कर्णालीमा नागरिक स्वास्थ्य परीक्षण कार्य शुभारम्भ, के हो उद्देश्य ?



सुर्खेत । कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम शुभारम्भ गरेको छ ।

४० वर्ष कटेका प्रदेशभरका नागरिकमा नसर्ने रोगहरु मधुमेह, उच्च रक्तचाप तथा मृगौला रोगको निशुल्क परिक्षणका साथै उपचार गर्ने उद्देश्यले कार्यक्रमको शुभारम्भ भएको हो ।

आइतबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमको शुभारम्भ गरेका हुन् । मन्त्री भण्डारीले पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१३, स्थित गुमी स्वास्थ्य चौकीबाट स्वास्थ्य परीक्षण कार्यक्रमको औपचारिक सुभारम्भ गरेका हुन् ।

सुभारम्भ समारोहमा बोल्दै मन्त्री भण्डारीले १० वटै जिल्लाका सबै स्थानीय तहमा नसर्ने रोगहरुको नियमित परीक्षण तथा उपचार सेवा सुरु भएको बताए । पछिल्लो समय अस्वस्थ खानपान र जीवनशैलीका कारण कर्णालीमा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको उल्लेख गर्दै मन्त्री भण्डारीले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम शुभारम्भ गरिएको बताए ।

४० वर्ष माथिको जनसंख्यामा नसर्ने रोगको परीक्षण गर्नुको मुख्य उद्देश्य कर्णालीको समर्ग स्वास्थ्यको अवस्था पत्ता लगाउनु रहेको मन्त्री भण्डारीले बताए । नसर्ने रोगहरुबाट भविष्यमा निम्तन सक्ने जोखिम न्यूनिकरण गरी स्वस्थ कर्णाली निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको मन्त्री भण्डारीको दावी छ ।

कार्यक्रममार्फत स्कृनिङ्ग गरिएको तथ्यांकको आधारमा भावि स्वास्थ्य रणनीति तय गर्न सघाउ पुर्‍याउने मन्त्री भण्डारीको अपेक्षा छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई नीतिगतरुपमा व्यवस्थित गरी अघि बढाइएको उल्लेख गर्दै मन्त्री भण्डारीले ढक्क भएर सेवा लिन आग्रह गरे ।

मन्त्री भण्डारीका अनुसार कार्यक्रमलाई प्रभावकारी बनाउन कर्णाली सबै पालिकामा स्वास्थ्य प्रवद्र्धनात्मक कार्य सञ्चालन मन्त्रालयको तयारी छ ।

यस्तै, स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक मानकुमारी गुरुङ्गले प्रदेश सरकारद्वारा महत्वका साथ अघि बढाइएको कार्यक्रममा ४० कटेका महिला तथा पुरुषमा नसर्ने रोगको जोखिम कम गर्न स्वास्थ्य परीक्षण प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

नेपालमा नसर्ने रोगहरु दुई तिहाइले बढ्दै गएको उल्लेख गर्नै यसबाट कर्णाली पनि अछुतो नरहेको उनले बताइन । विशेषज्ञ सेवा नपुगेका क्षेत्रका नागरिकको निशुल्क स्वास्थ्य जाँच गरी अवस्था अनुसार उपचारसमेत गरिने गरुङ्गको भनाइ छ ।

आइतबारबाट सुरु गरिएको परीक्षण तीन दिन चल्ने उल्लेख गर्दै यसपछि १० वटै जिल्लामा विभिन्न मितिमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

कार्यक्रम सञ्चालनका लागि जिल्लामा पठाइएको १० लाख बजेटले स्कृनिङ्ग सामग्री खरिद गर्ने र निर्देशालयको व्यवस्थापनमा यस वर्ष नागरिक स्वास्थ्य परीक्षणलाई बृहत बनाईने निमित्त निर्देशक गरुङ्गको दावी छ । आगामी आर्थिक वर्षबाट कर्णालीका ७९ वटै स्थानीय तहसँग समन्वय गरी वडास्तरबाटै परीक्षणलाई नियमित बनाइने उनको भनाई छ । उनका अनुसार ७९ वटै स्थानीय तहको केन्द्रमा रहेका स्वास्थ्य संस्थामा तीन दिन ४० वर्ष माथिका नागरिकहरुको स्वास्थ्य जाँच तथा परीक्षण गरिने छ ।

स्कृनिङ्ग पश्चात देखा परेका नयाँ बिरामीहरुको अन्तिम परीक्षण नजिकको रणनीतिक तथा आधारभूत अस्पतालमा निदान गरी बिरामीलाई औषधीको सुचिश्चिततासँगै सम्बन्धित स्थानीयका वडास्तरमा रहेका स्वास्थ्य संस्थाबाट औषधि उपलब्ध गराइने छ ।

कार्यक्रम अन्तर्गत प्रयोशाला नभएका स्वास्थ्य संस्थामा नमुना संकलन गरी नजिकका रणनैैतिक तथा आधारभूत अस्पतालमा परीक्षणका लागि पठाइने छ । यस्तै, प्रयोगशाला भएका स्वास्थ्य संस्थामा नमुना परक्षणसँगै कैफियत देखिए उपचार गरिने छ । यस्ता स्वास्थ्य संस्थामा उपचार सम्भव नभए जटिलताका आधारमा सुविधा सम्पन्न अस्पतालमा रेफर गरिने नागरिक स्वास्थ्य परीक्षण कार्यक्रममा फोकल पर्सन किरण शर्माले बताए ।

उनका अनुसार बिरामीको जटिलता हेरेर कर्णाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने गरी विशिष्टिकृत अस्पताल तोकिएको छ ।

कार्यक्रमले उक्तरक्तचाप, मधुमेह, दीर्घ श्वाप्रश्वास, मृगौला सम्बन्धी रोग, क्यान्सरलगायत नसर्ने रोग न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको शर्माले बताए ।

 

प्रकाशित मिति : २०८२ वैशाख २१ गते आइतबार