
सुर्खेत । कर्णालीमा यो वर्ष १ लाख ३० हजार ७९० मेट्रिक टन धान उत्पादन भएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आवको तुलनामा चालु आवमा पाँच हजार २२१ मेट्रिक टन धान बढी उत्पादन भएको हो । गत वर्ष १ लाख २४ हजार नौ सय ६९ मेट्रिक टन धान उत्पादन भएको थियो ।
मन्त्रालयका अनुसार सबैभन्दा कम डोल्पामा धान उत्पादन भएको छ । डोल्पामा ३५० मेट्रिक टन उत्पादन भएको छ । डोल्पामा १९९ हेक्टर जमिन खेतीयोग्य छ । साथै मुगुमा ८८५ हेक्टरमा धानखेती गरिएकामा ९७५ मेट्रिक टन उत्पादन भएको छ ।
हुम्लामा ५५० हेक्टरमा एक हजार ३६ मेट्रिक टन धान उत्पादन भएको छ । मर्सी धानको उत्पादन हुने जुम्लामा यस वर्ष अघिल्लो वर्षकै हाराहारीमा धान उत्पादन भएको छ । जुम्लामा दुई हजार ९३० हेक्टरमा धानखेती गरिएकामा छ हजार ३९५ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको भनाइ छ ।
कालीकोटमा अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढेको छ । कालीकोटमा गत आवजमा दुई हजार ४१५ हेक्टरमा धानखेती भएकामा चालु आवमा दुई हजार ४२५ हेक्टरमा धानखेती गरिएको थियो ।
उत्पादनका दृष्टिले समेत अघिल्लो आवको तुलनामा २१८ मेट्रिकटन बढी अर्थात पाँच हजार पाँच सय मेट्रिक टन उत्पादन भएको छ । रुकुम पश्चिममा दुई हजार ६४ हेक्टर जमिनमा धानखेती गरिएकामा पाँच हजार ४८५ मेट्रिक टन धान उत्पादन भएको छ ।
सल्यानमा ६ हजार ७६० हेक्टरमा धानखेती गरिएकामा २३ हजार ६३० मेट्रिक टन धान उत्पादन भएको छ । जाजरकोटमा आठ हजार ७८५ मेट्रिक टन धान जाजरकोटमा उत्पादन भएको छ ।
जारकोटमा दुई हजार ५६० हेक्टरमा धानबाली लगाएको थियो । त्यस्तै दैलेखमा २५ हजार १२० मेट्रिक टन धान उत्पादन भएको छ । जुन अघिल्लो आबको तुलनामा एक हजार ६२० मेट्रिक टन बढी हो ।
सुर्खेतमा ५२ हजार ९०४ मेट्रिक टन धान उत्पादन भएको छ । जुन अघिल्लो आवको तुलनामा पाँच हजार ९०९ मेट्रिक टन बढी हो ।









प्रतिक्रिया दिनुहोस्