मध्यपश्चिम विश्वविद्यालय लगायत चीन र दक्षिण एशियाका तेह्र विश्वविद्यालयद्वारा संयुक्त घोषणा पत्रमा हस्ताक्षर



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले चीनमा आयोजित “हुबेई (चीन) र दक्षिण एशियाका विश्वविद्यालय अध्यक्षहरूको फोरम” (Forum of University Presidents from Hubei (China) and South Asia) मा सहभागी भई संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयकातर्फ बाट उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमले उच्च शिक्षा साझेदारी बढाउने उद्देश्यका साथ सहयोगी पहलहरूबारे छलफल गर्न दक्षिण एशिया र चीनका तेह्र संस्थाहरूका अध्यक्ष एवं प्रतिनिधि बीच उक्त घोषणा पत्रमा हस्ताक्षर गरेका हुन् ।

फोरम एवं घोषणा पत्रको मुख्य उदेश्य शिक्षा, अनुसन्धान र प्राविधिक आविष्कारमा सहयोगलाई जोड दिनु रहेको छ । घोषणाले साझेदारीलाई फराकिलो बनाउने, प्रतिभा विकासलाई बढवा दिने र डिजिटल शिक्षालाई एकीकृत गर्ने लगायतका क्षेत्रहरूलाई रेखांकित गरेको छ ।

यसले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत आपसी सहयोगको महत्त्वलाई समेत समावेश गरेको छ भने सहभागी विश्वविद्यालयहरू बीच उच्च–स्तरीय  अनुसन्धानलाई बढावा दिदै साझेदारीलाई प्रोत्साहित गर्न प्रतिवद्धता व्यक्त गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. गौतम लगायत हुबेई विश्वविद्यालय, चाइना थ्री गर्जेज विश्वविद्यालय, वुहान विज्ञान तथा प्रविधि विश्वविद्यालय, नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरुले घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।

यो हस्ताक्षरले दक्षिण एसिया र चीनबीच बलियो शैक्षिक र सांस्कृतिक सम्बन्ध निर्माण गर्ने तथा प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीहरुलाई समर क्याम्प, संयुक्त अनुसन्धान लगायतका विभिन्न गतिबिधिहरुमा भाग लिई समग्र शैक्षिक उन्नयनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक ६ गते मंगलबार