
सुर्खेत । मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुँदै छ ।
एक नगर–उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष तथा पाँच वटा वडाध्यक्ष पदमा चुनाव हुन लागेको हो ।
०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु कोही सडक दुर्घटना त कोही दीर्घ रोगका कारण निधन भएपछि पद रिक्त छन् ।
उपनिर्वाचनको समय तोकिएसँगै दलहरु चुनावको तयारीमा लागेका छन् । सोही अनुसार नेपाली कांग्रेसले तीन जिल्लाका स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
जस अनुसार दैलेखको महावु गाउँपालिकाको अध्यक्षको लागि झलकबहादुर भण्डारी र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि रेशम बहादुर शाहीको नाम टुङ्गिएको छ । दैलेखका दुई ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।
उम्मेदवार बनाइएका दुबैजना युवा नेताहरु हुन् । भण्डारी विद्यार्थी राजनीतिबाट आएका व्यक्ति हुन् भने शाही पार्टीकै नगरकमिटीमा आबद्ध छन् ।
यस्तै नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारका लागि इन्द्रा चन्द सिंहको नाम टुङ्गिएको छ । उनी यसअघि भूकम्पमा परेर मृत्यू भएकी उपप्रमुख सरिता सिंहकी भाइ बुहारी हुन् । उनी पुर्व शिक्षक हुन् ।
जाजरकोटकै कुशे गाउँपालिका–७, को वडाध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनको उम्मेदवार खम्बबहादुर सिंह बनेका छन् । उनी ०७९ को निर्वाचनमा सोही पदमा पराजित व्यक्ति हुन् ।
यस्तै रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–५, को वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनका लागि मोतिराम खत्रीलाई उम्मेदवार बनाइएको छ । खत्रीले शिक्षक पेसा छाडेर उम्मेदवार बनेका छन् ।
उनी ०७९ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित अलबहादुर खत्रीकै भाइ हुन् । अलबहादुरको मृत्यू भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा निर्वाचन हुन लागेको हो ।
दलहरुको अंकगणित पढ्नका लागि यो हेर्नुहोस्ः
कर्णालीका ८ स्थानीय तहमा हुँदै छ उपनिर्वाचन, कुन दलको जनमत कस्तो ?









प्रतिक्रिया दिनुहोस्