एमाले महासचिवलाई कर्णालीका सामाजिक विकासमन्त्री भण्डारीले भने—कर्णाली नबुझिकन ज्या पनि भन्दिन्या



नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णालीबारे गरेको अभिव्यक्तिको यतिबेला सर्वत्र आलोचना भएको छ ।

केही दिनअघि वीरेन्द्रनगरमा आयोजित नेकपा एमालेको जागरण सभामा बोल्दै उनले भनेका थिए—कर्णालीका मान्छेले गणतन्त्रपछि मात्रै भात खान पाएका हुन ।

उनले कर्णालीबारे गैर–जिम्मेवार अभिव्यक्ति दिएको र कर्णालीबासीलाई होच्याएको भन्दै उनको आलोचना भएको छ ।

यसैबिच कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले पोखरेललाई ‘कर्णाली नबुझिकन ज्या पनि भन्दिन्या’ भन्दै आलोचना गरेका छन् ।

पोखरेलको अभिव्यक्ति इङ्गित गर्दै भण्डारीले धान, चामल सम्बन्धि पुराना गीतकथाहरु सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तो छ, उनले लेखेको गीतः
गड्याज्युला भन्नु मात्रै धान झुल्याको चिन्या
नेता आइक भाषण दिन्या अरु केहि नदिन्या ।
बासमती, मार्सि, भुर्साल्या, गुण्या, फल्छ थापाचिन्या,
कर्णाली नबुझिकन ज्या पनि भन्दिन्या ।
उठि जानै विशाखर चिन्या घाम लागि गो
गोरुले खेतखाइ क सक्यो गोठालो भागि गो ।
असारको पध्र हो क्या उठुला उठुला
चिन्ता नलेउ मेरीआमा भेटेमा कुटुला ।

(नोटः यी गीत भण्डारी आफैका भने होइनन्, पुराना संकलित हुन्)

मन्त्री भण्डारीले बासमती, मार्सी भुर्साल्या, गुण्या, थापाचिन्या जस्ता बहुमुल्य धानका प्रकार फल्ने ठाउँ कर्णाली भएको तर काठमाडौँबाट नेता आएर खाली भाषण दिने गरेको उल्लेख गरेका छन् । साथै कर्णालीबारे वास्तविकता नबुझेरै जे मन लाग्यो, त्यही भन्दिने भन्दै एमाले महासचिव पोखरेलमाथि व्यङ्गे गरे ।

यो पनि.

‘एमाले महासचिव शंकर पोखरेललाई कर्णालीमा प्रतिबन्ध लगाउनुपर्छ’

प्रकाशित मिति : २०८१ चैत ३० गते आइतबार