
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक ग्रेड वृद्धि परीक्षा (मौका परीक्षा) मा ९० हजार विद्यार्थी फेल भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको मौका परीक्षाको नतिजा अनुसार ९० हजार ८९६ विद्यार्थी फेल भएका हुन् ।
गत चैतमा लिइएको परीक्षामा दुई लाख २२ हजार ४७२ जना विद्यार्थीले ग्रेड प्राप्त गरेका थिए ।
त्यसपछि साउनमा लिएको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार ४२५ विद्यार्थीले ग्रेड प्राप्त गरेका थिए । गत वर्षको एसईईमा तीन लाख ४१ हजार ८९७ विद्यार्थी कक्षा ११ पढ्न योग्य भएका छन् । पूरकको एनजीसहित एक लाख २२ हजार ८८८ विद्यार्थी ११ पढ्न अयोग्य भएका हुन् ।
परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीमध्ये नियमित र ग्रेड वृद्धि समेत तीन लाख ४१ हजार आठ सय ९७ विद्यार्थी मात्रै ग्रेडेड (पास) भएका छन् । चैतमा लिएको परीक्षामा दुई लाख २२ हजार र साउनमा लिएको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार गरी तीन लाख ४१ हजार आठ सय ९७ विद्यार्थी ग्रेडेड (पास) भएका हुन् । एक लाख २२ हजार आठ सय ८८ विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् ।
एसईईको नतिजा सार्वजनिक भएपछि दुई विषयसम्ममा एनजी आएका विद्यार्थीलाई मौका परीक्षाको अवसर प्रदान गर्ने भनिएको थियो । तर, तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सातै विषयमा एनजी आएका तथा परीक्षामा अनुपस्थित भएका विद्यार्थीलाई समेत मौका परीक्षा दिन पाउने निर्णय गरेकी थिइन् ।
लेटर ग्रेडिङ निर्देशिका संशोधन गरेर सातै विषयमा फेल भएका र नियमित परीक्षा नदिएर अनुपस्थित भएका विद्यार्थीलाई समेत मौका परीक्षाको अवसर प्रदान गरेकी थिइन् ।
उक्त निर्णयपछि दुई लाख ४१ हजार ८०४ विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने थिए । तर, दुई लाख १० हजार ३२१ विद्यार्थीले मात्रै मौका परीक्षा दिएको बोर्डले जनाएको छ । ३१ हजार ४८३ विद्यार्थीले मौका परीक्षा दिएका थिएनन् ।
प्रकाशित मिति : २०८१ असोज ९ गते बुधबार









प्रतिक्रिया दिनुहोस्