योगेश भट्टराईले ‘१० वर्षे हिंसा’ भनेपछि संसदमा एमाले–माओवादीबिच चर्काचर्की



काठमाडौँ । नेकपा एमाले सांसद योगेश भट्टराईले प्रतिनिधि सभाको बैठकमा १० वर्षे हिंसा शब्दको प्रयोग गरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूबीच चर्काचर्की भएको छ ।

बुधबार बसेको बैठकमा भट्टराईले ुमाओवादीको १० वर्षे हिंसाु भनेपछि माओवादी सांसदहरूले विरोध जनाएका थिए।

‘मैले कुनै दोष दिएको होइन। अध्ययनले भन्छ कि यदी यो देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युतमा यो भन्दा ठूलो क्रान्ति हुन्थ्यो किनभने माओवादीले कतिवटा ट्रान्समिसन लाइन पड्कायो, कतिवटा सबस्टेशनहरू पड्कायो, त्यहाँ विद्युत उत्पादन गर्न खोलामा गएका व्यवसायीहरूलाई चन्दा उठायो, भगायो, असुरक्षाको कारणले लगानी भएन,’ उनले भने, ‘त्यसकारणले अध्ययनले के भन्छ भने यदी माओवादीको १० वर्षको त्यो हिंसा नभएको भए ०७५ सालमा होइन, ०६५ सालमा नेपाल लोडसेडिङ मुक्त हुने थियो।’

भट्टराईले त्यसो भनिसक्दा माओवादी केन्द्रका सबै सांसदहरू उभिएर विरोध जनाएका थिए। सांसद माधव सापकोटाले नियमापत्तिका लागि समय मागे तर सभामुख देवराज घिमिरले ध्यानाकर्षण भएको भनेर योगेश भट्टराईलाई अगाडि बढ्न निर्देशन दिए।

नियमापत्तिका बाबजुद योगेश भट्टराईले फेरि दोहोर्‍याइ, तेहेर्‍याई भनिरहे, हिंसा हो त्यो। त्यो हिंसा नै हो। यो हाम्रो परिभाषा हो। उहाँले नमाने पनि हुन्छ केही फरक पर्दैन। यो हाम्रो पोलिटिकल कमिटमेन्ट हो।ु

माओवादी सांसदहरूले लगातार विरोध जनाइरहेपछि सभामुख घिमिरेले देवेन्द्र पौडेललाई बोल्न दिए। उनले संविधानले कुनै पनि आन्दोलनलाई हिंसा नभनेको बताउँदै सत्तापक्षमा बसेर त्यस्तो शब्द प्रयोग नगर्न खबरदारी गरे।

तपाईंलाई यस प्रकारको शब्द प्रयोग गरेर नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने नैतिक अधिकार दिँदैन अहिलेको संविधानले,’ उनले भने।

त्यसकारण भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्दलाई रेकर्डबाट हटाउन माओवादी सांसद पौडेलले सभामुखलाई आग्रह गरे। सभामुखले फेरि ध्यानाकर्षण भएको बताएर योगेश भट्टराईलाई एक मिनेटभित्र टुंग्याउन भने।

त्यसपछि विपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हात उठाए। यद्यपि सभामुख घिमिरेले उनलाई बोल्न दिएनन् ।
माओवादी सांसद माधव सापकोटाले सबैभन्दा बढी विपक्षी दलको कुरा सुन्नुपर्ने र विपक्षी दलकै प्रमुख सचेतकले नियमापत्ति जनाउँदा बोल्न दिनुपर्ने विषय सभामुखलाई स्मरण गराए।

त्यसपछि सभामुख केही आक्रोशित सुनिए। ‘कसले माग्दा दिने, कसले माग्दा नदिने, कतिबेला दिने, कतिबेला नदिने तपाईंहरूले माग गर्ने कुरा हो। सञ्चालनको विधि नियमावलीअन्तर्गत गर्ने कुराहरू हो,’ उनले भने।

उनले सोही विषय धेरै लामो नलैजान आग्रह गर्दै योगेश भट्टराईलाई टुंग्याउन पुनः आग्रह गरे। भट्टराईले बोल्दा बोल्दै माओवादीका सांसदहरूले विरोध जनाएपछि सभामुख घिमिरले भट्टराईलाई आसन ग्रहण गर्न आग्रह गरेर माओवादी प्रमुख सचेतक पाण्डेलाई बोल्न दिए।

पाण्डेले संसदको नियमावली २६ स्मरण गराए। ‘यहाँ न त दिएको समय पालना गरिएको छ। न त भाषाहरू त्यस्तो प्रयोग गरिएको छ। यहाँ उठाइएको भाषा संविधानअनुसार र नियमावलीअनुसार प्रयोग भइरहेको छैन। त्यसकारण हिंसा शब्द प्रयोग भएको छ। त्यसलाई रेकर्डबाट हटाउन म अनुरोध गरिरहेको छु,’ उनले भने।

हिंसा भन्ने शब्दबारे छानबिन गरेर निर्णय गर्नका लागि सचिवालयलाई निर्देशन दिँदै सभामुख घिमिरेले भट्टराईलाई एक मिनेटभित्र सक्न भने। भट्टराई संसद सचिवालयमाथि नै खनिए।

उनले सचिवालयले छानबिन गरेर निर्णय गरे पनि एमालेको राजनीतिक प्रतिबद्धतामा कसैको पनि छानबिन नहुने बताए। ‘हाम्रो राजनीतिक प्रतिबद्धता हो के छानबिन हुन्छ यहाँ,’ उनले भने, ‘हामीले लिएको सिद्धान्तमा के छानबिन हुन्छ? को हो छानबिन गर्ने?’

भट्टराई त्यतिमै रोकिएनन् । ‘विद्युतको ट्रान्समिसन लाइन पड्काउनु, मान्छे मार्नु, गोली ठोक्नु, पुलिस चौकीमा हान्नु, आर्मीलाई हान्नु, सर्वसाधारण मान्छेलाई हान्नु, सामान्य मान्छेलाई आतंकित बनाउनु, चन्दा उठाउनु, लुटपाट गर्नु सबै हिंसा हो,’ भट्टराईले अन्तिममा भने।

त्यसपछि पनि एमाले र माओवादका सांसदहरूबीच केहीबेर भनाभन भयो। सभामुख घिमिरेले पुनः माओवादी प्रमुख सचेतक पाण्डेलाई बोल्न दिए र ुअन्तिम निर्देशनु भन्दै सांसदहरूलाई संयमित भई छलफलमा भाग लिन निर्देशन दिए।

प्रकाशित मिति : २०८१ भदौ १२ गते बुधबार