
सुर्खेत । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले माओवादीमा देखिएको राजनीतिक अस्थिरताका कारण अहिलेको गठबन्धन निर्माण भएको बताएका छन् ।
माओवादीलाई प्रधानमन्त्री दिँदा पनि राजनीतिक स्थायित्व नभएकाले कांग्रेस–एमाले गठबन्धनमा सरकार बनेको उनको भनाइ छ ।
मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले अबका निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने पनि बताए ।
‘८४ को चुनाव कांग्रेस एक्लै लड्छ,’ उनले भने, ‘विगतमा माओवादीले कांग्रेसले गरे कांग्रेस तिर नगरे एमालेतिर गठबन्धन गर्ने भएकाले हामीले पनि गठबन्धन गरेका हौँ ।’
अहिलेको गठबन्धनको सरकार निर्माण गर्ने बेला नै अबको निर्वाचनमा एमाले कांग्रेस दुवैले माओवादी केन्द्रसँग आगामी निर्वाचनमा गठबन्धन नगर्ने भनेर सहमति गरेको दाबी महतको छ ।
उनले सहकारी ठगलाई सरकारले कानुन बमोजिम कारबाही गर्ने बताए । आफ्नो पार्टीका नेताहरुप्रति लक्षित गर्दै उनले भने, ‘हामी आफ्नै पार्टीका कुनै नेतालाई आरोप लागेपनि संस्थागत रुपमा कहिलै जोगाउन लागेनौँ । अहिले पनि लाग्दैनौँ । सहकारी ठगीको विषय त अदालतमा चलिरहेको छ । त्यो अदालतले फैसला गर्ने कुरा हो ।’
अदालतको निर्णय प्रभावित बनाउने खासका कुनै पनि गतिविधिहरु कसैले पनि गर्न नहुने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्