गान्धीका १० प्रेरक भनाइ—हामी जस्तो सोच्छौँ, त्यस्तै बन्छौँ



महात्मा गान्धी विश्वका यस्ता दार्शनिक हुन्, जसले सिद्धान्त अध्ययन गरेर र अर्ती दिएर कसैलाई अनुयायी बनाएनन्, अनि बन्नुपर्छ भनेर अड्डी पनि लिएनन्। आफैले अनुभव गरेको कुरालाई जीवन आदर्शमा उतारेर त्यसलाई अहिंसाको सिद्धान्त बनाए। त्यसैले उनी अहिंसाका पूजारी बने, विश्वले उनलाई त्यसरी नै चिन्दछ।

कुनै पनि समस्यालाई गहन रूपमा अध्ययन गरेर समाधानको कारण पत्ता लागाउन सक्नु उनको व्यावहारिक गुण रह्यो। भगवान बुद्धले दुःखको कारण पत्ता लगाएजस्तै उनले पनि आधुनिक जीवनमा विकराल समस्या रहेको स्वीकारेका छन्। विश्वमा समस्याका धेरै प्रकार छन्। जस्तै, गरीबी, धनी र गरीबबीचको विभेद, पूर्व र पश्चिमबीचको मतभेद, उत्तर र दक्षिणबीचको विभेद, आतंकवाद, जातीय युद्ध, उत्पीडन, भ्रष्टाचार, अतिवाद, उन्माद, हिंसा आदि। यी समस्याको समाधान छ भन्ने कुरालाई उनको जीवन आदर्शले प्रमाणित गरिदिएको छ।

विश्वको राजनीतिक इतिहासमा उनको जीत एउटा चमत्कार नै हो भन्दा हुन्छ। सत्ता परिवर्तनको लडाईंमा अहिलेसम्म त्यसरी एक्लो व्यक्तिको आदर्शमा अहिंसात्मक लडाईं भएर कसैले विजय प्राप्त गरेको पनि छैन।

अहिंसालाई जीवन चरित्र, साहस, दृढता, संयम र विश्वासका साथ अपनाउन सकियो भने विभेद र अन्यायका विरुद्ध विजय प्राप्त गर्न सकिन्छ भन्ने कुरा उनको जीवनआदर्शबाट जानकारी पाउन सकिन्छ।

उनका १० वाणी, जुन सुन्दा सामान्य लाग्न सक्छ। तर, यही कुरालाई अवलम्बन गर्दा मानिसको जीवनमा कायापलट आउन सक्छ। पढौं गान्धीका १० महावाणि।

१. हामी जस्तो सोच्छौँ, त्यस्तै बन्छौँ – महात्मा गान्धीले भनेका छन् कि हामी जस्तो सोच्छौँ, त्यही बन्छौँ। हामीले तय गरेको लक्ष्य पुग्नुपूर्व नै असफलताबारे सोच्न थाल्यौँ भने साँच्चिकै हामी असफल नै हुन्छौँ। हामीसँग सकारात्मक र नकारात्मक दुवै गुण हुन्छन्। तर, हामीले नकारात्मक विचारलाई मनबाट हटाएर सकारात्मकलाई मात्र राख्न जरुरी हुन्छ।

२. कहिल्यै पनि हार नमान्नु – भारतलाई स्वतन्त्र बनाउने दौरानमा गान्धीले कैयौँपटक जेलजीवन भोग्नुपर्यो। तर, उनले कहिल्यै पनि हार मानेनन्। लगातार स्वतन्त्र भारतको पक्षमा संघर्ष गरिरहे। उसै गरी हामी पनि लक्ष्य प्राप्तिका लागि संघर्ष गर्न थाक्नु हुँदैन।

३. प्राथमिकता छुट्याउ – हरेक मान्छेले एउटा योजना र लक्ष्य बनाएको हुन्छ। तर, कहिलेकाहीँ मानिस लक्ष्यमै हराउन पुग्छ। किनभने, लक्ष्यको प्राथमिकतामा हामी चुकेका हुन्छौँ। त्यसैले हामीले हाम्रो प्राथमिकताबारे सोचेर अगाडि बढ्नुपर्दछ। हामीले अन्य विषयलाई भन्दा लक्ष्यलाई नै प्राथमिकता दिएर अगाडि बढ्नुपर्दछ।

४. लक्ष्यको बाटो पनि लक्ष्यजस्तै सुन्दर हुन्छ – गान्धी एक नैतिकवान् मानिस थिए। उनले स्वतन्त्र भारतको आन्दोलनमा कहिल्यै पनि यस्तो कदम उठाएनन् कि जसले उनको अन्तरआत्मामा ठेस पुगोस्। त्यसैले त उनले भारतलाई ब्रिटिस शासनबाट मुक्त गर्नका लागि हिंसाको सहारा लिएनन्। त्यसरी नै हामीले पनि लक्ष्य प्राप्तिका लागि नैतिक बाटोलाई अवलम्बन गर्नुपर्दछ।

५. कस्तो कुरामा सहमति – कतिपय मानिसले अरूलाई नचिढ्याउनका निम्ति नकारात्मक कुरामा पनि सहमति जानाएका हुन्छन्। यस्तो आचरणले मन नपर्दा नपर्दै पनि विभिन्न काम गरिरहेका हुन्छन्। गान्धी भन्छन् कि अरूलाई खुसी बनाउनका निम्ति कहिल्यै पनि नकारात्मक कुरामा सहमति जनाउनु हुँदैन। यदि यसो गरिएन भने मानिसमा आक्रोश र कुण्ठा भरिँदै जान्छ।

६. अन्तरआत्माको आवाज – हामी पूरै जिन्दगीभर शान्ति प्राप्तिका लागि दौडिरहेका हुन्छौँ। तर, कसरी शान्ति प्राप्त हुन्छ भन्ने कुरामा भने त्यति ध्यान दिँदैनौँ। अरूका कुरा सुनेर निर्णय लिन्छौँ। यदि आफूमा शान्ति छाओस् भन्ने कामना गर्छौं भने अन्तरआत्माको आवाज सुन्न पनि जरुरी हुन्छ।

७. सदभावले खुसी मिल्छ – आजको युगमा खुसी र सद्भाव दुर्लभ बन्दै गएको छ। तर, गान्धीले सधैँ भन्ने गर्थे कि सद्भावको विचारले साँच्चिकै हामीलाई खुसी दिलाउँछ।

८. माफ गर्ने – मानिसले कसैलाई माफ गर्न जान्दैन, या कसैलाई माफ गर्नु भनेको कमजोर हुनु हो भन्ने ठान्छ। गान्धीले भनेका छन् कि माफ दिने मानिस नै महान् हो। अरूलाई माफी दिनुलाई उनले सफलताको निशानी ठानेका छन्। अरूलाई माफ गरेपछि स्वयं शान्तिपूर्वक बाँच्न सक्छ।

९. शारीरिक कि मानसिक शक्ति ठूलो – बलियो शरीरभन्दा दिमागको शक्ति महत्वपूर्ण हुन्छ। गान्धी शारीरिक रूपमा बलिया थिएनन्। तर, उनको मानसिक र इच्छाशक्तिले ब्रिटिस राज्यलाई घुँडा टेक्न बाध्य बनाए।

१०. पहिला आफूलाई बदल्नुस् – गान्धीले भनेका छन् कि अरूको नकारात्मक प्रवृत्ति हामी निकै छिटो देख्छौँ। तर, आफ्नो बारेमा ख्याल नै राख्दैनौँ। उनका अनुसार सबै व्यक्ति अद्भूत र सुन्दर हुन्छन्। त्यसैले हामीले अरूलाई मद्दत गर्न जान्नुपर्दछ।

प्रकाशित मिति : २०८१ कात्तिक ६ गते मंगलबार