वीरेन्द्रनगरमा लागुऔषधसहित चार जना पक्राउ



 सुर्खेत प्रहरीले वीरेन्द्रनगरका दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, वीरेन्द्रनगर-१० नयाँगाउँबाट तीन जना र गौरीशंकर टोलबाट एक जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापाका अनुसार, लागुऔषध (ट्रमाडोल) को कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले वीरेन्द्रनगर-१० नयाँगाउँबाट तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कालिकोटको रास्कोट नगरपालिका–४ घर भई हाल वीरेन्द्रनगर–२ बस्ने १८ वर्षीय सुनिल शाही, कालिकोटकै तिलागुफा गाउँपालिका–३ घर भई वीरेन्द्रनगर–२ बस्ने १९ वर्षीय नवराज बोहरा र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ घर भई वीरेन्द्रनगर–३ बस्ने १८ वर्षीय दिनेश विष्ट रहेका छन् । प्रहरीले उनीहरूको साथबाट १७३ ट्याब्लेट ट्रमाडोल बरामद गरेको छ ।

यस्तै, प्रहरीले वीरेन्द्रनगरकै गौरीशंकर टोलबाट ४८ वर्षीय श्याम कुमार श्रेष्ठलाई पनि पक्राउ गरेको छ । उनको साथबाट १ ग्राम २८० मिलिग्राम लागुऔषध (ब्राउन सुगर जस्तो देखिने) बरामद गरिएको डिएसपी बुढथापाले जानकारी दिए ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार