
जेल ब्रेक कसरी गर्यौ ? पन्छी झैँ कसरी मुक्त भयौं ? एकजना पनि पक्राउ नपरी ३० सौं जना कसरी पार्टीको सम्पर्कमा पुग्यौं ? सैनिक शासनले देशै ठप्प भएको बेला हामी कसरी उन्मुक्त भयौँ ? हामीलाई ‘ज्ञ’ श्रेणीको दर्जा दिनेहरूले के सोचिरहेका होलान् ? बिचरा अल्लारे केटाहरू भन्दै जेल मुक्त हुन् आत्मसमर्पणको बाटो देखाउनेले के भनेका होलान् ? छोरालाई भेट्न कुनै पनि मौका नछुटाउने हाम्री आमाले खबर पाइन कि पाइनन् ?
टपरीमा खिर पकाएर छोरा भेट्न भन्दै पर्खाल बाहिर आइन् कि आइनन् ? दिमागमा यस्तै प्रश्नहरू घुमिरहन्थे । यात्रामा भेटिएका सबैजसोले सोध्ने गर्थे, सुरुङ केले खन्यौ ? औजार के थिए ? माटो कता हाल्यौ ? त्यत्रो समय लगाउँदा पनि कसैले थाहा पाएन ?
योजनाको कथा बेग्लै छ । २०५८ साल साउन भदौ तिर युद्धविराम भएको थियो । सरकार र माओवादी पार्टीको तर्फबाट गठन गरिएको वार्ता टोलीका बीचमा धेरैपटक वार्ता पनि भयो । हरेक पटकको वार्तामा बन्दी रिहाइको एजेण्डा हुने गथ्र्यो ।
देशभरका धेरै जेलबाट राजनीतिक बन्दीहरू रिहा भएका थिए । हामी कुन दिन छुट्छौ ? बिहानै अखबारका पाना देखि साँझ टेलिभिजनको समाचार सम्म हाम्रो ध्यान त्यसैमा थियो । बेलाबेला जेल प्रशासनलाई सोध्ने गथ्र्यौं । हामीलाई छोड्ने आदेश कहिले आउँछ ? निकै खुसी भएका थियौँ । जुन गेटबाट निन्याउरो अनुहार लिएर भित्र छिरेका थियौँ त्यही गेटबाट उज्यालो अनुहार लिएर बाहिर निस्कने हाम्रो चाहना थियो ।
माथि वार्ता हुनुभन्दा अघि नैं निजी विद्यालय बन्द गरेर अखिल क्रान्तिकारीले हाम्रो रिहाइको लागि शर्त राखेको थियो । युद्धविराम हुनुभन्दा अघि नै छुट्नुपर्ने तर खै किन हो हामी रीहा भएनौं । जेलबाट छुट्ने रहर, इच्छा र चाहना त्यो दिन चक्नाचुर भयो जुन दिन हामीलाई भेट्न ऋषि घिमिरे, डम्बर रानाभाट र कृष्ण चौधरी आएका थिए । उनीहरू अखिल क्रान्तिकारीका नेता र हाम्रा प्रीय मित्र थिए । कार्तिक महिनाको पहिलो साता होला उनीहरूसँग मेन गेटमै बसेर झन्डै एक घण्टा भलाकुसारी भएको थियो । उनीहरू भन्दै थिए ‘अब वार्ताबाट निकास सम्भव छैन, फेरि लडाई हुने भयो, सहिद हुन पाइएन भने अवश्य भेट हुनेछ ।’
