
जाजरकोटको भेरी नगरपालिकामा बिरामी लिन जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा पर्दा एक युवकको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृतक भेरी नगरपालिका–१ निवासी २७ वर्षीय चालक सुनिल चुनारा हुन्।
उदय युवा क्लबको नाममा दर्ता रहेको भे १ च २२४७ नम्बरको उक्त एम्बुलेन्स सोमबार राति करिब १ बजे भेरी नगरपालिका–१ स्थित कल्चौरा नजिकैको कल्ले खोलामा दुर्घटनाग्रस्त भएको थियो।
प्रहरी नायव निरीक्षक वीरबहादुर थापाले दिएको जानकारी अनुसार एम्बुलेन्स सोही वडाको डौँरीकाँडा भन्ने स्थानमा बिरामी लिन जाँदै थियो तर गन्तव्यमा नपुग्दै दुर्घटनामा परेको हो।
घटना राति भएकोले तत्काल जानकारीमा आउन सकेको थिएन। मंगलबार बिहान घाँस काट्न जाने क्रममा स्थानीयले दुर्घटनाग्रस्त एम्बुलेन्स देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया दिनुहोस्