आमा !



सगरमाथा जस्तो अग्लो,
समुन्द्र जस्तो गहिरो,
तिमी थियौ आमा,
मेरो अस्तित्वको अडान।
सानो थिएँ, तिमीले हात समाई सिकायौ —
पहिलो पाइला, पहिलो बोली, पहिलो सपना।
संसारको कठोर कठघरामा उभ्याउँदा पनि,
तिमीले म माथि ढल्क्याएको माया कहिल्यै कम भएन।

भोकका रातहरू थिए,
छानाबाट चुहिने वर्षाहरू थिए,
तर तिम्रो काख सधैं न्यानो थियो,
त्यो न्यानोमा म विश्व जित्ने साहस बटुल्थेँ।
सपना देख्न डर लाग्थ्यो,
आकाश टाढा लाग्थ्यो,
तर तिमी थियौ —
मेरो पखेटा समातेर उड्न सिकाउने चरी।
जुन बेला मेरो जुत्ता फाटेको थियो,
तिमी नाङ्गो खुट्टा हिँडेर मलाई जुत्ता किनिदिन्थ्यौ।
जुन बेला मेरो पेट भोको हुन्थ्यो,
तिमी आफ्नै भागको अन्न लुकाएर मलाई खुवाउँथ्यौ।
कति चोट र दुखाइ आफैँमा थामेर,
तिमी मुस्कानले अनुहार सजाउँथ्यौ,
तिमीलाई थाहा थियो —
छोराछोरीको आँखा आँसुले भरिनु हुँदैन।
छाना चुह्यो — तिमी ओत बन्यौँ
भात नहुदा — तिमी सान्त्वना बन्यौँ,
सपना टुट्दा— तिमी विश्वास बन्यौँ,
जीवन अड्कियो — तिमी बाटो बन्यौँ।
रातभर जाग्राम बसेर मलाई पढ्न लगाइरह्यौ,

आफ्नो थकाइ, आफ्नो पीडा लुकाएर,
तिमीले मेरो उज्यालो भविष्यका लागि
अन्धकार चुम्न सिकायौँ ।
कहिले रुखको छायाँ, कहिले पर्खाल,
कहिले नदी पार गराउने पुल बनी,
तिमीले मेरो जीवनको प्रत्येक मोडमा
अदृश्य भएर साथ दिईरह्यौ।
समयले तिमीलाई चाउरी दियो,
पसिनाले तिम्रो शरीर थाकायो,
तर तिमी कहिल्यै गुनासो गरिनौ,
तिमी त केवल माया बनी, आशिर्वाद बनी।
आज जब म सफलताको शिखर छुन्छु,
तिमी टाढाबाट हेरिरहन्छौ —
सन्तुष्ट आँखाले,
र मेरो खुशीमा आफ्नै जीवन भुलेर।
आमा, तिमी संसारको त्यो शक्ति हौ,
जसले आफैँ सधैं बलिदान दिई,
छोराछोरीलाई निडर बाघ बनाउँछ।
तिमी विना, यो यात्रा सधैं अधुरो हुन्थ्यो।
म भन्छु —
संसारका हरेक पद, हरेक पुरस्कार,
हुन सक्छ थोरै महत्त्वपूर्ण,
तर तिमी जस्तो अमूल्य रत्न, आमा,
कसैले कहिल्यै फेला पार्दैन।
मेरो जीवन तिमीले बुनिदिएको कथाको एक पाना मात्र हो,
अझ धेरै कथा तिमीले आफैँभित्र लुकाएर राखेका छौ।
आमा, तिमी मेरी धरती हौ, मेरो आकाश हौ,
मेरो अस्तित्वको मूल हौ —
म सधैं तिमीमा हराइरहन चाहन्छु।
मेरी आमा ।

प्रकाशित मिति : २०८२ वैशाख १४ गते आइतबार