त्यो भेटले हामीलाई धेरै कुराको सन्देश दियो । हामी नछुट्ने कुराले खिन्न भएका थियौँ । उनीहरूका बाँकी कुराले पार्टी र क्रान्ति प्रति एउटा नयाँ आत्मविश्वास र भरोसा जागृत भएको थियो । हामीले खिन्नतालाई अनुहारभित्र कैद गर्न सकेनौँ । बेचैनीलाई मनभित्र लुकाउन सकेनौँ । निराशालाई आँखाभित्रै राख्न सकेनौँ । एक दिन भान्सा कोठाको बाहिरतिर घाम ताप्दै बिन्दमान र म बसिरहेका थियौँ । हाम्रो बीचमा केही कुराकानी भइरहेको थिएन । गफगाफ गर्ने कुनै मुड नै थिएन ।
सधैँ हाँसीखुसी गफगाफ गरिरहने हामी त्यो दिनको सन्नाटालाई देखेर दुईजना नाइके आएर किन टोलाएको ? के भयो ? भनेर सोध्न थाले । मैले भने हामीलाई नछोड्ने भयो । अब निस्कने कुनै उपाय रहेन । सान्त्वनाको शैलीमा उनीहरुले भने अब सुरुङ खनेर जाउ । त्यतिबेलै हामीले प्रश्न गरेका थियौं, केले खन्ने ? तपाईँहरूले सहयोग गर्नुहुन्छ ? उनीहरूले गरुन् भनेर भनेका होइनन् । यत्तिकै सान्त्वना दिनका लागि भनेका हुन् ।
त्यो सामान्य छलफलबाट उठेको विषय हाम्रो मस्तिष्कमा यति ठूलो सपनाको भेल बनेर उर्लियो । हामी निस्किन्छौं, सुरुङ खनेरै निस्किन्छौँ भन्ने अठोटमा पुग्यौँ । त्यसपछि निस्कियो औजार र योजनाको कुरा । पेशीको लागि अदालत जाँदा आफन्तसँग हेक्सा ब्लेड किताबमा राखेर भित्र छिराउने काम प्रताप पौडेलले गर्नुभएको थियो ।
त्यही हेक्सा ब्लेडले ट्वाइलेटको झ्यालका सरिया काटेर निस्कने असफल प्रयत्न गरिसकेका थियौं । कहिले भित्रै बम बनाएर पर्खालमा पड्काउँदै निस्कने योजना पनि बनायौँ । कहिले मेन गेटको ड्युटीमा रहेको प्रहरीलाई कब्जा गरेर बाहिर निस्कने दुस्साहसिक योजना पनि बनायौँ । धेरै पटकका असफल योजनाले गर्दा आफ्नै टिममा पनि यो नयाँ योजनाप्रति खासै रुचि र विश्वास थिएन । तैपनि यसलाई हामीले गम्भीरतापूर्वक बहस र छलफलमा लग्यौँ । योजना कार्यान्वयनको लागि हामी आस्थाका बन्दीको बीचमा एक किसिमको सहमति बन्यो । अनि खोज्न थाल्यौँ औजार ।
सेफ्टी ट्याङ्की मर्मत गर्दा छोडेका मसिना फलामे रड थुप्रै थिए । तिनैलाई हामीले चक्कु र खन्तीको रुपमा आकार दियौँ । टिनको छाना मर्मत गर्न ल्याएको फलामे मोटो रड भित्रै छुटेको थियो ।
त्यसलाई हेक्सा ब्लेडले काटेर दुईवटा ठूलो खन्ती बनायौँ । बन्दीलाई राशन उपलब्ध गराउँदा दिने चामलका बोरा हामीसँग प्रशस्त थिए । तिनलाई हामीले सुरुङको माटो सप्लाई गर्नेदेखि सिलिङमै माटो व्यवस्थापन गर्ने काममा प्रयोग गर्यौं । ……
याे पनि..
‘जेल ब्रेक’ डायरी १ः सुर्खेत ‘जेल ब्रेक’ को इतिवृत्तान्त
‘जेल ब्रेक’ डायरी २: जेल तोडेका हामीलाई खोज्न जब तिनवटा हेलिकप्टर परिचालन भए…
प्रतिक्रिया दिनुहोस्