प्रदेश अस्पतालका डाक्टरको लापरबाहीले मृत्यूः अदालतले भरायो क्षतिपुर्ति



सुर्खेत । कर्णाली प्रदेश अस्पतालका डाक्टरहरुको चरम लापरबाहीका कारण मृत्यू भएकी दैलेखकी भीमा गुरुङ्का परिवारले बल्ल न्याय पाएका छन् । ०८० चैत्र २९ डाक्टरको लापरबाहीका २२ वर्षीया भीमाको मृत्यू भएको थियो ।

निरन्तर आन्दोलन गर्दापनि मागको सुनुवाई नभएपछि उनीहरु अधिवक्ताहरुको सहयोगमा अदालत पुगेका थिए ।

घटना घटेको एक वर्षपछि बुधबार मृतकको पति र छोरीले प्रतिवादीहरुबाट १५ लाख रुपैयाँ क्षतिपुर्ति भराई पाउने ठहरी फैसला भएको छ ।

भीमाका ससुरा धनबहादुर मगरले ०८१ वैशाख १७ गते प्रदेश अस्पताल र अस्पतालका तत्कालीन निर्देश डम्बर खड्का र उपचारमा संलग्न डाक्टर ललितजङ्ग शाहीविरुद्ध अन्तरकालीन माग गर्दै मुद्धा दायर गरेका थिए ।

उपचारका क्रममा भएको त्रुटी, हेलचक्राईं र लापरबाहीबाट नै मृत्यू भएको भन्दै क्षतिपुर्ति भराई पाउँ भन्ने उनको मुद्धा थियो ।
पीडित परिवारको तर्फबाट अधिवक्ताहरु विद्याभुषण मानन्धर, उपेन्द्र रावत, शेरबहादुर खत्रीले बहस गरेका थिए ।

न्यायधीश दीपक ढकालले प्रतिवादीहरुबाट १५ लाख रुपैयाँ क्षतिपुर्ति भराई पाउने ठहरी फैसला गरेका हुन् ।

आठबिस नगरपालिका–५, पिपलकोटकी भीमा सामान्य पेट दुखेको भन्दै उपचारका लागि प्रदेश अस्पताल पुगेकी थिइन् । वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो ।

०८० चैत्र २९ गते बिहानै उनी अस्पताल भर्ना भएकी थिइन् । हिँडेर आफैँ अस्पताल पुगेकी उनलाई केही समयमै अस्पतालले मृत घोषणा गरिदिएको थियो । त्यसपछि उनीहरुले पटक–पटक आन्दोलन गर्दापनि अस्पतालले सुनुवाई गरेन । झण्डै एक महिनापछि मात्रै उनीहरुले शव बुझेर जलाएका थिए ।

प्रकाशित मिति : २०८२ वैशाख ४ गते बिहीबार