विरेन्द्रनगर जेसिस द्वरा विरेन्द्रनगरमा निःशुल्क स्वास्थ्य शिविर हुने



सुर्खेत । वीरेन्द्रनगर जेसीजको आयोजनामा आगामी जेठ ३ गते एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। मेटलाइफ (अमेरिकन लाइफ बीमा कम्पनी) को सहयोगमा शिविर मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय, सुर्खेतको सेमिनार हलमा हुनेछ।

पत्रकार सम्मेलनमार्फत शिविर संयोजक श्याम कुमार थापाले बजार क्षेत्रमै यस्ता शिविर आवश्यक भएको बताए। शिविरबाट ३०० भन्दा बढी नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ। शिविरमा रक्तचाप, सुगर, मुख तथा दन्त स्वास्थ्य, स्त्रीरोग, नाक-कान-घाँटी, हाडजोर्नी तथा अन्य सामान्य स्वास्थ्य परीक्षण र परामर्श सेवा उपलब्ध हुनेछ।

दीर्घकालीन रोग भएका बिरामीलाई एक महिनासम्म निःशुल्क औषधि वितरण गरिनेछ। जेसीज अध्यक्ष दिलीपजंग शाहीले झुप्राखोला र गिरीघाटका समुदायलाई निःशुल्क बस सेवामार्फत शिविरमा ल्याइने बताए।

शिविरमा विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा उपलब्ध हुनेछ, जसमा डा. पारश पौडेल, डा. शुभ श्रेष्ठ, डा. कृतिका थापा श्रेष्ठ, डा. कुलराज शाही र डा. सुरक्षा सिंह ठकुरी रहेका छन्।

 

प्रकाशित मिति : २०८२ वैशाख २८ गते आइतबार