
नेपाली साहित्यका विभिन्न विधामध्ये आख्यान बढी लोकप्रिय विधा हो । कथाको लघुतम प्रभेद लघुकथा हो । लघुतम आयाममा संरचित आख्यान लघुकथा वर्तमान समयको अझै लोकप्रिय विधा बनेको छ ।
मान्छेको वर्तमान ब्यस्त दैनिकीमा लघुकथाको उपादेयता र महत्त्व बढेर गएको छ ।व्यस्तता र प्रतिस्प्रधि आधुनिक समाजका लागि नयाँ वेबसाईट, पेज, सामाजिक संजालमा नविनतम प्रविधि र माध्यमबाट यो विधा अझै अनुकूल भएर नेपाली साहित्यको अभिन्न अङ्ग रहेको छ।
नेपाली साहित्यमा स्थापित लघुकथा विधा सबै उमेर समुहका साहित्यकार माझ लोकप्रिय हुँदै गइरहेको छ । छविलाल खड्काको जन्म वि.सं. २०२५ साल चैत २३ गते रुँघा गाविसको वडा नं ७ रुकुममा आमा भीमकली खड्का र बुबा भिउँदल खड्काबाट भएको हो । हाल उनको स्थायी बसोबास कोहलपुर नगरपालिका वडा नं ६ बुद्धचोकमा रहेको छ उनले स्नातकसम्मको औपचारिक शिक्षा हासिल गरेरका छन् ।
कथाकार छविलाल खड्काको मुख्य पेसा निजामती सेवा रहेको छ । निजामती सेवामा काम गर्दै साहित्य सिर्जना मा लागि परेका खड्काको अध्ययनको विषय र पेसा फरक भएपनि उनको सानैदेखि साहित्य पढ्ने, सुन्ने र लेख्ने रुचि रहेको पाइन्छ । २२ वर्षको उमेरमा २०४५ सालमा ’राप्ती सन्देश’ पत्रिकामा ‘बहिनीलाई चिठी’ कविता मार्फत उनले औपचारिक लेखनयात्रा सुरु गरेको देखिन्छ ।
लामो समयदेखि नेपाली साहित्यकाशमा क्रियाशील बौद्धिक व्यक्तित्व छविलाल खड्काले वि.सं. २०४९ सालमा ’सहिदको सन्देश’ लघुकाव्य प्रकाशन गरेर कृतिगतरुपमा नेपाली साहित्यमा पाइला टेकेका देखिन्छ। वि.सं. २०७७ सालमा ‘बिरौटो’ साइनो सङ्ग्रह हुँदै वि.सं. २०७८ सालमा ‘आर्शीवाद’ लघुकथासङ्ग्रह पस्केका खड्काले २०८० सालमा ‘भित्ताका कान’ लघुकथा संग्रहलाई नेपाली साहित्य भण्डारमा थपेका छन्। यस दृष्टिलेयो उनको प्रकाशित दोस्रो लघुकथा संग्रह हो ।
‘उत्सुक पाइला’ वर्ष २ अङ्क ३,२०५७ नामक पत्रिकामा उनको पहिलो लघुकथ ‘मोहभंग’ प्रकाशन भइसकेको र २०७७ साल साउन १० गते कोहलपुरबाट प्रकाशन हुने मिसन टुडे पत्रिकामा ‘कोरोना क्याप्सुल’ नामको अर्को लघुकथा प्रकाशन भए लगत्तै खड्कामा लघुकथाको मोह बढेको देखिन्छ । प्रकाशित लघुकथा सङ्ग्रहहरूमध्ये ‘आर्शीवाद’ लघुकथा संग्रहमा ५१ र भित्ताका कानमा ५६ वटा लघुकथाहरू सङ्ग्रहीत छन् । यसका साथै विभिन्न पत्रपत्रिकाहरूमा उनका फुटकर लघुकथा प्रकाशित भइसकेका छन् ।
