
गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई नहौसिन आग्रह गरेका छन् । उनले फालिसकेको राजाले पनि लोकतन्त्रको उपयोग गरिहेको बताउँदै त्यसलाई कमजोरीका रूपमा नलिन पनि चेतावनी दिए ।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनताले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले फेरि फर्काएर ल्याउँछन् भनेर कसैले विश्वास गर्न नहुने बताए ।
‘केही मानिसहरूले र पूर्वराजाले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्,’ लेखकले भने, ’त्यो भ्रमबाट राजा हौसिन आवश्यक छैन ।’
उनले आन्दोलनबाट फालिसकेका राजा नेपालमै बसेर सबै स्वतन्त्रता उपभोग गरेको इतिहास विरलै हुने बताए । ‘सामान्यतयाः आन्दोलनबाट वा क्रान्तिबाट फालिएको राजसंस्थाका राजा आफ्नै देशमा सबै स्वतन्त्रता उपभोग गरेर बसेको इतिहास विरलै देखिन्छ,’ उनले भने, ’यो लोकतन्त्रको सुन्दरता हो ।’
उनले नेपालको लोकतन्त्र संयमित, उदार, परिस्कृत र सहिष्णु रहेको बताउँदै यसलाई कमजोरीका रूपमा नलिन राजा र उनका समर्थकहरूलाई चेतावनी दिए ।
जनताले आन्दोलन र क्रान्ति गरेर फालिसकेको राजालाई लोकतन्त्रमा फर्किसकेको जनताले फेरि फर्काएर ल्याउँछ भन्ने विश्वास पनि नगर्न लेखकले आग्रह गरे ।
भिडियो









प्रतिक्रिया दिनुहोस्