
डोल्पामा निर्माणाधीन १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजना गम्भीर विवादमा फसेको छ।
ऊर्जामन्त्रीको नाम जोडिएको ’चेक काण्ड’, ठेक्का प्रक्रियामा नक्कली कागजातको प्रयोग, संसदीय समितिभित्रको मतभेद र अदालती प्रक्रियाले आयोजनाको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ।
आयोजनाको ठेक्का प्रक्रियामा प्रतिस्पर्धीलाई हटाउन ऊर्जामन्त्री दीपक खड्काको कार्यकक्षबाटै १५ करोडको चेक बाँडिएको भन्दै अख्तियारमा उजुरी परेको छ।
यसैगरी, ठेक्का पाएको चिनियाँ कम्पनी ‘जियाङ्सी कन्स्ट्रक्सन’ले अर्कै आयोजनाको तस्बिरलाई आफ्नो भन्दै नक्कली कागजात पेस गरेको आरोपसहित अर्को प्रतिस्पर्धी कम्पनीले सार्वजनिक लेखा समिति र अदालतमा उजुरी दिएको छ।
यो विवाद हाल सार्वजनिक लेखा समिति, अख्तियार र सर्वोच्च अदालतसम्म पुगेको छ। लेखा समितिले सुरुमा ठेक्का प्रक्रिया रोक्न निर्देशन दिए पनि पछि अगाडि बढाउन दिने निर्णय गर्दा ५ जना सांसदले छानबिन हुनुपर्ने मागसहित ’नोट अफ डिसेन्ट’ लेखेका छन्। मुद्दा अदालतमा विचाराधीन रहेकाले छानबिन प्रक्रिया अलमलमा परेको छ।
यता, ऊर्जामन्त्री खड्काले भने आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै ठेक्का नपाउने पक्षले चलाएको हल्ला मात्र भएको दाबी गरेका छन्।
तर, यही विवादका कारण आयोजनामा लगानी गर्न तयार भएका बैंकहरू पनि हच्किएका छन्, जसले डोल्पाको विकासको कोशेढुंगा मानिएको यो राष्ट्रिय महत्त्वको आयोजनाको भविष्य अनिश्चित बनाएको छ।









प्रतिक्रिया दिनुहोस्