विधागत रूपमा ‘भित्ताका कान’ उनको दोस्रो कृति हो । प्रस्तुत कृति हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेद्वारा प्रकाशन गरिएको कृति हो । खड्का निरन्तर लघुकथाको विधागत समुन्नयका लागि सक्रिय स्रष्टा हुन् । उनका लघुकथाहरू समाजका विकृति, विसङ्गतिहरू र बेथितिहरूप्रति लक्षित गरेर लेखिएको पाइन्छ । उनका लघुकथाहरू यथार्थपरक कथानक र सरल भाषाशैलीमा भेटिन्छन् । पाठकलाई कौतुहलताको छडीले उत्सुक बनाउन सक्नु कथाकारको खुबी हो ।
उनी विकृतिपूर्ण कुराहरूमाथि तिखा तीर सोझ्याउँछन् र खबरदारी गर्छन् । विकृत समयका उपजले पारेका नकारात्मक असरहरू पाठकहरूलाई औंल्याउँछन् । अनि सावधान पनि गराउँछन् । उनलाई जेजे कुराहरूले छुन्छ, ती विषयवस्तुलाई टपक्क टिप्छन् । साहित्य किन र कसका लागि लेख्ने भन्ने कुराको चर्चा यस पुस्तकको महत्त्वपूर्ण विशेषता हो । धेरै लेखकहरू आफूले लेख्ने साहित्यको उद्देश्य र त्यसले दिने सन्देश के हो भन्नेबारे अलमलिएकोले लेखनको वैचारिक धरातल कमजोर रहेको देखिन्छ तर छविलाल खड्का यस कुरामा स्पष्ट देखिन्छन्। उनी आफ्नो भूमिकामा लेख्छन् ।
मेरा लघुकथाहरू विशेषतः विकृति र विसङ्गतिका बरिपरि घुमेका छन् । सामान्यतया विकृति र विसङ्गति भन्ने बित्तिकै खुलेआम हुँदैनन् । गुपचुपमा हुन्छन् । पर्दा पछाडि र बन्द कोठाभित्र हुने गर्छन्।यसरी पर्दा पछाडि र बन्द कोठाभित्र जति नै गुपचुप र कानेखुसीहरू गरे पनि ती विषय बाहिर छताछुल्ल पोखिन्छन् । भनिन्छ–‘भित्ताका पनि कान हुन्छन् । यही भित्ताका कानले गोप्य कुरा उजागर गरेको हुनाले लघुकथा कृतिको नाम पनि ‘भित्ताका कान’ भनी जुराएको छु।’
यसबाट के प्रष्ट हुन्छ भने उनी समाजको लागि लेखछन् र उनको लेखनले समाजलाई सुमार्गमा हिँड्न अभिप्रेरित गर्छ । सङ्ग्रहमा रहेका लघुकथाहरू यसै वैचारिक गोरेटोलाई पछ्याउँदै अगाडि बढिरहेका छन् । प्रस्तुत ‘भित्ताका कान’ लघुकथा सङ्ग्रहमा ५६ वटा विविध लघुकथाहरूले ७६ पृष्ठ ढाकेको छन् । यस सङ्ग्रहको प्रारम्भ ‘जुक्ति’ लघुकथाबाट भएको छ भने ‘भोक दिवस’ नामक लघुकथा अन्तमा छ । खड्काका अधिकांश लघुकथा एकै पृष्ठमा अटाएका छन् भने केही लघुकथाहरू झण्डै दुई पृष्ठसम्म पनि लम्बिएका छन् । लघुकथाको शीर्षक छनौटमा पनि कथाकार सचेत भएको देखिन्छ ।
उहाँका दुई तिहाई भन्दा बढी लघुकथाहरूमा एक शब्दको शीर्षक दिइएको छ । भने दुई शब्दभन्दा लामो शीर्षक लघुकथामा राखिएको छैन । यस सङ्ग्रहमा नेपाली समाजमा विद्यमान जन्मदेखि मृत्युसम्म देखिने, भोगिने, जानिने यथार्थलाई कथाकार खड्काले कथानक विषयवस्तुमा कलम चलाएका छन् ।
