सुर्खेतको कोपिला भ्याली विश्वकै १० उत्कृष्ट विद्यालयमा छनोट



कर्णालीको राजधानी वीरेन्द्रनगरमा रहेको कोपिला भ्याली विद्यालय विश्वमै उत्कृष्ट विद्यालयका रुपमा छनोट भएको छ ।

विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार २०२५ (World’s Best School Prizes 2025) अन्तर्गत वातावरणीय कार्य श्रेणीमा कोपिला भ्याली शीर्ष १० मा स्थानमा अट्न सफल भएको हो ।

विश्वव्यापी रूपमा शिक्षा क्षेत्रमा दिगो, नवप्रवर्तनशील र समाजमा सकारात्मक प्रभाव पार्ने विद्यालयहरूलाई सम्मान गर्न सन् २०२२ देखि सुरु गरिएको यस पुरस्कारमा नेपालबाट पहिलोपटक कुनै विद्यालय अन्तिम १० मा छनोट भएको हो ।

कोपिला भ्याली एक स्वतन्त्र, गैरनाफामूलक संस्था हो । कोपिला भ्यालीका अनुसाार विद्यालयमा ४५० विपन्न बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाका साथै वातावरणीय शिक्षा प्रदान गर्दै आएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘ग्रीन स्कूल’ अवधारणामार्फत वातावरणीय दिगोपनालाई संरक्षणलाई शिक्षाको अभिन्न अङ्ग बनाउने विद्यालयको प्रयासलाई विश्व समुदायले उच्च मूल्यांकन गरेको छ ।’

कोपिला भ्यालीका अनुसार यो पुरस्कार वातावरणीय कार्य, समुदाय सहकार्य, नवप्रवर्तन, चुनौती पार गर्ने क्षमता, र स्वस्थ जीवनशैली लगायत पाँच विधामा प्रदान गरिन्छ ।

विज्ञ निर्णायक मण्डलद्वारा विजेताहरू छनोट गरिनेछन् । हाल सार्वजनिक अनलाइन भोटिङ पनि खुल्ला गरिएको छ, जहाँ विश्वभरका मानिसहरूले आफ्नो मनपर्ने विद्यालयलाई समर्थन गर्न सक्नेछन् ।

सन् २०२५ अक्टोबरमा विजेता विद्यालयहरूको घोषणा गरिनेछ ।

भाेट गर्न यहाँ लिंक क्लिक गर्नुहाेस्

https://www.kopilavalleyschool.edu.np/

प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार