दैलेखमा १३ वर्षीया बालिका बलात्कृत, दुई किशोर पक्राउ



दैलेखमा १३ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना किशोरलाई पक्राउ गरेको छ ।

जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा तीजको कार्यक्रम हेरेर घर फर्किंदै गरेकी बालिकामाथि बलात्कार भएको हो ।

जिल्ला प्रहरी कार्यालय, दैलेखले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न रहेको आरोपमा चामुण्डा विन्द्रासैनी नगरपालिका–८ का १४ वर्षीय गोविन्द बहादुर शाही र १५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार, घटना साउन २२ गते राति करिब साढे १२ बजे भएको थियो ।

तीज पर्वको अवसरमा आयोजित नाचगान कार्यक्रम हेरेर साथीहरूसँगै घर फर्किरहेकी पीडित बालिकालाई उनीहरूले बाटोमा पिछा गरी कुटपिट समेत गरेका थिए ।

त्यसपछि दुवै जनाले पालैपालो जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको उजुरीपछि प्रहरीले दुवै आरोपितलाई पक्राउ गरी कार्यालयको हिरासतमा राखेको छ।

पक्राउ परेका दुवैलाई सम्मानित जिल्ला अदालत दैलेखबाट म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी लाल बहादुर सुनारले जानकारी
दिए ।

प्रकाशित मिति : २०८२ साउन २५ गते आइतबार