कर्णालीका हूम्ला बाहेक सबै जिल्लामा डेंगु



फाइल तस्वीर ।

सुर्खेत । कर्णाली प्रदेशका हुम्ला बाहेक सबै जिल्लामा डेंगुमा बिरामी भेट्टिएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार असोज मसान्तसम्म मात्रै २५९ जनामा डेंगु संक्रमण भएको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा असोज मसान्तसम्म कर्णाली प्रदेशमा कुल ९९५ डेंगुका बिरामीहरु रहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।यस्तै ०८० कार्तिकदेखि ०८१ असोजसम्म एक हजार ४८२ जनामा डेंगुको संक्रमण रहेका छन् ।

निर्देशनालयका सुचना अधिकारी नवराज कँडेलका अनुसार विगतको तथ्याङ्कलाई हेर्ने हो भने साउन, भदौ, असोज महिनामा डेंगु संक्रमणको जोखिम अत्यधिक रहेको छ ।

‘मनसुन र मनसुनको आसपासको समयमा डेंगुको बिरामीहरुको संख्या बढेको पाइन्छ,’उनले भने, ‘यो समय डेंगु गराउने एडिज जातको लामखुट्टेको प्रजनन र हुर्कनका लागि उपयुक्त समय हो ।’

उनका अनुसार एडिज जातको यो लामखुट्टेले जमेको सफा पानीमा प्रजजन गर्ने हुनाले सोही जमेका वा संकलन गरी राखिएका सफा पानीहरुमा लार्भाहरु हुर्कने गर्दछन् ।

यही समयमा लामखुट्टेको संख्या वृद्धि हुने र मानिसहरुलाई टोक्ने गर्दछ । साथै मानिसहरु लामखुट्टको टोकाईबाट जोगिनका लागि गर्नुपर्ने उपयुक्त व्यवहार साथै घर वरपरको सरसफाईमा कमीले गर्दा डेंगुका बिरामीहरु बढ्ने गरेको उनले बताए ।

उनी भन्छन्, ‘लामखुट्टे र डेंगु कसरी देखियो भन्ने कुरामा कुनै एक कारण नभएर विभिन्न कारणहरु हुन सक्छन् । जस्तै जलवायु परिवर्तन, मानिसहरुको एक ठाँउबाट अर्को ठाँउमा द्रुत आवागमन, सवारी साधनको सबै ठाउँहरुमा पहुँच, लामखुट्टे हुर्कनका लागि चाहिने उपयुक्त वातावरणको उपलब्धता आदि जसले लामखुट्टे र डेंगु फैलिन मद्दत गरेको हुन सक्छ ।’

उनका अनुसार भाइरसबाट लाग्ने यस रोगको कुनै विशेष उपचार नभएकोले यसका लक्षणहरुको व्यवस्थापन गरी जटिलता हुनबाट जोगाउनका लागि ज्वरोको उपचार, प्लेटिलेट्स कम भएमा प्लेटिलेट्स प्रदान गर्ने, बिरामीलाई पर्याप्त मात्रामा झोलिलो कुरा खुवाई प्रदेश अस्पताल, जिल्ला अस्पताल, आधारभूत अस्पताल, प्राथमिक स्वास्थ्य सेवा केन्द्र मार्फत व्यवस्थापन भइरहेको छ ।


दुरदराजमा डेङ्गी बाट स्थानीयहरुलाई बचाउनका लागि “लार्भा खोज र नष्ट गर” कार्यक्रम संचालन गरिएको छ ।

साथै कतै रोगको अत्याधिक संख्या देखा परेमा स्थानीय स्तर र जिल्लाको समन्वयबाट द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ । विभिन्न संचार माध्यमबाट डेङ्गीका बारेमा जनचेतनामूलक जानकारीहरु सम्प्रेषण गरिएको छ।

प्रकाशित मिति : २०८१ कात्तिक १२ गते सोमबार