
के तपाई दैनिक रूपमा कफी वा चिया पिउनु हुन्छ ? त्यसो भए तपाईँका लागि सुखद खबर छ ।
हालै भएको एउटा अध्ययनको प्रतिवेदनअनुसार दैनिक रूपमा चिया र कफी पिउने मानिसमा टाउको र घाँटीको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
दिनमा चार वा सोभन्दा बढी कप कफी पिउने व्यक्तिमा टाउको र घाँटीको क्यान्सर हुने सम्भावना १७ प्रतिशत र दिनमा एक कप कफी वा चिया पिउने व्यक्तिमा क्यान्सर हुने सम्भावना ९ प्रतिशत कम हुने दाबी प्रतिवेदनले गरेको छ ।
यस अध्ययनको नतिजा हालै जर्नल क्यान्सरमा प्रकाशित भएको थियो ।
युटा युनिभर्सिटीको हन्ट्सम्यान क्यान्सर इन्स्टिच्युटका अन्वेषकहरूले इन्टरनेशनल हेड एन्ड नेक क्यान्सर एपिडेमियोलोजी (इनान्स) कन्सोर्टियमका अनुसन्धानसँग सम्बन्धित १४ आँकडाको विस्तृत विश्लेषण गरेका थिए ।
यस अक्रममा अनुसन्धानकर्ताहरूले शिर र घाँटीको क्यान्सरका ९ हजार ५४८ जना बिरामी र १५ हजार ७८३ जना स्वस्थ मानिसको जानकारी सङ्कलन गरेका थिए ।
अध्ययनका क्रममा डिक्याफिनेटेड कफी अर्थात् क्याफिन नभएको कफी पिउँदा ओरल क्याभिटीसँग सम्बन्धित क्यान्सरको जोखिम २५ प्रतिशतले कम हुने पाइयो ।
दैनिक एक कप चिया पिउनेहरूमा हाइपोफेरेन्जियल क्यान्सरको जोखिम २९ प्रतिशतसम्म घटेको पनि भेटियो ।
त्यसैगरी, दैनिक एक कप वा त्यो भन्दा कम चिया सेवनले पनि टाउको र घाँटीको क्यान्सरको जोखिम नौ प्रतिशतले कम गर्न सक्ने पाइयो ।
दैनिक तीनदेखि चार कप कफी पिउनेहरूमा हाइपोफेरेन्जियल क्यान्सरको जोखिम ४१ प्रतिशतले घटेको अध्ययनले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्