‘लोक रत्न’ कवि हल्धर नागको प्रेरणादायी कथा !



साहेब ! म सँग दिल्लीसम्म आउने पैसा छैन, कृपया पुरस्कार हुलाकबाट पठाइदिनुहोला—सन २०१६ पद्मश्री पुरस्कार घोषणा पश्चात कोसली भाषाका प्रसिद्ध कवि हल्धर नागले यसो भनेका थिए ।

हल्धर नाग—जसको नामको अघि कहिल्यै ‘श्री’ लेखिएन, ३ जोडी लुगा, एकजोर भाँच्चिएका रबर चप्पल, एउटा अत्यन्तै थोत्रो चस्मा र ७३२ रुपैयाँ जम्मा पुँजीको मालिकलाई नरेन्द्र मोदीको सरकारले पद्मश्री पुरस्कारको विजेता घोषणा गर्याे । जसको निकै चर्चा र प्रशंसा समेत भयो ।

जब तपाइँ उडिया लोक–कवि हल्धर नागको बारेमा जान्नुहुन्छ, तपाइँ प्रेरणाले भरिनुहुने छ ।

को हुन हल्धर नाग ?

हल्धर नाग सम्बलपुरी (जसलाइ कोसली भाषा पनि भनिन्छ) का प्रख्यात कवि हुन् । उनलाई प्रेमपूर्वक लोककवि रत्न पनि भनिन्छ। नागको जन्म मार्च ३१, १९५० मा उडिसाको बरगढ जिल्लाको घेन्सको गरिब परिवारमा भएको थियो ।

हलधर नागका पुर्खा बैदपाली गाउँका थिए । सन् १९४८ मा त्यो गाउँमा अचानक महामारी फैलियो । केही दिनमा सयौंको ज्यान गयो । गाउँलाई मृत्युले वरपरबाट घेरेपछि भने आफ्नी श्रीमती गुरबारी नागलाई मृत्युबाट बचाउन कविका पिताजी भज नागले ८ घन्टा लामो पैदल दूरीमा रहेको घेन्स भन्ने स्थानमा रहेको ससुराली पठाए ।

साहेब ! म सँग दिल्लीसम्म आउने पैसा छैन, कृपया पुरस्कार हुलाकबाट पठाइदिनुहोला

रातभरि हिँडेर गुरबरी घेन्स पुगिन् । हल्धर नागको जन्म त्यही घेन्समा रहेको मामाघरमा भएको थियो । हल्धरको संघर्ष १० वर्षकै उमेरबाट सुरुभयो, जतिबेला उनका बुबाको मृत्यु भयो ।

सानै उमेरमा बुबा बितेका कारण उनको काँधमा सिङ्गो पारिवारिक हेरचाहको जिम्मेवारी आइपर्यो । पढाइ छाडे । तीन कक्षा पछि विद्यालय छोड्न बाध्य भए। बाँकी उनले स्वअध्ययनमै आफ्नो बुद्धि तिखारेका थिए ।

बुबा बितेको एक वर्षभित्रै उनकी आमाको पनि पक्षघातबाट निधन भयो । कलिलो उमेरमा उनलाई अनाथको रूपमा एक्लै छोडियो त्यसैले उनको जीवन पूर्णरूपमा गरिब मामाघरमा बितेको थियो । यसरी उनको बाल्यकाल अति नै दारूण अवस्थामा बित्यो ।

आफ्ना जीवनबारे उनले भनेका छन्, ‘मेरो बाल्यकाल र किशोरकाल अत्यन्त कष्ट वा भोकसँगको संघर्षमा थियो । मेरो आमाबाबुको मृत्युपछि मैले लामो समयसम्म पेटभरि खाना खाएको सम्झना छैन । म कुल्हिया काण्ड खाएर मात्रै बाँचेका दिनहरू अहिले सम्झन्छु । यी जङ्गली बिरुवाका जरा हुन्, जसको स्वाद तितो हुन्छ । तिनीहरू यति तीतो र अखाद्य छन् कि जङ्गली बँदेल र भालुहरूले पनि त्यसलाई खानको लागि जमीन खन्दैनन् ।’

आमाबुवाको मृत्यृुपछि उनले मामाघर छाडे । जीवन चलाउन उनी नजिकैको सानो गाउँमा रहेको होटलमा भाँडा मोल्न काममा लागे ।

जुठो र फोहोर भाँडाको डंगुरमा पुरिएर काम गरिरहेको बेला घेन्स गाउँका निर्वाचित प्रमुख ब्रजमोहन साहुले उनलाई देखे । उनले आफ्नो गाउँपालिकाको अधिनमा रहेको घेन्स हाई स्कूलको छात्रावासमा भान्छेका रूपमा काम गर्न बोलाए । हलधरले त्यहाँ मासिक ८ रूपैँया तलब पाउँथे ।

पाँच वर्षपछि उनको मासिक तलब ८ बाट बढेर १६ रूपैँया भयो । उनले १६ वर्षसम्म उक्त विद्यालयमा काम गरिरहे । स्कुल छोड्नुभन्दा अघि उनको तलब ४० रूपैँया पुगेको थियो । उनी यो पैसाले आफ्नो जीवन सुखमय नै भएको बताउँछन् । उनी भन्छन्, ’पैसा ठूलो कुरा होइन, सन्तुष्टि ठूलो कुरा हो ।’

स्कुल छोडेको केही वर्षपछि उनले बैंकबाट एक हजार रुपैयाँ ऋण लिएर विद्यालय अगाडि प्रतिलिपि (फोटोकपी), किताब, कलम, पेन्सिलको सानो पसल खोले । यसबाट उनले धेरै वर्षसम्म आफ्नो जीविकोपार्जन गरिरहे ।

यस अवधिमा उनले केही न केही लेखिरहे र लेखनप्रतिको आफ्नो जोशलाई कहिल्यै मर्न दिएनन् । उनको लेख्ने बानी स्कुलको भान्साकोठादेखि नै सुरू भएको थियो । लेख्ने लत विद्यालयका केटाकेटीले लेखेको देखेर सुरू भएको थियो ।

कवि हलधरको प्रतिभालाई कुनै किताबी ज्ञानको आवश्यकता परेन । उनले जुन स्थानमा जसरी जीवन बाँचे, त्यसलाई नै गहिरो गरी कवितामा उतार्दै गए । बाहिरी अध्ययनले आफ्ना अनुभवको कसीमा ढाल्दै गए र त्यसलाई अक्षरहरूमा उतार्न थाले ।

सन् १९९० मा हलधर नागले आफ्नो पहिलो कविता ‘धोधो बर्गाजी’ (पुरानो बन्यान) नामक पहिलो कविता छापाए । त्यो कविता स्थानीय पत्रिकाले प्रकाशित गरेको थियो । यो कविताले निकै चर्चा पायो । त्यसपछि स्थानीय पत्रिकाहरूले हलधरका कविताहरू खोजीखोजी छाप्न थाले ।

‘ज्ञान त्यो होइन, जो किताबको पानामा भेटिन्छ, वास्तविक ज्ञान त त्यो हो जुन हामीभित्र छ र त्यो ज्ञानलाई प्रकट गर्न आवश्यक छ ।’

हलधरको कवितालाई मानिसहरूले यति मन पराए कि उनलाई “लोक कवि रत्न” भन्न थाले । त्यसपछि उनको लेखनको प्रक्रिया झन् तीव्र रूपमा सुरु भयो । उनको लेखन यात्रा आजसम्म जारी छ । उनले अहिलेसम्म सयौँ कविता र २० वटा महाकाव्यहरू लेखेका छन् ।

उनको जीवन उपयोगी भनाइ छ, ‘ज्ञान त्यो होइन, जो किताबको पानामा भेटिन्छ, वास्तविक ज्ञान त त्यो हो जुन हामीभित्र छ र त्यो ज्ञानलाई प्रकट गर्न आवश्यक छ ।’

हलधरले कहिल्यै कुनै प्रकारको जुत्ता वा चप्पल लगाएका छैनन्। तिनीहरू केवल धोती र भेस्ट लगाउँछन् । यी कपडामा आफूलाई राम्रो र खुल्ला महसुस भएको उनीहरु बताउँछन् ।

उनी आज सबैका लागि प्रेरणाको स्रोतभन्दा कम छैनन् । समय जस्तोसुकै किन नहोस्, आफ्नो भित्री प्रतिभालाई चिन्न सक्नु भयो भने एक दिन अवश्य प्रसिद्धिको चुचुरोमा पुग्नुहुनेछ । उनी समाजमा लुकेका विकृतिलाई आफ्नो लेखनबाट हटाएर राम्रो समाज निर्माण गर्न चाहन्छन् ।

२२ वर्षको उमेरमा हलधरले पार्वती नामक युवतीसँग विवाह गरे । पार्वती लामो समयदेखि बिरामी थिइन् र लामो समयसम्मको बिमारीकै कारण उनले सन्तान जन्माउन सकिनन् ।