लघुकथाहरूमा नेपालीहरुको जीवनशैली, संस्कार, संस्कृति, राजनैतिक,आर्थिक, पीडा, वेदना, प्रेम, सद्भाव, स्वदेशप्रतिको सम्झना र माया आदि विषयहरूलाई कथानकको स्रोत बनाइएको छ । प्रस्तुत भित्ताका कान लघुकथा संग्रह २०८१ साउन २६ गते ज्ञानोदय पुस्तकालय कोहलपुर बाँकेमागृहविमोचन भएको थियोभने २०८१ भाद्र ३ गतेकाठमाडौँमा २४ ओटा लघुकथा कृतिर १ ओटा लघुकथाको समालोचना संग्रह गरि जम्मा २५ ओटा कृतिहरुको विमोचन भयको थियो । यो हिसाबमा रचना गर्भ हेर्दा २०७९ सालदेखि २०८० साल भित्रका रचनाहरु यस पुस्तकमा परेका छन् ।
विविध विषय समेटिएका यी लघुकथाहरूमा फरक फरक विशेषताहरू रहेका छन् । यसबारे तलका अनुच्छेदहरूमा संक्षेषमा विमर्श गरिएको छ । समाजका विभिन्न पक्ष र विषयवस्तुलाई आफ्नो लघुकथाको विषय बनाएका खड्काको यो संग्रहको पहिलो लघुकथा हो ‘जुक्ति’ । यो कथा राजनीति गर्ने व्यक्तिप्रति लक्षित छ । श्रीमतीको गहना चोर्न सुरु गरेको भुइ मान्छे विभिन्न चोर्ने जुक्ति लगाउँदै अन्तमा नेता भएर सुरक्षित भएको मार्मिक कुरालाई कथानक बनाइएको छ ।
अनुगमन, अभिशाप,रिमोट, कुर्सी,अभियान, कृषि क्रान्ति, प्रवृत्ति, मुसो, भेदभाव, आन्दोलन, बानी, सहिद खेती, चलखेल, बढुवा कानुनको पालना जस्ता लघुकथाहरू वर्तमान समयका यथार्थ ऐना हुन् । वर्तमान समयमा फोहोरी र विषाक्त भएको राजनीति लाई मज्जैले व्यङ्ग्य प्रहार गरिएका लघुकथा हुन् । यी लघुकथाहरू राजनैतिक व्यङ्गेचेतले भरिएको छन् । यिनमा राजनीतिक दाउपेच तथा राजनीतिक विकृति र विसङ्गतिको अभिलेखन भएको छ ।
प्रशासनिक क्षेत्रका विकृतिका बारेमा चियर्स,सलह,कर्मको फल, रहस्य, चलखेल, बढुवा, फैसला,सेवा प्रवाह लघुकथाहरूमा चित्रण गरिएको छ । कर्मचारी भित्रको चाकडी चाप्लुसी यहाँ भित्रका भ्रष्टता आदि विषयहरू यस्ता कथामा रहेका छन् ।
श्रेय कथामा वाल्यअवस्थामा निकै चकचके,उपर्दो र उदण्ड गर्ने वालक ठूलो साहित्यकार भएपछि उनले त्यहाँसम्म पुग्ने श्रेय आफ्ना गुरूलाई दिएका छन् । किनकी गुरुले गल्ती गर्दाको सजाय कथा कविता सुनाउन लगाउँथे । दोष कथामा ग्रहणको समयमा आफूले सूतककर्म सकेर आएका पण्डित एकजना साहुलाई शुतकको समयमा खाजा नास्ता पकाउन वर्जित भएको कुरा बताउँछन् भने अनुगमन कथामा अनुगमन गर्न आएको सरकारी टोलीलाई नै म्याद सकिएको बियर र माछा खुवाएर व्यापारीहरू खित्का छोडेर हाँसेको कुरा उल्लेख छ ।
‘अभिशाप’कथामा पीडाले छटपटाइरहेकी श्रीमतीको उपचारका लागि उसले मन्त्रीलाई फोन गर्छ। समस्या राख्छ । हेलिकप्टर त आउँछ तर पल्लो गाउँबाट यार्सागुम्बा लिएर जान्छ। रिमोट कथामा मुखियाका गोरुको प्रसङ्ग बाट नेपालको राजनीति को चाबी छिमेकी देशहरुमा रहेको भाव प्रष्ट हुन्छ । ‘मोह’कथामा आफ्नै देशको माटो को प्रेम जोडिएको छ । रहस्योदघाटन कथामा एकजना समीक्षकले कृति विमोचनकै दिन यो ठिक भएन त्यो ठिक भएन भनेर कार्यक्रममै पर्दाफास गरेका छन् यसबाट नवोदित साहित्यकारहरूलाई पल्लवित हुन नदिने रहस्य पत्ता लागेको छ ।
निर्जीव वस्तु कुर्सी वक्ता भएर मलाई मन्त्रीको आसनका लागि नपठाउनुहोस् किनभने मन्त्रीले जति गल्ति गरे पनि सबै दोष मैले नै लिनुपर्छ भनेको कुरा कुर्सी कथामा आएको छ । अभियान कथामा हिजो कर तिर्नु पर्दैन भन्नेहरू नै सरकारमा गएपछि करको दायरा बढाएको प्रसङ्गलाई कटाक्ष गरिएको छ ।
त्यस्तै ‘कलङ्क’ मा कामी शब्द सामाजिक कलङ्क हो भन्दै आफ्नो मनोमानीको थर राख्नेहरू पछि आरक्षणको सुविधा लिन जात प्रमाणितका लागि वडा कार्यालय धाएको प्रसङ्गलाई देखाइएको छ । ‘ओक्तो’लघुकथामा धमिराले देश खोक्रो पारिसक्यो । यही धमिराहरू मार्ने केही औषधि छ कि भनेर एक बुढी आमाले मास्टर साहेबलाई प्रश्न गर्छिन् । र मास्टर साहेबले यसको औषधि चुनाव नै हो भनेर बताउँछन् । यो कथामा पनि देसको राजनैतिक अवस्थालाई चित्रण गरिएको छ ।
‘नागरिकता’ लघुकथामा प्रशासन कार्यालयका पुराना कर्मचारी भटाभट सरुवा भएर अन्य ठाउँमा गए र प्रशासन कार्यालयमा नयाँ कर्मचारी आए पछि एकजना मानिस कार्यालयमा नागरिकता बनाउन जाँदा १५ मिनेटमै नागरिकता तयार हुन्छ । र उसले त्यो नागरिकता नक्कली हो पक्कै पनि बिना घुष दिएर बनाएको यो नागरिकता सक्कली होइन भन्ने अनुमान गर्छ । यो कथामा हाम्रो देशको भ्रष्टाचारी तन्त्रलाई चित्रण गरिएको छ ।
उनको ‘कृषि क्रान्ति’लघुकथाले कृषिमा क्रान्ति गर्न छोड्नुहोस् हामीले किसान पेन्सन को व्यवस्था गरेका छौँ भन्ने मन्त्रीको गैर जिम्मेवारलाई संकेत गरेको छ । राजनीतिमा लागेका र सेयर मार्केटमा लागेकाहरू कतिबेला माथि र कतिबेला तल झर्नुपर्ने हो ठेगान हुँदैन भन्ने कुरा ‘नेप्से’मा आएको छ । ‘कानुनको पालना’ शीर्षकको लघुकथामा टिभी हेरेर हजुरबालाई नातिले सोध्यो जनता ग्याङका अपराधी र मन्त्री ग्याङका अपराधीमा कुन ठूलो हो अपराधी त सबै बराबर हुनुपर्ने तर मन्त्री ग्याङका अपराधीमा हत्कडी किन नलागेको हो भन्ने प्रश्न गर्दछ ।
अन्तिम इच्छालघुकथामा कार्यलयमा हुने भ्रष्टाचारलाई विषय बनाइएको छ । भ्रष्टाचार नै भ्रष्टाचार गरेको अपराधी यमलोक पुगिसकेपछि पनि आफ्नो अन्तिम इच्छा मर्तेलोकमा गएर फेरि एउटा भ्रष्टाचार गर्ने इच्छा जाहेर गर्दछ।अर्को लघुकथा ‘पेसा’ मा डाक्टर भएर पनि प्रत्येक दिन एबोर्सन गर्न पर्दा आफ्नो पेसाप्रति निराशा देखिएका डाक्टर एक दिन एउटा पनि एबोर्सन केस नआउँदा अत्यन्त खुसी भएर घर फर्किन्छन् भने ‘प्रवृत्ति’ कथामा नेताको वरिपरि घुम्ने प्रवृत्तिले एक पात्र मन्त्रीसम्म भएको छ।
इन्जिनियरले घुस मागेपछि उपभोक्ता समितिको अध्यक्षले उसलाई अख्तियारमा मुद्दा हाल्छ । र अख्तियारले इन्जिनियरलाई समात्ने कुरा उसले विश्वास गर्छ तर होटलमा इन्जिनियर र अख्तियार कर्मचारी चियर्स गरेको देख्दछ । यस प्रकारको प्रशासनिक क्षेत्रको कमजोरीलाई चियर्स कथामा देखाइएको छ ।
मुसो लघुकथामा एक नेताले महाधिवेशनमा जनताका सुझावको पोको खोज्दै गर्दा सुझावहरू मुसाले काटिएको भेटाउँछन् । आफूलाई जन्म दिने बुबा विदेशमा छन् तर ड्याडीले जन्मदिनमा गिफ्ट दिएको प्रसङ्गले सामाजिक छाडापनलाई ड्याडी लघुकथालेउजागर गरेको छ। ‘सलह’मा किसानको बारीमा सलह पसेझैँ हाकिमको कोठामा पनि सलह पसेको छ । यसमा पनि नेपालको कर्मचारीतन्त्रमा भ्रष्टाचार को चित्रण गरिएको छ ।
बुबाको पहिचान नभएपछि एक बालिकाको जन्मदर्ता बन्दैन र जन्मदर्ता नभएपछि उनको विद्यालयमा भर्ना हुन सककेको पीडालाई भर्ना लघुकथामा उल्लेखित छ भने ‘ब्रान्डेड चस्मा’मा एउटै माललाई फरक फरक कम्पनीको हो भनेर बेच्न सक्ने कला प्रस्तुत छ । भेदभाव लघुकथामा मन्दिर र मूर्ति बनाउने तोर्पेले नै पूजा गर्न पाएन । भेदभावको मानसिकता अझै पनि समाजमा जडो गाडेर बसेको कुरा उल्लेख गरिएको छ ।
आन्दोलन कथामा शिक्षकहरू आफ्ना छोराछोरीलाई बोर्डिङ स्कुलमा भर्ना गर्छन् अनि सरकारले हेप्यो भनेर आन्दोलन गर्न जान्छन् भन्ने विषय अएको छ । ‘देवी देवतामा’ हाम्रो धर्म संस्कृतिको गलत बाटोमा हिँडेको कुरा देखाइएको छ कुमारी बनाएर पूजा गर्ने शालिग्रामलाई फलफुल चढाउने तर जिउँदो देवी कुमारीलाई केही नदिने प्रथाको घोर विरोध गरेको छ ।
भक्तिभाव तीर्थ गएका बुढालाई सबैले छोडे । तर पप्पीले छोडेन यस प्रसङ्गबाट हामीले पशु अधिकारको बारेमा पनि वकालत गर्नुपर्छ । स्याल बाघ र सिंह लाई पात्र बनाएर लेखिएको कथा ‘पुस्तान्तरण’मा नेपालको राजनीतिक अवस्था वर्षौंदेखि बुढाहरू सत्तामा गएको युवालाई देख्नै नसकेको अवस्था उल्लेख छ । बाघ दिवस भव्य रुपमा मनाएकै दिन चोरले बाघको शिकार गरेको कथा ‘संरक्षण’ हो ।
कर्मको फल नेपालको कर्मचारी तन्त्रको यथार्थ चित्रण हो । कोही भाडामा बसेर जागिरबाट अवकाश हुन्छन् । भने कोही भाडामै बसेर जागिर सुरु गरी ठूला ठूला सहरहरुमा महल ठडाउँछन् । ‘दुर्दशा’ कथामा लेखकले आफूले लेखेको किताब चटपटे बेच्ने भैयाको कागजको थुप्रोमा च्यातिएको भेटाउँछन् । तैपनि लेखकले त्यहाँबाट आफ्नो पुस्तक तान्न खोज्दा भैयाले १० रुपैयाँ हालेर किनेको हुँ कहाँ लैजानुहुन्छ ? भनेको छ । दुर्दशा जस्तै सम्मान कथामा पनि साहित्य लेखन को पीडा उजागर गरिएको छ । एक लेखक सञ्चय कोष निकालेर किताब छाप्दछन्र सम्मानपत्र पाउँछन् । तर उनी बिरामी पर्दा उपचार गर्ने पैसा हुँदैन ।
बेरुजु फछ्र्यौट गर्ने नयाँ तरिका लाई ‘रहस्य’ कथामा उजागर गरिएको छ । हात धुने दिवसको प्रसङ्ग गाउँमा साबुन छैन सहरमा पानी छैन । टिस्यू पेपरले हात धुने दिवस मनाइएको प्रसङ्ग प्रभाव कथामा रहेको छ । तथानामका सहिद बनाउने प्रवृत्तिको व्यङ्ग्यात्मकता र बिना काममा सरकारी कर्मचारी सरुवा गरेको कुरा चलखेलका कथामा आएको छ । मनोकांक्षा लघुकथामा पनि नेताहरूले नेपाललाई श्रीलङ्का र युक्रेन बनाइदिनुपर्यो । भनेर भगवानसँग प्रार्थना गर्दछन् तर जनताले श्रीलंका र युक्रेन हुनबाट बचाइदिन पर्यो भन्दछन् यो कथा भगवानको इजलासमा अनिर्णय भएर बसेको छ ।
त्यस्तै घुस खाएर बढुवा हुने प्रचलन को चित्रण ‘बढुवा’ मा देखिन्छ । पुनरुस्थापना केन्द्र खोल्नेले नै नयाँ नयाँ केटाहरूलाई माल सप्लाई गरेर । कुलतमा फसाएर आफ्नो व्यापार व्यवसाय बढाएको कुरा सम्भव लघुकथामा उल्लेख छ । ‘मौन अवधि’ चुनावमा पैसाको बिटो बाँड्ने अवधि हो भनेर आएको छ । सहिदको सङ्ख्या बढाउन सरकार नै लागिपरेको विषय सहिदको खेती कथामा आएको छ । ‘कार्ड मोह’ मा सुझबुझ नगरी अमेरिका जाने केटा हो भनेपछि छोरी दिइहाल्ने नेपाली समाजको चलनलाई जस्ताको तस्तै देखाइएको छ ।
फुटपाथे साहित्यकारले आफ्नो कथा बेचे तर कथा किन्ने मानिसले ती कथाहरू सङ्कलन गरी कथा संग्रह प्रकाशन गरेर १० लाख राशिको पुरस्कार पाएको असन्तुष्टिमा राहतको पोको लिएर सरकार गाउँ छिरेको कुरामा कमरेड हरिप्रसाद असन्तुष्ट छन् । हरिप्रसादले आफ्ना जेठो र कान्छो छोरो आफ्नै आँखा अगाडि गुमाए तर आज यो राहतप्रति उनी असन्तुष्ट छन् ।
खेती कथामा दलितको छोरा पढेर शाखा अधिकृत भयो । तर उसलाई अख्तियारले पक्राउ गरेको अफवाह फैलाइएको कुरा कथानक बनेको छ ।
तगारो कथामा श्रीमतीलाई अँगालो मारेर तृप्त हुने चाहना हुँदाहुँदै धर्मदोषका कारण ऊ श्रीमतीको अँगालोमा बाँधिन नसकेको सामाजिक सांस्कृतिक चलनलाई बाधकका रुपमा प्रस्तुत गरिएको छ । पत्नीब्रतामा आफ्ना श्रीमतीलाई छलेर परस्त्रीसँग छिलिनी एक पुरुषको कथा छ । जबरजस्ती लादेर भएको सरुवा को विरुद्ध मुद्दा दायर गरी जितेको कुरा फैसला कथामा आएको छ ।
सेवा प्रवाह कथामा बैंकले दिनभरि एउटा चेक बनाएर दिन नसकेको कुरा उल्लेख छ । भोक दिवस कथामा भोक दिवसको दिन पेटभरि खाना खाने सपना बुन्दै निदाएको बालकको कथा लाई समेट्दै संग्रहको अन्त्य भएको छ ।
उनको लघुकथामा भाषाशैली सरल र सहज छ । जुनसुकै तह र तप्काका पाठकहरुले पनि सजिलै बुझ्न सक्छन् आफ्ना लघुकथाहरूमा व्यङ्ग्यात्मक चेत समेत पस्कन उनी सफल भएका छन् । सटिक कथानकमा लघुकथा सिर्जना गर्न सक्नु कथाकारको थप विशेषता हो । चुस्त शैलीमा कथानकलाई अनावश्यक लम्बे तान नगरी लेख्न सक्ने खुबी उनमा छ । उनका कथाका विषय वा घटना रोचक कौतुवाल छरिता छन् जसले पाठकलाई असाध्यै गहिरो प्रभाव छोड्न सक्ने सामथ्र्य राख्दछन् ।
मानवताका पक्षपाती उनी आफ्ना सिर्जनामा प्रष्ट देखिन्छन् । लघुकथाको पात्रहरू बीचको सहज र सरल संवाद शैलीलाई उनले चुनेका छन् विषयवस्तुका आधारमा विविधता लघुकथाको विशेषता हो । सुक्ष्म बिम्ब र प्रतीकहरूको सुमचित प्रयोग समसामयिकता व्यङ्ग्यात्मकता सूत्रात्मकता आदि प्रवृत्तिहरू उनका लघुकथामा प्रशस्त पाउन सकिन्छ । वर्तमान समय र परिवेशलाई टपक्कै टिपेर सुन्दर लघुकथा निर्माण गर्न सक्नु उनको विशेषता हो । उनी विचारविहीन लेख्दैनन् ।
राजनीतिको विकृत पक्षमाथि व्यङ्ग्य चेत उनका लघुकथामा देखिन्छ । आयामको हिसाबले बढीमा २५० शब्दभित्रै रहेर लघुकथाका घटकहरू कथानक पात्रको चरित्र चित्रण भाषाशैली सरलता जस्ता कुराहरु रहेका छन् । लघुकथा सूत्रात्मक र मीठा साथै छोटा छन् । समग्रतामा भन्ने हो भने कुनै पनि विषयलाई संक्षेपमा प्रस्तुत गर्न सक्ने खुबी लघुकथाकारखड्कामा देखिन्छ ।
यसै सिलसिलामा साहित्य साधक छविलाल खड्काका यस कृतिमा रहेका ५६ लघुकथाहरूको अध्ययनको क्रममा भेटिएका केही कमजोरी हरु पनि छन् ।
जस्तैःबानी शीर्षकको लघुकथामा पात्रहरूको संवादमा रातो रगतको सट्टा पहेलो सुन मनपर्छ। भनेको अलि मिलिरहेको छैन । लामखुट्टेलाई प्रतिक बनाएर नेपालको दलाल पुँजीपतिको सुन कारोबार को कुरा कथामा देखाउन खोजे पनि अन्तिममा नमिलेको जस्तो देखिन्छ । मुसो कथाको शीर्षक र प्रशङ्ग नमिलेको ठम्याई यो पंक्तिकारको छ । तथापि छविलाल खड्काको भित्ताको कान लघुकथाको स्तरको मूल्याङ्कन पाठकको जिम्मामा नै दिन सकिन्छ । यस्तै सशस्त्र कृति जन्माएर पुनः लघुकथाकार छविलाल खड्का उदाउनु हुनेछ भन्ने कामना गर्दै बिट मार्दछु ।
प्रतिक्रिया दिनुहोस्