रोजगारी दिने नाममा ठगी गर्ने गिरोहका आठ जना सुर्खेतबाट पक्राउ



राम्रो तलबसहितको रोजगारी दिलाइदिने प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरेको आरोपमा एक गिरोहलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्काई ड्रिम ईन्टरपेनर्स प्रालिका सञ्चालक डोटीको सायल गाउँपालिका–२ का २६ वर्षीय नरेश बोहोरा, व्यवस्थापक तथा कर्मचारीहरू दार्चुला महाकाली नगरपालिका–४ का २४ वर्षीय कृष्ण धामी, अछाम कमलबजार नगरपालिका–६ का २४ वर्षीय कमल शाही र २२ वर्षीय रबिन्द्र शाही रहेका छन् ।

‎त्यस्तै, प्रहरीले कर्मचारीहरू कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–२ की २२ वर्षीया मनिषा सिंह, कञ्चनपुर बेल्डाडी गाउँपालिका–१ की २१ वर्षीया निर्मला धामी, बैतडी सिगास गाउँपालिका–६ की २२ वर्षीया सुनिता साउँद र डोटी बडिकेदार गाउँपालिका–४ की २२ वर्षीया कमला चिमालालाई पनि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार, वीरेन्द्रनगर नगरपालिका–३, मुलपानी चोकमा रहेको ‘स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि.’ मार्फत बेरोजगार युवायुवतीलाई ठगी गरिएको हो ।

उक्त कम्पनीले विभिन्न जिल्लाका युवायुवतीलाई सीप सिकाएर राम्रो तलब सुविधासहितको रोजगारी दिलाउने आश्वासन दिई ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

डीएसपी बुढथापाले बताएअनुसार, गिरोहले पीडितहरूलाई वार्षिक २० हजार रुपैयाँ तिरेर खाना–बस्न सहितको सुविधा दिने भन्दै कोठामा राख्ने गथ्र्यो ।

त्यसपछि उनीहरूलाई ‘ग्लोबल ओरियन्स नेपाल प्रालिको नेटवर्किङ मार्केटिङमा आबद्ध गराई विभिन्न प्रलोभनमा पारेर नयाँ सदस्य बनाउन लगाइन्थ्यो।

यसरी नेटवर्कमा जोडिएका हरेक व्यक्तिबाट ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म असुल गरी करोडौंको ठगी गरेको पीडितहरूको जाहेरीमा उल्लेख छ ।

पक्राउ परेका सबै हाल सुर्खेत वीरेन्द्रनगरमा बस्दै आएका थिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको र कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार