भेरीको पानी तीन वर्षभित्र वीरेन्द्रनगरमा ल्याइने



सम्झौतापत्रमा हस्ताक्षर गर्दै

सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरको खानेपानी समस्याको अन्त्य गर्न भेरी नदीको पानी ल्याइने भएको छ ।
त्यसका लागि निर्माण प्रक्रिया अघि बढीसकेको छ ।

बुधबार आयोजना इकाईका प्रमुख सञ्जिवकुमार साह, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनमी एण्ड टेक्निकल को–अपररेसन कम्पनी लिमेटेडका प्रतिनिधि सुशीलकुमार श्रेष्ठबिच निर्माण सम्झौता भएको हो ।

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना, वीरेन्द्रनगर आयोजना इकाई कार्यालय स्थापना गरेर तीन पक्षबिच सम्झौता भएको छ ।

सम्झौतामा आगामी तीन वर्षभित्र भेरीको पानी प्रदेश राजधानी वीरेन्द्रनगरमा ल्याइने दाबी गरियो छ भने आयोजना सम्पन्न गर्न निर्माण कम्पनीसँग तीन अर्ब ५० करोड ८ लाख १५ हजार २८०.६१ रुपैयाँ लागत लाग्ने छ ।

ग्लोबल टेण्डरमार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायी मध्ये चिनियाँ कम्पनी छनौटमा परेको हो ।
तीन दशक पछिको जनसङ्ख्यालाई मध्यनजर गरी वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्न भनेर यो योजना अघि बढाइएको हो ।

सङ्घीय खानेपानी मन्त्रालयले विश्व बैँकको ऋण सहयोगमा चालु आर्थिक वर्षबाट केन्द्र, प्रदेश र स्थानीय सहकारकमो साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पुर्वाधार सहयोग आयोजना’ अन्तर्गत उक्त योजना अघि बढाइएको हो ।

नगरप्रमुख मोहनमाया ढकालले यसलाई मेलम्ची पछिको दोस्रो ठुलो खानेपानी आयोजनाको रुपमा व्याख्या गरेकी छिन् ।
ढकालले आयोजना कार्यान्वयनका क्रममा कुनै समस्या आउन नदिने बताइन् ।

साथै नगरपालिकाले गौरवको आयोजनाका रुपमा अपनत्त्व लिने गरी विशेष प्राथमिकतामा राखिएको र सबै तहको सहकार्य आवाश्यक रहेको पनि बताइन् ।

ठूलो लगानीको आयोजना भएकाले बिचमा कुनै कारण डिजाइन फेल नहोस् भन्ने उद्देश्यसहित ‘डिजाइन रिभ्यु’ लागि आयोजना कार्यान्वयनको जिम्मा पाएको खानेपानी तथा ढल व्यवस्थापन विभागले पटक–पटक विज्ञहरूको राय मागेको थियो ।

दुई खण्डमा गरी ६ अर्ब रूपैयाँ लागतमा सम्पन्न हुने यस आयोजनाको यसअघि नै तयार भइसकेको डीपीआरमाथि ‘रिभ्यु’ गर्न विभागले थप गरेको समयावधिमा इन्टेक निर्माण गरिने स्थान परिवर्तन बाहेक अन्य डिजाइन ठिक रहेको बताइएको छ । ‘डिजाइन रिभ्यु’ गर्न नपर्ने भएपछि आयोजना निर्माणको चरणमा अघि बढेको हो ।

आयोजना सम्पन्न गर्न सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले २० प्रतिशत लगानी जुटाउनु पर्ने छ । कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचअल फण्ड’अन्तर्गत प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० मा पाँच करोड रूपैयाँ विनियोजन गरेको छ ।

यस्तै नगरपालिकाले आयोजना स्थलसम्म पहुँचमार्ग विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख बजेटको व्यवस्था गरेको छ । आयोजनाको काम दुईवटा चरणमा हुने छ ।

पहिलो चरणमा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब ७ किलोमिटर गहिरा दुई वटा इन्टेक निर्माण गरिने छ ।

त्यसपछि इन्टेकदेखि करिब ४०० मिटरको दुरीमा पानी प्रशोधन प्रणाली निर्माण गरिने छ भने ७ किलोमिटर पाइपलाइन विस्तारसँगै वीरेन्द्रनगर नगरपालिका–११ को अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की बनाइने छ । पहिलो चरणमै ट्याङ्कीदेखि मुख्य प्रसारण लाइन विस्तार गरिने छ । दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ । भेरीको पानी ४०० मिटर उचाइमा प्रशोधन ट्याङ्की (ट्रिटमेन्ट प्लान्ट) मा खसालिने छ ।
त्यसपछि करिब ७ किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ । अनि, ५५० मिलिमिटर क्षमताको पाइप अमृत डाँडामा राखेर मुख्य ट्याङ्कीसम्म ल्याइने छ ।

 

प्रकाशित मिति : २०८१ भदौ १२ गते बुधबार