१ वर्षमा सम्पन हुनुपर्ने कृष्ण माविको निर्माणाधीन भवन ५ वर्षदेखि अलपत्र, गाउँपालिका मुखदर्शक



सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, को कृष्ण माध्यामिक विद्यालयको निर्माणाधीन भवन ५ वर्षदेखि अलपत्र अवस्थामा छ ।

१ वर्षभित्रै निर्माण कार्य सक्नुपर्ने लक्ष्य रहेपनि ठेकेदार कम्पनीको लापरबाही र गाउँपालिका मुखदर्शक बन्दा अहिलेसम्म बन्न नसकेको हो ।

९५ लाख लागत अनुमान रहेको उक्त ८ कोठे पक्की भवन आर्थिक वर्ष ०७६/०७७ मा निर्माण सुरु गरी एकै वर्षमा सक्ने लक्ष्य थियो ।

५८ लाखमा बनाउने भन्दै निर्माणको जिम्मा लिएको थियो—विजय कन्स्ट्रक्सन प्रालि सुर्खेतले । तर १० प्रतिशत काम नगर्दै ठेकेदारले काम नगरी भवन अलपत्र अवस्थामा छाडेको छ ।

भवन बनाउनका लागि सुरुमा प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । त्यसमा करिब १२ लाखजति गाउँपालिकाले समेत थप गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्बर १ का अध्यक्ष चक्रबहादुर विकले ठेकेदारको लापरबाहीका कारण निर्माणाधीन भवन अलपत्र बनेको बताए ।

उनका अनुुसार कक्षा कोठाको अभाव भएको भन्दै उक्त भवन निर्माण थालनी गरिएको हो ।

भवनको निर्माण कार्य सुरु हुनेबेला ठाटीकाँध गाउँपालिकाको अध्यक्ष एमालेका धीरबहादुर शाही थिए भने विद्यालयको प्रधानाध्यापक उनकी श्रीमति इलामल्ल शाही । ठेकेदारले भवन अलपत्र छाड्दा न तत्कालीन अध्यक्ष शाहीले एक्सन लिन सके न विद्यालयले ।

०७९ स्थानीय तहको निर्वाचनपछि नेपाली कांग्रेस नेतृत्वको सरकार बन्यो ।  गाउँपालिका अध्यक्ष भने कांग्रेसका रक्षबहादुर शाह । गाउँपालिकाको मुकाममै रहेको र सबैभन्दा धेरै विद्यार्थी रहेको विद्यालय भवन अलपत्र अवस्थामा हुँदा पनि शाह नेतृत्वको सरकार मुखदर्शक बनिरहेको छ ।

भवन नबन्दा प्रदेशको बजेट खर्च हुन सकेन । त्यसपछि स्थानीय तहले बजेट व्यवस्थापन गरेपनि ठेकेदारले काम नगरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चक्र विक बताउँछन् ।

‘हामीले पटक–पटक ताकेता गरिरहेका छौँ, लगत्तै काम सुरुवात गर्छौँ भनेको छ,’उनले भने, ‘यदि तिहारपछि काम नगरे कारबाही गरिने छ ।’

स्रोतका अनुसार यो भवनको टेण्डरमै कमजोरी भएको छ । जसका कारण अख्तियारले समेत चासो दिइरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका अनुुसार अख्तियारको टोलीले फिल्डमा गएर प्राविधिक प्रतिवेदन समेत तयार पारिसकेको छ ।

यद्यपि कमजोरी के भएको हो भन्ने विषय अनुसन्धानमै रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका सुचना अधिकारी दिनेश पौडेलले बताए ।

यो विषयमा बुझ्न खोज्दा विजय कन्स्ट्रक्सनका प्रतिनिधि उपेन्द्र बोहोरा सम्पर्कमा आएनन् ।

यस्तै विद्यालयका प्रधानाध्यापक इलामल्ल शाहीलाई सम्पर्क गर्दा उनको फोन सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : २०८१ कात्तिक ७ गते बुधबार