
सुर्खेत । सोमबार कर्णाली प्रदेश सभाले आफ्नो सातौँ स्थापना दिवस मनाएको छ । विविध कार्यक्रम गरी सभाले आफ्नो स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको मुल समारोहलाई प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र प्रतिपक्ष दलका नेता राजकुमार शर्माले सम्बोधन गरेका थिए ।
प्रदेश प्रमुख जोशीले प्रदेश सरकार र कर्मचारीको कार्यक्षमतामाथि प्रश्न उठाए । बजेट नै भएन भनेर भन्ने तर आएको बजेट आधा पनि कार्यान्वयन गर्न नसक्ने भन्दै उनले प्रश्न उठाएका हुन् ।
‘असारमा हामीले सुन्न नपरोस् कि कर्णालीमा विकास बजेट २८ देखि ३० प्रतिशत मात्रै खर्च भयो भनेर । विगतमा हामीले समाचारमा सुन्दै आएका छौँ,’ उनले थपे, ‘पैसा नपाएर कर्णाली गरिब हुने, विकास नहुने तर भएको पैसा खर्च नहुने भन्दै यो जस्तो अप्ठ्यारो र लाजको विषय अरू केही हुँदैन ।’
त्यस क्रममा उनले कर्णाली सरकारका पदाधिकारीदेखि कर्मचारीलाई प्रश्न पनि गरे । भने, ‘बजेट खर्च किन हुन सक्दैन ?’ अझै समय छ तपाईँहरूले सोच्नुहोस् ।’ साथै कर्णालीको विकासमा सबै दलहरू एकजुट भएर अघि बढ्न उनले आग्रह गरे ।
उनले अगाडि थपे, ‘पहिलो प्रदेश सभामा अभावको कर्णालीलाई सम्पन्न कर्णाली बनाउने सबैले बाचा गर्नुभयो, आज ७ वर्ष बित्दा हामी कहाँ पुग्यौँ, छलफलको विषय बन्छ । समीक्षा गर्नुहोस्, केही नभएको त हैन तर जसरी हुनुपथ्र्यो त्यसरी कामहरू हुन सकेका छैनन् ।’
प्रदेश प्रमुख जोशीले सबैको जोस, जाँगर र समर्पणले कर्णालीलाई अगाडि बढाउन सकिने भएकाले त्यतातर्फ ध्यान दिन सुझाव दिए । त्यसका लागि सबैले साझा प्रतिबद्धता अनुसार काम गर्नुपर्ने उनले बताए ।
प्रतिपक्ष दल (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्माले संघीयता कार्यान्वयनमा अझै पनि केन्द्रिकृत र सामन्ती मानसिकता हावी भएको बताए ।
‘त्यसका विरुद्धमा प्रदेश तहबाट लिनुपर्ने हाम्रा पहलकदमीहरु जसरी हुनुपथ्र्याे त्यो हुन सकेका छैनन्,’उनले भने, ‘त्यस कारण हामी जटिलतामा छौँ ।’
शर्माले आर्थिक सम्पन्नता र सामाजिक न्यायका लागि साझा प्रतिबद्धतासहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । साथै प्रदेशसभाले जनतासँगको सहकार्यलाई व्यवस्थित गर्न नसकेको टिप्पणी उनको छ ।
मुख्उमन्त्री यामलाल कँडेलले बजेटको विषयमा आफु सचेत रहेको बताउँदै आशातीत प्रगति हुन नसकेपनि निराश हुने अवस्था नरहेको बताए ।
स्वयंम आफुले अपेक्षा गरेअनुसार काम नभएको उनले भनाइ छ । यद्यपि जनताका सबै कुराको सम्बोधन गर्न नसकेपछि जनतालाई निराश नबनाउने आधारबाट सरकार अघि बढीरहेको उनले बताए ।
आफुलाई ठुला दल भन्नेहरु केन्द्र सरकारको नेतृत्वमा पटक–पटक पुगेपनि कुर्सीमा पुग्दा उदासीनता देखाएको उनको भनाइ थियो । तर कुर्सीबाट हट्दा सडकमा आन्दोलन गर्ने प्रवृत्ति हावी भएको उनले बताए । त्यही कारण कतिपय नीति, निर्माण तथा कानुनहरु बन्न नसकेको उनले बताए ।
साथै बजेट विनियोजनको सुत्रले कर्णाली सँधै पछाडि परेको कँडेलको भनाइ छ । उनले अगाडि थपे, ‘संघीय सरकार र निकायलाई सबैले मिलेर अनुभूति गराउनुपर्ने छ ।’
कँडेलले प्रदेश सभालाई जनमुखी बनाउने कुरामा सबैको भूमिका रहने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्