..जब हामी सुरुङ भित्र छिर्ने निर्णायक घडी आयाे



चट्टान फोडेर निस्केको पवित्र कर्णाली नदी जस्तै थियौँ । नदीको प्रवाह जस्तै थियो हाम्रो यात्रा । राज्यका सबै सुरक्षा घेरा लगभग पार गरिसकेका थियौँ । जनताको बस्तीमा, खुल्ला संसारमा थियौँ । जति टाढा पुगे पनि याद त त्यही जेलको आइरहेको थियो । के गर्दै होलान् पुनाराम दाई ? बाहिर आउन नसक्ने सबै बन्दीको जिम्मा म लिन्छु भन्दै थिए । हामीलाई पनि ‘नजाओ केटा हो’ भन्न भ्याउँथे । हामी निस्केपछि भित्र बसेकालाई सुरक्षाकर्मीले यातना दिन्छन् भन्ने लागेको थियो ।

उनीहरूलाई सम्झाउन हामीले अन्तिमसम्म कोसिस गरेका थियौँ । तर निर्णायक उनै पुनाराम दाई थिए । कम बोल्ने, कडा स्वभावका र नाईके पनि । जब हामी सुरुङ भित्र छिर्ने निर्णायक घडी आयो । जेलभित्र निकै ठूलो सन्नाटा छाएको थियो । डर, त्रास र आतंक एक साथ व्यक्त भएको थियो । हामीले जेलमा दुईवटा कुरा राम्रोसँग स्थापित गरेका थियौँ ।

एउटा आड भरोसा र विश्वासको मान्यता । हाम्रो परम्परा विश्वासको हो, विश्वासघातको होइन । मित्रताको हो, शत्रुताको होइन । माया र प्रेमको हो, घृणा र द्वेषको होइन । अर्को कुरा जेलमा परेका हामी सबै अपराधी होइनौँ । खास अपराधी त बाहिर छन् । सरकार र सत्तामा छन । भ्रष्टाचार गरेर देशलाई लुटेका छन्, विदेशीको सेवा गर्न असमान सन्धि सम्झौतामा ल्याप्चे लगाएका छन् । हजारौँ युवाहरूका रोजगारीका सपना बेचेका छन् ।

किसान मजदुरका अधिकार खोसेका छन् । हो तिनै हुन् वास्तविक अपराधी । हामी त सानातिना गल्ती गरेका मान्छे हौं । यी दुईटा कुराले सम्पूर्ण बन्दीहरूमा एउटा भिन्न खालको बुझाइ र एकता पैदा गरेको थियो । जतिसुकै जे भनेपनि निर्णायक कुरा त व्यक्ति स्वयं हो । ‘यिनीहरू निस्के भने हामी सबैलाई एकएक गरी यातना दिन्छ’ भन्ने सबैको बुझाइ थियो । बहुत ठूलो सङ्कटमा थिए उनीहरू पनि । एकातिर हाम्रो माया र सद्भाव अर्कोतिर तत्काल पाइने यातनाको त्रास ।

ठिक त्यही बेला देखिए पुनाराम दाई । उनले भने, ‘यिनीहरू देशको लागि लड्न जाने हुन्, जान देऊ । प्रशासनले सबभन्दा पहिला सोध्ने मलाई हो यो सब जिम्मेवारी मै लिन्छु, तिमीहरू कसैले चिन्ता गर्नु पर्दैन ।’ हुन पनि त्यस्तै भयो । सबैजना चुपचाप भए । अर्कोतिर बोलाएर हामीलाई पनि भन्दै थिए– ‘केटा हो मरिन्छ, यहाँ आनन्दले बसेका छौ । सुरुङ पुर्दी हाल केही पनि हुँदैन । मर्छु नै भन्छौ भने त मेरो भन्नु केही छैन ।’

जेल जानासाथ हामीले भित्रै पार्टी कमिटी विस्तार गरेका थियौँ । सामूहिक जीवनमा थियौँ । हाम्रो कम्युन थियो भित्र । सबैले बराबरी काम गर्ने, राशन–भत्ताको हिसाबकिताब एकजनाले गर्ने । सबैले आआफ्ना जिम्मेवारी पूरा गर्ने । माओवादी विरुद्ध एक शब्द बोल्ने जोसुकै होस् त्यसमाथि भौतिक हमला गर्ने ।

त्यसका लागि लोकजंग शाही, देवीराम देवकोटा र रामबहादुर रसाइलीको एउटा कमान्डो टिम तयार गरेका थियौँ । हामीले फरक–फरक समयमा जेलभित्रै तीनजनालाई राम्रैसँग कुटपिट गरेका थियौँ । यति गरिसकेपछि भित्री वातावरण लगभग हाम्रो नियन्त्रणमा आइसकेको थियो । अर्को निशानामा थिए पुनराम घर्ती । भौतिक हमला गर्नुभन्दा पहिले एकपटक मित्रताको व्यवहारद्वारा उनलाई रुपान्तरण गर्ने योजना बनाइयो ।

त्यसका लागि दलबहादुर घर्ती (विकास) लाई जिम्मा दिइयो । यति धेरै घमण्डी, क्रुर, माओवादी विरोधी जेल प्रशासनको सुराकी थिए । तर एक हप्ता लगाएर उनको मन र मस्तिष्कमा माओवादी विचार र भावना विजारोपण गर्न हामी सफल भयौँ । उनी रूपान्तरित भए, हाम्रा मित्र भए, पुनाराम दाई भए । निर्णायक घडीमा हामीलाई जीवनभर नभुल्ने ठूलो गुण लगाए । उनै पुनराम दाईको याद आइरहेको थियो । हामी चिंगाड खोलाको बाटो हुँदै काँडा घुवानीतिर अघि बढ्यौँ ।….

याे पनि..

‘जेल ब्रेक’ डायरी १ः सुर्खेत ‘जेल ब्रेक’ को इतिवृत्तान्त

‘जेल ब्रेक’ डायरी २जेल तोडेका हामीलाई खोज्न जब तिनवटा हेलिकप्टर परिचालन भए…

‘जेल ब्रेक’ डायरी ३:…अनि खोज्न थाल्यौँ औजार

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार