पत्रकारलाई मुख्यमन्त्रीले भने—‘आफुमाथि टिप्पणी आयो भन्दैमा अन्यथा मान्दिन, रचनात्मक खबरदारी गर्नुहोस्’



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले रचनात्मक खबरदारी सरकारको लागि मार्गदर्शन हुने बताएका छन् ।

आफुमाथि टिप्पणी आयो भन्दैमा अन्यथा नमान्ने कँडेलको भनाइ छ । बिहीवार नव निर्वाचित नेपाल पत्रकार महासंघको कर्णाली प्रदेश तथा सुर्खेत शाखाको नेतृत्वलाई बधाई तथा शुभकामना दिदै कँडेलले मिडियाले गर्ने रचनात्मक आलोचनालाई सरकारले सहर्ष ग्रहण गर्ने बताए ।

‘मिडियाबाट हुने स्वस्थ्य आलोचनाले सरकारलाई सही गन्तव्य पुग्न सहज हुन्छ,’ कँडेलले भने, ‘प्रेस सधै रचनात्मक प्रतिपक्षको भूमिकामा रहने भएकोले सरकारका कमजोरीलाई खबरदारी गर्न आग्रह गर्दछु ।’

रचनात्मक र स्वस्थ्य खबरदारीले सरकारलाई सहयोग नै पुग्ने उनको भनाइ थियो । मिडियाले प्रश्न उठाउनासाथ त्यसलाई विरोधको रुपमा बुझ्न नहुनेमा आफु प्रतिबद्ध रहेको पनि उनको भनाइ छ ।

कँडेलले सरकारका कमीकमजोरीहरु र ध्यान नदिएका विषयहरुमा मिडियाको स्वस्थ्य र रचानात्मक खबरदारी अपेक्षा पनि गरे । जुन कुरा आफ्ना लागि मार्गदर्शन हुने पनि बताए ।

उनले अगाडि थपे, ‘मिडियाको खबरदारीले थप सरकार प्रभावकारी बन्छ । तपाईहरुको रचनात्मक खबरदारी सरकारको लागि मार्गदर्शन हुन्छ, टिप्पणी आयो भनेर सरकारले अन्यथा मान्दैन र लिर्दैन ।’

सो अवसरमा कँडेलले आम संचार विधेयकको काम अगाडी बढाइएकोले त्यसमा महासंघको तर्फबाट सुझाव दिन समेत पत्रकारहरुलाई आग्रह गरेका छन् ।

संचार क्षेत्रको विकास र प्रर्बद्धनमा प्रदेश सरकारले आफनो क्षमता अनुसारका लोककल्याण्कारी विज्ञापन, पत्रकारको स्वास्थ्य तथा उपकरण बीमा र पत्रकारको क्षमता अभिबृद्धि जस्ता कार्यक्रम ल्याएको र त्यसलाई प्रभावकारी संचालनको लागि महासंघले सहजीकरण गर्न सुझाव समेत दिए ।

प्रकाशित मिति : २०८१ पुस ४ गते बिहीबार