..जब विवाह बन्धनमा बाँधिएको छ महिनापछि म जेल परें



पहिले जस्तै फेरि पनि पक्राउ परिएला कि भन्ने चिन्ता थिएन । अरु साथीहरू जस्तै युद्धमैदानमा ढलिएला भन्ने डर पनि थिएन । किनकि सहिद हुनु भनेको गौरवको विषय थियो । रगतले लेखिएको गौरवको गाथा नै इतिहास हो । मानव जातिको इतिहास, दुनियाँ बदलेको इतिहास, ठुल्ठुला तानाशाह र बादशाहलाई लडाएको इतिहास ।

वीरहरूको रगतले रचना गरेको इतिहासका पानाहरूमा थप रचना आफ्नै रगतले लेख्न पाए महान कार्य हुने थियो । यिनै मान्यता थिए, जसले गर्दा हाम्रो यात्रा अविचलित थियो । जस्तोसुकै हवाई हमला होस् वा घेराबन्दी त्यसले हाम्रो यात्रामा खासै प्रभाव पार्नेवाला थिएन ।

हामीलाई रहर थियो राइफल भिर्ने, कम्ब्याट ड्रेस लगाउने र जनमुक्ति सेनामा भर्ती हुने । इच्छा थियो—‘जनयुद्ध जनताकै मुक्तिको लागि लडिएको एउटा महा–संग्राम हो’ भनेर संगठन विस्तार गर्ने ।

जनताका आँसु रगत र पसिनाका गीत गुनगुनाउँदै बस्ती–बस्तीमा छरिने । विभेदकारी शिक्षाको अड्डाहरू ध्वस्त पार्ने । वैज्ञानिक र व्यावहारिक शिक्षा प्राप्तिको नारा घन्काउँदै अघि बढ्ने । अखिल क्रान्तिकारीको जिम्मेवारीमा सक्रिय हुने । किसानका हक अधिकार स्थापित गर्न लागिपर्ने । जब हामी जेलबाट निस्क्यौँ बाटोभरि यस्तै यस्तै छलफल भइरहन्थे । तर यी सब रहर, इच्छा, आकांक्षा र रुचि भन्दापनि पार्टीको जिम्मेवारी आवश्यकता अनुसार पूरा गर्ने कर्तव्य बोध थियो ।

गोलाबारी गर्दै जब हेलिकप्टर बिदा भयो, दिन ढल्किँदै गयो र साँझ रानीबासमा हामीलाई बसोबासको व्यवस्था गरिएको थियो । त्यहीँ भेट भयो कमरेड सीमासँग । उनी कमरेड बन्दनाबाट कमरेड सीमा भइसकेकी थिइन् । जनयुद्धका सुरुवाती चरणमै सानो उमेरमा घरबाट विद्रोह गरेर जनयुद्धमा सरिक हुने मध्यकी एक थिइन्, कमरेड बन्दना ।

त्यतिबेला सानै उमेरमा विवाह गरिदिने चलन समाजमा थियो । कन्यादान गर्न पाउनु हरेक अभिभावकको निम्ति गर्वको विषय मानिन्थ्यो । अखिल क्रान्तिकारीमा आबद्ध उनी जनयुद्धबाट प्रभावित थिइन् । जब कन्यादान गर्ने तयारी घरमा हुन थाल्यो, त्यतिबेलै घरबाट विद्रोह गरेर उनी जनयुद्धमा सरिक भइन् ।

आधारभूत तालिम गरेर जनमुक्ति सेनामा भर्ती भइन् । त्यतिबेला स्क्वाइड तहमा जनमुक्ति सेना थियो । आफ्नो स्क्वाड सँगै उनी दैलेखमा काम गरिरहँदा आन्तरिक दुर्घटनामा परेर घाइते भइन् । उपचारको व्यवस्था गाउँमा थिएन । हप्तौं लगाएर उपचारको निम्ति वीरेन्द्रनगरमा ल्याउँदा उनको हालत निकै खराब थियो । त्यस्तो हालतमा पनि उनको आँखामा आँसु थिएन, मनमा पीडा थिएन नत मस्तिष्कमा कतै पश्चाताप नै थियो । पहिले पनि सँगै तालिम गर्दा होस् वा यात्रा गर्दा हामी नजिकै थियौँ । उनको त्यो अवस्था देखेपछि मनमा कताकता उनीप्रति विश्वास र वर्गीय माया जागृत भएर आएको थियो ।

सिङ्गो कर्णालीलाई जनयुद्धमा जुरुक्कै उठाउने गरी माओवादी आन्दोलन जागृत गर्ने एउटा महान अभियान थियो—कर्णाली जनहातेमालो अभियान । हामी सहर छोडेर अग्ला पहाड र घना जङ्गलहरू छिचोल्दै ग्रामीण बस्तीमा पुगेर जनयुद्धको प्रचार गरेका थियौँ । त्यही चार महिने अभियानको अन्तिम समीक्षाको दिन हाम्रो त्यो वर्गीय मायालाई जनवादी विवाहमा परिणत गर्ने निधो गर्‍यौ । सुर्खेत–दैलेख जिल्ला पार्टी सेक्रेटरी कमरेड पारसमणीले आग्रह गर्दै भनेका थिए—जिल्लाको पहिलो र नमुना जनवादी विवाह अरुका लागि शिक्षा र प्रेरणा हुन सक्छ ।

कमरेड सोनामको प्रमुख अतिथ्यताममा कमरेड सचिन र बन्दना तथा कमरेड रमेश र रमाको भव्य जनवादी विवाह समारोह सम्पन्न भएको थियो ।

विवाह बन्धनमा बाँधिएको छ महिना पछि म जेल परें । चिठ्ठी मार्फत हाम्रो संवाद निरन्तर चलिरहन्थ्यो । मैले भनेको थिएँ—मेरो जीवन अब जेलमै बित्छ । उनले भनेकी थिइन्—हामी लडाई छिट्टै जित्छौँ । यदि हारिएछ भने पनि तपाईंको लागि म पनि जीवनभर प्रतीक्षा गरिरहनेछु ।

प्रेमले मान्छेलाई उत्साही बनाउँछ भनेर जेनी माक्र्सले भनेको कुरा मेरो जीवनमा पनि लागू भइरहेको थियो । भौतिक रूपले टाढा वा नजिक मुख्य कुरा होइन रहेछ । एकअर्काप्रतिको विश्वास र भरोसाले नैं जीवनलाई सफलताको मार्गतिर डोर्याउने रहेछ । डेढ वर्षपछि भौतिक रूपमा हामीसँगै भयौँ ।

बिछोडका तीं दिनको चर्चा गर्‍यौँ । सहीदहरूलाई सम्झियौं । परिचित कमरेडहरूको बारेमा एकअर्कालाई जानकारी गरायौं । जिल्ला पार्टी कार्यालयको तर्फबाट भोलिपल्ट गरिने अभिनन्दन कार्यक्रमको सन्देश बोकेर उनी आएकी थिइन् । ..

याे पनि…

‘जेल ब्रेक’ डायरी १ः सुर्खेत ‘जेल ब्रेक’ को इतिवृत्तान्त

‘जेल ब्रेक’ डायरी २जेल तोडेका हामीलाई खोज्न जब तिनवटा हेलिकप्टर परिचालन भए…

‘जेल ब्रेक’ डायरी ३:…अनि खोज्न थाल्यौँ औजार

‘जेल ब्रेक’ डायरी ४:..जब हामी सुरुङ भित्र छिर्ने निर्णायक घडी आयाे

‘जेल ब्रेक’ डायरी ५: जेलभित्रै कम्युन

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिबार