
२०७८ फागुन महिनाको दोस्रो हप्तातिर जन्मथलो दैलेख जिल्लाको आग्र (ठाँटीकाँध–५) गएको थिएँ । साँझ पर्नै लाग्दा गाउँको चहल पहल हुने मुख्य ठाँउमै मष्ठाको थान नजिकका पसलहरुमा पुगे ।
पसल बाहिरका क्यारम बोर्डहरुमा गाँउका नवयुवा र किसोरहरु झुम्मिएकै थिए । म भिड नजिक उभिएँ । सबैलाई हेरे तर कसैलाई ठम्याउन सकेन ।
अचानक अहिले ती पसल भएको ठाउँमा पहिले (हामी केटाकेटी हुँदा ०३६/०३७ सालतिर) भएको तिनतले पथ्थरिया (छानामा स्लेट लगाएको) घर सम्झिएँ । त्यो घरका दिवाल चिनिएका किरमिरे सेता ढुँगाका लहर सम्झिएँ ।
छिनाले छिनेका कोणाका निकै चौडा र मोटा ढुङ्गाहरु झल्झल्ती सम्झें । हिउँदका पारिला दिनमा मैठाथानको फराकिलो चौरमा गोलगोल गरेर बसेका हजुरबुवा, ठुलोबुवा, कान्छोबुवा र दाजुहरुका आ–आफ्ना उमेर समुहका कचहरी सम्झें ।
सेतो दौरा सुरुवाल माथिका लोअस्कोट लगाएका, खैरा जुँगा भएका कटुवाले काकाले काचो चपाउँदै कचहरी व्यवस्थित गर्न केटाकेटीहरुलाई लौराले परपर धपाउँदै गरेको दृश्य मेरो स्मृतिपटमा निकै सजिव भएर आयो ।
कचहरिको बाहिरी घेरामा बडो उत्साहका साथ बसेका, ठुलो निशान बजाउने दमाई बा ! च्याखुराका खुणी बनाउने फणारा दाई र आग्पान्नु (चक–मक ठिन्का) बनाउने आरने काकाहरुका अनुहार मेरो मानसपटमा घुमिरहे ।
हातले अठ्याएर टेकेको लठ्ठिको मुठिमा चिउडो अड्याएर टोलाउँदै ठुल्छणी (हाम्रो ठाँउको ठुलो झरना) माथी पुगेका घामका किरण पुन्जहरु नियाल्दै गर्दा छेउमै गणगणाउने घट्टेखोलाको सुसाहट पनि कानमा परेन ।
यसरी म निकै बेरसम्म टोलाईरहेकै अवस्थामा अचानक एउटा अधबैसेले मेरो घर र जाने गन्तव्य सोध्दा म झस्किएँ । मैले उसतर्फ हेर्दै हातको लठ्ठिले अघिदेखि मलाई चियाएर हेर्दै गरेको, माथि कोटमा रहेको मेरो डिल्लिआग्रको घर देखाएँ । उसले विश्मयताका साथ मलाई अझै नियालेर हेर्यो । मैले आफैले आफ्नो बारेमा भने । मेरो परिचय पाईसकेपछि उसले म प्रति खासै चासो र रुचि देखाएन ।
मलाई निकै खिन्नता, ग्लानी र पीडा महशुस भयो । मेरो नाभी गाडिएको माटोको कोमलतामा मैले छोडेका मेरो शिशु खुट्टाका पदचापहरु त शितको थोपासँगै बिलाईसकेका रहेछन् ।
साँझपख गाउँमा झुल्किने जो–कोहीलाई कोहौ ? कसको छोरा हौ ? यतिबेला कहाँ र कसको घरमा जाने हौ ? भनि सोध्ने हाम्रो अघिल्लो पुस्तालाई त एकएक गर्दै दानी मार्याको उकालोमा लाया छर्दै र टिलाकाट्दै राक्म ( राकम कर्णालीको चिहान घाट) पुर्याइसकेका रहेछन् र पोत म मेरो अस्तित्वको जरा रहेको आफ्नै माटोमा बिरानो बन्न पुगेछु ।
मलाई एकाएक बाटो माथितिर घर भएका हाम्रो एकजना हजुरबुवाको सम्झना भयो र, उहाँको बारेमा सोधें । त्यो भाईले उहाँ घरमै भएको बताएपछि पसलबाट चिनी, सलाई, चुरोट र यस्तै केही खत्र्याकखुत्रुक किनेर म ती हजुरबुवालाई भेट गर्न उहाँको घरतर्फ लागें । सुर्यास्त भइसकेको थियो । बुढ्यौली र दमले ग्रस्त जिजुबुवाको आगन सुनसान थियो । मैले जोरजोरले बोलाएपछि जिजुबुवाले जिजुमुवालाई बाहिरको आयो हेर पो ! भनेको सुने ।
त्यसपछि मैले अझै जोरले उहाँहरु दुबैजनालाई बाहिर आउन अनुरोध गरे । दुईतिरका दुईवटा कोठाबाट एकसाथ आएको जीर्ण र विदिर्ण जोडिलाई खुट्टामा ढोग्दै मैले म फलानाको छोरा हुँ भनि परिचय दिँदा दुबैले मलाई सुम्सुमाउँदै गहभरी आँसु निकालेर अवरुद्द गलाबाट उहाँहरुले निकालेको स्नेहको शब्दावली मेरो जीवनभरलाई पुग्ने आशिस थियो ।
हजुरबुवा मेरो बुवाभन्दा उमेरले केही बर्ष कान्छा हुनुहुन्थ्यो । बुवाले यो लोक छोडेको डेढ बर्षभयो । हजुरबुवाले बुवालाई सम्झिदै भन्नुभयो—तेरो बाबु मेरो निकै मिल्दो दाउल्या हो । ऊ बाईगो । हेर बा ! तेरा बाबुले माथीबाट (मृत्यु पछिको काल्पनिक संसार) मलाई बोलाएको छ । अब यो गाउँमा मेरो दावँल (उमेर समुह) कोई छैनन् । पछिल्ला पुस्ताका केटाकेटी बिचमा म एक्लो छु । त्यसैले म पनि अब चाँणै माथी जान्या हुँ, तँ सम्झेर भेटन आई, तेरो बाबुलाई भेटेजस्तै भयो बा !
(गाउँमा बुढापाकाहरु छोरा, नातिनतीनालाई मायाले बा, भाउल्या भनेर बोलाउँछन्)
हजुरबुवा बोल्दै गर्दा मेरा आँखाका परेला बन्द भैइसकेका थिए । म नौ बर्षको हुँदा ०३७ सालको हिउँदमा बुवाले बिडीका केही खोची, कर्क्या (सलाई) र गोट्टा यी हजुरबुवाको घर पुर्याएर आउन भनेपछि म त्यहाँ पुगेर फर्किने बेला यो जोडिले मलाई काखमा समातेर निकै मायाले सुन्तलाको रुखतिर उचाल्दै ल भन तँलाई कुनकुन सुन्तला टिपिदिउँ ? भन्दै सुन्तलाका पाकेका दानाहरु देखाएको मेरो बाल्यकालको यो जोडीसँगको एउटा स्मृती दंशले मलाई चिमोटीरह्यो ।
अहिले मलाई सुम्सुम्याई रहेका यी जीर्ण जोर हातहरुको निर्झरता र चिसोपनमा उहाँहरुको त्यो उमेरको कोमलता, न्यानोपन र स्फुर्ती हराईसकेको अनुभुत गर्दै थिएँ ।
यो जोडिले आफ्नो आँगनमा लटरम्म फलेर पहेँल्पुर पाकेको सुन्तलाको रुखबाट मेरा लागि टिपिदिएको रोज्जा सुन्तलाका दानाले भरिएको सानो झोला सकिनसकि मेरो घर नजिकको सानो उकालोमा बोकेर घरमा लगि बुबाको हातमा थमाएको त्यो सजिव दृश्य र बुवालाई आँखै अगाडि देख्दै थिएँ ।
हजुरबुवाको बोली थामिएपछि झस्किएँ । आफ्नै आँखा स्मृतिको आँसुमा डुबेका थिए । उहाँहरुले आजको रात त्यहिँ बस्न कर गर्दागर्दै पनि म उहाँहरुका चरण स्पर्श गर्दै माथि डिल्लिआग्र आफ्नो घरतर्फ हिंडे ।









प्रतिक्रिया दिनुहोस्