
प्रिय श्रवण सर..!
हुन त भावीको लेखा कसैले टारेर टर्दैन—बुढापाकाले भन्ने गरेको उक्त कुराको याद आउँछ । कात्तिक ८ को रात हामीले हाम्रो प्रिय श्रवण सर गुमायौँ । अर्थात् बीमा क्षेत्रको एक खम्बाको अवसान भयो ।
भावीले भाग्य रेखा कोर्दा तपाईंको त्यही लेखेको थियो होला । श्रवण सर, पश्चिम क्षेत्रबाट नेपाली बीमा बजारमा आफ्नो छुट्टै पहिचान बनाएको व्यक्ति हुनुहुन्थ्यो ।
सोल्टी होटलमा आयोजित कार्यक्रममा सहभागी भएर घर फर्किएका श्रवण सरको मुटुमा एक्कासि समस्या भएपछि नागरिक अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा कात्तिक ८ गते उहाँ सदाका लागि अस्ताउनुभयो ।
६१ वर्षीय रावल सर हामी सबैको प्रेरणाको स्रोत हुनुहुन्थ्यो । तपाईं जन्म भुमिभन्दा कर्म भुमिमा बढी रमाउनुभयो । तपाईं कर्ममा विश्वास गर्ने मान्छे । हामीलाई त्यही कुरा सिकाउनुभयो ।
थुप्रै व्यावसायीहरुको मन जित्नुभयो, हजारौँ बीमा क्षेत्रमा काम गर्ने कर्मचारीहरुको मन जित्नुभयो । पुर्खाले नगरेको क्षेत्रमा काम गर्ने संकल्प गर्नुभयो ।
बैंक क्षेत्रमा काम गर्नुको साटो बीमा क्षेत्रमा काम गर्ने साहस गर्नुभयो । बीमा क्षेत्रको प्रतिस्पर्धा, बीमा बजार शुद्ध बनाउन संकल्प गर्नुभयो । अविछिन्न रुपमा निष्ठापुर्वक काममा खटिने तपाईंको ज्ञान हाम्रा लागि महत्वपुर्ण हुने छ ।
तपाईंले हरेक समय बीमा क्षेत्रको सुधारका लागि बिताउनुभयो—जुन आउने पुस्ताका लागि केही हदसम्म सहज हुन्छ नै ।
हरेक रातले बिहानीको लाली किरणसँगै दिनको सुन्दर पर्खाइलाई कुरेको हुन्छ, बस त्यो रात तपाईंको सुन्दर बिहानीमा परिणत हुन पाएन् ।
सुन्दर बिहानीमा परिवारसँग बगैचाको छेउमा बसेर चियाको चुस्कि लगाउँदै परिवार सँगै गफिन पाउँनु भएन । नातिनीले हुजुरबुवाको जुँगाको रेखिसँगै अंकमाल गर्न पाइनन् । त्यो दिन कार्यलयमा कुरेर बसेका कर्मचारीहरुले तपाईँलाई देख्न पाएनन् ।
फेरि कहिल्यै नभेट्ने गरी अस्ताउनुभयो ।
अछाम, त्यो पनि वली गाउँको सामान्य परिवारमा जन्मिएर बाल्यकाल तिनै पाखा–पखेरामा बिताएका, घाँस दाउरा मेलापात गरी बिताएको पल तपाईँले सुनाउँदा लाग्थ्यो, यो कुनै दन्त्यकथा भन्दा कम छैन ।
मलाई अझै याद छ—भेटका क्रममा तपाईंले अछामदेखि बसाइँसराइ गरी कैलालीको टिकापुर आउँदा झरेको आँसु मेटाउन त्यो जन्मेको भुमिमा पाईला टेक्नु पर्नेछ भन्नुहुन्थ्यो । पहाडको पुरानो घर भत्किएको होला बनाउन पर्ने छ भन्नुहुन्थ्यो । ती मनका भावनाहरु केवल सोचाइ मै मात्र सीमित भए ।
समय अभाव छ म पहाड जान मिल्ने गाडी ल्याएर आउँला भनेको अहिले जस्तै लाग्छ । तपाईंले भनेको मेरो मानसपटलमा गहिरो किलाझैं गडेको छ । तपाईं मेरो लागि निकै प्रिय हुनुहुन्छ । हुनत मैले बीमा कम्पनीमा काम गरेको लामो अनुभव छैन । करिब ४ वर्षअघिको कुरा हो, तपाईंले मलाई ‘सँगै काम गरौं म पनि अछामको मान्छे हुँ, तमी कर्नाली वारीका, म पारिको’ ठठ्यौली बोलीमा काम गर्ने प्रस्ताव राख्नुभयो ।
त्यो बेला तपाईं सगरमाथा इन्स्योरेन्स कम्पनीको डेपुटी सिइओ हुनुहुन्थ्यो । कर्णाली प्रदेशको सुर्खेतमा शाखा कार्यलय अनुगमन गर्न आउँदा हाम्रो पहिलो भेट भएको थियो। म त्यतिबेला युनाइटेड इन्स्योरेन्स कम्पनीको सुर्खेत शाखा प्रबन्धक थिँए ।
तपाईंले भनेको ताजै लाग्छ—अहिलेपनी सगरमाथा इन्स्योरेन्स कम्पनीको सुर्खेत शाखा प्रमुख रिक्त छ कम्पनी राम्रो छ । म तम्रै ठौरको मान्छे हूँ, सँगै काम गरौँ । पश्चिमेली भाषामै गफियौँ, सँगै बिहानको खाना खाएर छुट्टियौँ । मैले सोचेर खबर गर्छु भन्दै थिएँ, उहाँले भनिहाल्नुभयो म तम्रो सर होईन दाजु हौं मलाई दाजु भन्नू । खिसिक्क हासेर बिदा भईयो ।
त्यसपछि बेला–बखत कुराकानी भहिरन्थ्यो । मेरो आफ्नै बाध्यताले सरको प्रस्ताव स्वीकार गर्न सकिएन । भारतमा कष्टकर जीवन बिताएका पलहरु, उच्च शिक्षा अध्यन गर्न जाँदा घरबाट टाढा बस्दाको पीडा । जन्मभूमि, आमा बाबू साथी, संगिहरुको माया सबै सम्झिदा दिन पनि महिना जस्तै लाग्छ भन्नुहुन्थ्यो ।
भारतमा उच्च शिक्षा अध्यन सकेर नेपाल आउँदा सुरुमा उहाँले तीन सयको जागिर खानु भएको रहेछ, ओरिन्टल बीमा कम्पनीमा । भन्नुहुन्थ्यो—आत्तिनु हुँदैन है । कर्मको फल एकदिन अवश्य मीठो हुन्छ । जहिले सकारात्मक सल्लाह–सुझावले उत्प्रेरणा दिनुहुन्थ्यो, त्यसैले त उहाँ बीमा क्षेत्रमा सबैको आदर्श व्यक्ति बन्नु भएको थियो ।
सगरमाथामा हुँदा सँगै काम गर्ने अवसर नपाएपनि मेरा लागि शौभाग्य बनेर आयो युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी । साविकको युनाइटेड र अजोड इन्स्योरेन्स मर्ज भए । त्यही कम्पनीको प्रमुख कार्यकारी निर्देशक बनेर आउनुभयो । मेरो हाकिम हुनुभयो । त्यो पल मेरा लागि निकै खुसीको पल थियो ।
डेढ वर्ष तपाईंकै छत्रछायामा काम गर्न पाउँदा निकै सहज भयो । तपाईंलाई बीमा क्षेत्रमा जुन शब्दले सम्बोधन गर्दा आर्दशता हुन्छ, तपाईं त्यही हो भन्दा फरक नपर्ला । बीमा क्षेत्रको आदर्श, प्रशिक्षक हो तपाईँ । कुशल व्यवस्थापक हो तपाईँ । मेरो जिन्दगीको एक मार्गदर्शक, असल गुरु बनेर मेरो सम्झनामा सँधै रहिरहनु हुने छ ।
उहाँबाट सिक्नुपर्ने सिकाइलाई पुर्णता दिने अवसर प्रयाप्त पाएन्, तर तपाईंले दिएका सल्लाह–सुझावलाई अर्थपुर्ण रुपले मैल गहन गर्ने छु । पश्चिमबाट उदाएको चम्किलो तारा, जसले नेपाली बीमा बजारमा रजगज जमाएको थियो ।
हाम्रा लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो, श्रवण सर । उहाँ हामीमाझ रहनु भएन । उहाँको निधन भएपनि उहाँलाई नेपाली बीमा क्षेत्र सँधै सम्झिरहने छ ।
युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको मियो, हाम्रो खम्बा गुमायौँ । थुप्रै बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले एक कुशल प्रशिक्षक गुमाए । बीमा क्षेत्रको धरोहर हामीले गुमायौँ ।
हार्दिक श्रद्धाञ्जली प्रिय गुरुदेव ।।
लेखक शाही, युनाइटेड अजोड इन्स्योरेन्सका कर्णाली प्रदेश प्रमुख हुन् ।









प्रतिक्रिया दिनुहोस्