ठकुरी, प्रकाश खड्का र आदर्श विक्रम सिंह ठकुरी छन् ।

उनीहरूले कर्णालीको भविष्यको खाका कोर्दा, प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, आर्थिक मामिला मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी लगायतका मन्त्री र सांसदहरूले ध्यानपूर्वक सुन्नेछन् ।

कर्णालीको विकासमा युवाको आवाज कति महत्त्वपूर्ण छ भन्ने कुराको प्रमाण नीति–निर्माताहरूको उत्साहजनक उपस्थिति र युवाहरूको व्यापक सहभागिताले दिइसकेको छ ।

यो बहसले कर्णालीको नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिताको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ साउन २५ गते आइतबार