आफूले सन्तान जन्माउन नसकेजछि उनले हलधरलाई अर्को केटीसँग विवाह गर्न बाध्य पारिन्। हलधर नागको विवाहको लागि उनी आफैंले मौलाभर (अभिभावकले बोक्ने भाँडो) बोकेकी थिइन् । यो एक उडिया अनुष्ठान हो, जहाँ विवाह समारोहमा दुलहाको मामाले काँधमा विभिन्न वस्तुहरू बोक्नुपर्छ ।

सन् १९७६ मा हलधर नागको दोस्रो विवाह सफलतापूर्वक सम्पन्न भयो । विवाहपछि श्रीमान् र सौताको जीवन सुखमय होस् भनेर पार्वती स्वेच्छाले आफ्नो माइती गएकी थिइन् । हलधरले मालतीसँग नयाँ जीवन सुरु गरे। अर्को वर्ष नाग दम्पतिले एउटी छोरी जन्माए ।

हलदर नाग दलित परिवारमा जन्मेका थिए । छुवाछुतको तत्कालीन कानुनले उनी हुनसम्मको पीडित भएका थिए । उनको अचियन शीर्षकको कवितामा छुवाछुतको सशक्त भाव झल्किन्छ ।

कवितामा रामायणको एक श्रृङ्खलालाई विस्तृतीकरण गरिएको छ । त्यहाँ शबरी नामक वनवासीले छोएको फल भगवान रामले कसरी ग्रहण गरे तर एक्काइसौं शताब्दीमा आइपुग्दा पनि हामी हिन्दूहरू तल्लो जातका मानिसहरूको घरमा पस्दैनौं । यो कविता निकै चर्चित भयो ।

हिन्दू धार्मिक ग्रन्थहरूमा आधारित उनका सतिया बिहा, तारा मन्दोदरी, करम सानी, आदि धेरै कृतिहरू उच्चकोटिका मानिन्छन् । धार्मिक ग्रन्थहरूबाहेक उनले सन्त कवि भीमा भोई, गंगाधर मेहर वीर सुरेन्द्र साई आदिमा पनि कविता रचना गरे ।

नागलाई भारतका प्रसिद्ध कवि गंगाधर मेहरसँग तुलना गरिन्छ, गंगाधर मेहर उन्नाइसौं शताब्दिका चर्चित भारतीय कवि हुन् ।

उनको कोसली कविता सुन्न उनीकहाँ ठूलो संख्यामा मानिसहरू भेला हुने चलन आजसम्म पनि छ । उनले सुरुमा कोसली लोककथा पनि लेखेका थिए । सन् १९९० को दशकमा उनले कोसली भाषामा कविता लेख्न थाले ।

सयौं कविहरूले पश्चिमी उडिसामा एक बलियो “हलधारधारा” लाई बढावा दिन उनको शैली र प्रविधिको अनुकरण गर्छन् ।

हलधर नागको सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि उनले २० वटा महाकाव्यहरू बाहेक उनले अहिलेसम्म लेखेका सबै कविताहरू सम्झन्छन् । उनले एकपटक लेखेको कविता उनले कहिल्यै बिर्सँदैनन् ।

सन् २०१६ मा, उनले सम्बलपुरी भाषामा गरेको योगदानको लागि भारतका १३ औं राष्ट्रपति प्रणव मुखर्जीबाट भारतको चौथो सर्वोच्च नागरिक पुरस्कार पद्मश्री पनि प्राप्त गरे ।

राष्ट्रपति प्रणव मुखर्जीबाट ‘पद्मश्री पुरस्कार’ लिन उनी नाङ्गो खुट्टा आएका थिए । कारण खाली खुट्टा हिँड्नु नै उनको ब्राण्ड हो । त्यो बेला उनको आङमा एउता सेतो धोती, भेस्ट र गम्छा थियो ।

उनी नाङ्गै खुट्टा पुरस्कार थाप्न आएको देखेर, त्यहाँ उपस्थित सबैको आँखा रसाको थियो । यसै क्रममा यो घटना देशका प्रमुख टि.भी. च्यानलहरूमा एउटा सक्षम व्यक्तिले यस्तो दयनीय जीवन जिउन किन बाध्य छ भन्ने विषयमा बहस पनि चलेको थियो ।

उनले ६६ वर्षको उमेरमा पद्मश्री पुरस्कार प्राप्त गरेका थिए । उनी ‘लोक रत्न’ कविको उपाधिले प्रसिद्ध छन् ।

विभिन्न अनलाइन तथा गुगल सामाग्रीहरूबाट संकलित सामग्री

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमबार