
प्रधानमन्त्री केपी शर्मा ओलीलाई अचेल हररात ऐंठन हुन्छ । प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ओलीको सपनामा गइरहन्छन् र तर्साइरहन्छन् ।
उनी झस्किन्छन् र कहिले ‘कांग्रेस–एमाले’ गठबन्धन २०८४ सम्म टिक्छ भन्छन् कहिले ०८४ पछिसम्म पनि रहन्छ भनिदिन्छन् ।
बेलाबखत तर्साइरहने प्रचण्ड छँदैथिए, त्यसपछि अचेल राजावादीहरुले पनि निन्द्रा बिथोलिदिएका छन् । त्यसैमाथि थपिएका छन् देशभरबाट काठमाडैमा जम्मा भएर आन्दोलन गरिरहेका शिक्षक ।
हरदिन ऐंठन परेर निन्द्रा र सपना दुवै बिथोलिएको बेला प्रधानमन्त्री ओली भने ‘ज्ञानेन्द्रलाई फेरि गद्दीमा बसाउँछौँ’ भनिरहेका राजावादी र ’शिक्षा ऐन चाहियो’ भनेर आन्दोलनरत शिक्षकहरुलाई उस्तै–उस्तै देख्छन् ।
याे पनि..
शिक्षक आन्दोलनः शिक्षामन्त्रीले दिइन राजीनामा
उनलाई घरी आफूमाथि कुनै ठूलो ढुँगा खसिरहेकोजस्तो हुन्छ र झस्किन्छन्, घरी अदृश्य केहीले आफूलाई च्यापिरहेको र हातखुट्टा चलाउन नसकिरहेको महसुस् गर्छन् । अचेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई हररात ऐंठन हुन्छ ।
यो ऐंठन पनि फेरि हल्का निद्रा लागेको र शरीर निष्क्रिय भएको बेला आउँछ । यस्तोबेला मान्छे अक्सर बर्बराउँछ । के–के बोल्छ । के–के गर्छ । किनभने यस्तोबेला उसलाई आफूमाथि विपद–बित्यास परेको महसुस हुन्छ । र त्यसबाट बच्न/जोगिन खोज्छ ।
कतै शिक्षामन्त्री विद्या भट्टराईको हठात् राजीनामाको कारण ओलीको त्यही ऐंठन त होइन ? मन्त्रीको राजीनामालगत्तै जब महेश बस्नेतहरु ‘विद्या नै असफल हुन्’ भनेर फेसबुक स्टाटस लेख्छन् भने ‘बा’को जुँगा हल्लिए कुरा बुझ्ने र कुद्ने ‘छोरा’हरुको स्टाटसको अर्थ र अन्तर्य त तपाईंहरुले पनि बुझ्नुभएकै होला ?
विद्याको ‘बलि’ दिएर ऐंठनको ओखती खोज्न हिँड्नु प्रधानमन्त्री ओलीको अर्को बेवकुफी हो ! ऐंठन हुँदा निन्द्राको सन्तुलन मिलाउने हो, घरै बगाउने पहिरो जान्छ कि भनेर धामी–झाँक्री खोज्ने होइन ।
शाही, सुर्खेतबाट प्रकाशित हुने साझा विशौनी दैनिकका सम्पादक हुन् ।
प्रतिक्रिया दिनुहोस्