
सुर्खेत । कर्णाली प्रदेश सभा अन्तर्गतका संसदीय समितिहरुले नेतृत्व सर्वसम्मत चयन गरिएको छ ।
नेतृत्वविहीन अवस्थामा रहेका तीनवटा समितिको नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको हो ।
भागबण्डाको आधारमा गरिएको सहमति अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद विन्दमान विष्ट, सामाजिक विकास समितिको सभापतिमा सत्तारुढ दल नेपाली कांग्रेसका पुर्णबहादुर खत्री र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेकपा एमालेकी सांसद दक्षिणा कुमारी शाही चयन भएकी छन् ।
विषयगत समितिको नेतृत्व टुङ्गो लगाउन प्रदेश सभाले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।
सोही अनुसार बुधबार उम्मेदवारको मनोनयन दर्ताको तालिका रहेको थियो । यद्यपि तीन वटै समितिमा १/१ जनाको मात्रै उम्मेदवारी परेको प्रदेश सभा सचिवालयका सुचना अधिकारी राजेन्द्र पौडेलले बताए ।
लेखा समिति असोज १५ गतेदेखि सभापति विहीन थियो भने अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति रहेका दुर्गबहादुर रावत ०८१ वैशाख १८ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेपछि समिति सभापतिविहीन बनेको थियो ।
यस्तै सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी ०८१ साउन २० मा मन्त्री बनेपछि उक्त समिति सभापतिविहीन बनेको थियो ।









प्रतिक्रिया दिनुहोस्