कर्णालीका ८ स्थानीय तहमा हुँदै छ उपनिर्वाचन, कुन दलको जनमत कस्तो ?



सुर्खेत । मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुने भएको छ ।

एक नगर–उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष तथा पाँच वटा वडाध्यक्ष पदमा चुनाव हुन लागेको हो ।

०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु कोही सडक दुर्घटतना त कोही दीर्घ रोगका कारण निधन भएपछि जनप्रतिनिधि विहीन बनेका थिए ।

दैलेखको महाबु गाउँपालिका अध्यक्षको निधनका कारण अध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ । गत २०७९ सालको निर्वाचनमा यो गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर विजयी भएका थिए ।

उनका निकटम प्रतिस्पर्धी एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत पाएका थिए भने नेकपा एकीकृत समाजवादीका जंगबहादुर शाहीले २ हजार २६९ मत पाएका थिए ।

सोही जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर १३ मा गत चुनावमा एमालेका बिर्खबहादुर शाही ८२२ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका डम्बर शाहीले ७७३ मत पाएका थिए ।

यस्तै जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको गत वर्ष भूकम्पमा परी मृत्यु भएपछि उपप्रमुख पद रिक्त छ । गत निर्वाचनमा सिंह ५ हजार ४०६ मत पाएर विजयी भएकी थिइन् । उनका निकतम प्रतिस्पर्धी एमालेकी सुनिता बोहोराले ३ हजार ३९३ मत पाएकी थिइन् ।

यता जाजरकोटको कुशे गाउँपालिका ७ मा माओवादी केन्द्रका मनबहादुर घर्ती ३८० मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका खम्ब बहादुर सिंहले ३१८ मत पाएका थिए ।

कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा गत निर्वाचनमा माओवादी केन्द्रका परबहादुर शाहीले २३४ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी नेमकिपाका दिपबहादुर शाहीले १६१ मत पाएका थिए ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ मा गत निर्वाचनमा एमालेका नन्दलाल रोका १०८ मत पाएर निर्वाचित भएका थिए । उनको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका जंगबहादुर रोकायाले १०२ मत पाएका थिए ।

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्र सिंह कार्कीको केही समयअघि सडक दुर्घटनाका कारण मृत्यू भयो । उनको निधनपछि यहाँ उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा ३ हजार २६९ मत पाएर माओवादी केन्द्रका कार्की उपाध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी एमालेका जुनकुमारी फडेराले १ हजार ६४ मत पाएकी थिइन् ।

यता रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका वडा नम्बर ५ मा गत निर्वाचनमा कांग्रेसका अलबहादुर खत्री ४६२ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका तीर्थबहादुर खत्रीले ४३४ मत पाएका थिए ।

निर्वाचनको मिति तोकिएसँगै दलहरु चुनावको तयारीमा जुटिसकेका छन् । कुनै ठाउँमा उम्मेदवार छान्ने प्रक्रिया सुरु भइसकेको छ भने कुनै ठाउँमा छानिसकेको अवस्था छ ।

दैलेखमा कांग्रेसले लगायो उम्मेदवारको टुङ्गो
यसैबिच बिहीबार नेपाली कांग्रेस दैलेखले दुई ठाउँको उपनिर्वाचनका लागि उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

बैठकले महावु गाउँपालिकाको अध्यक्षको लागि झलकबहादुर भण्डारी र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि रेशम बहादुर शाहीको नाम टुङ्गिएको कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले बताए ।

प्रकाशित मिति : २०८१ कात्तिक २२ गते बिहीबार