
आज माता तिर्थ औंसी
आमाको मुख हेर्ने दिन
नेपाल आमा आक्रान्त भएको समय
सन्तानहरु धनको लागि प्रदेशीएको वेला
दुनियाँलाई देखाउन कै लागि
माफ गर आमा,
मैले तिम्रो फोटो फेसबुकमा हालिन !
म सँंग मेरी आमाको फोटो नभएको होइन,
दिलमा बसेको फोटो
मोबाइलको वालमा लिन गाह्रो हुँदो रहेछ ।
मेरो सृष्टीकर्ता, लालनपालन, संरक्षक
तिम्रो सम्मान इज्जतमा दाग लाग्नेकाम
जीवनभर गर्ने छैन, आशीर्वाद पाहिरहुँ
आमा बिरामी हुँदा अस्पताल न लिनेहरु
आमा बोझ ठानेर बृद्धा आश्रम पठाउनेहरु
आमाको जीउनिको लागि मारकाटसम्म गर्न
सतहमा प्रदर्शन गर्ने भाइहरु
आमा तेरो जिम्मा, आमा साइलाको, माइलाको,
कान्छाको हुँदाहुँदा छोरीको र माइतिको
शरणमा पुगाउनेहरुले
आज फेसबुकमा सखारै लेखेको देखें
ह्याप्पी मदर डे !
आमाको माया अनमोल छ
जो अनुभूति गर्नै सकिँदैन
मन रुन्छ, छाती च्यातिन्छ, श्रद्धाले शीर निहुरिन्छ
दशधारा दूध, नौ महिनाको गर्भधारण
सुनौला हजार दिनको तिम्रो संघर्ष
मेरो बालापनको चन्चलताको विरुद्धको खबरदारी
मेरो शिक्षाका लागि बिताएका अनिदा रातहरु
पढ छोरा भन्दै टुक्कीबालेर सगै दिएका साथहरु
कहिले खरी र बोर्ड, कहिले कापी र शिसाकलम
सङलो अक्षर नचिन्ने मेरिआमाले
राम्रो गरेउ छोरा भन्ने ती बातहरु
मैले स्वास्थ्य शिक्षा पढेमात्र
मेरो आमाले कपडा धुने र मलाइ नुहाउने काम खुशिले गर्नु भयो
नङ काट्ने र बालकाट्ने काम आफै गर्नु भयो
कहिल्यै खोज्नु भएन नाइ र हजाम
सबै शीपले पोख्त मेरी आमाले सबैकाम आफै गर्नु भयो
रातिको समयमा जातोमा गौ र चामल पिसेर
बिहानी तारो सगै ढिकिमा मकै कुटेर लुडिको सहारामा
आमाको एकहाते भैंसी, दूध धोएर साँझ बिहान
दिउँसो को अर्नी बिहानको खाना खुवाएर
मेरी आमा जब पठाउनु हुन्थ्यो विद्यालय
लाग्थ्यो आमा उधमशीलताको प्रशिक्षक हो
कृषी, पशु, खाद्य सम्प्रभुताको विश्वविद्यालय
गोठमा बास्ने भालेको आवाज सँगसँगै
गाइको गोबर र रातिमाटोले सुर्योदय पुर्वनै
आमाले दैलो पोतेर हरेक दिनको स्वागत गर्नु हुन्छ
त्यसपछि मेरो घरको दैनिकी सुरु हुन्छ
म र मेरा भाइबहिनीको उज्वल भविष्यका लागि
आमाले गरेका संघर्षहरु, त्याग र बलिदानको लामो कथा छ
आमाको सम्पत्तिमा आँखा लगाएर
आमालाई कुटिबाट सडक हुँदै आश्रम पुराएकाहरुले
दुनियाँलाइ देखाउन मातातीर्थ औँसीको
शुभकामना दिन, आमाको फोटो हाल्न पर्दैन
मेरी आमा आफ्नो घरमा छन सधै सन्तानको भलो चिताउछिन्
हरेक बिहान दैलो लिप्छिन्
हरेक साझ दियो बाल्छिन्
त्यसैले त हामी सधै खुशी छौँ
हरेक दिन माताको आर्शीवाद छ हामीलाई
त्यसैले आमालाई मोबाइलको भित्तामा होइन
मनमा सजाएर राखेका छौँ
आज संयोगले मातातिर्थ औँसी परेको छ
म समग्र आमाहरुको दिर्घ जीवनको कामना गर्दछु ।
भण्डारी, कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री हुन् ।
प्रतिक्रिया दिनुहोस्