जाजरकोटमा फोर्स र जीप दुर्घटनाः २० जना घाइते, ४ जनाको अवस्था गम्भीर



दायाँ बाउसेखोला र बायाँतिर कुदुको दुर्घटना ।

सुर्खेत । जाजरकोटमा छुट्टाछुट्टै भएका दुईवटा सवारी दुर्घटनामा २० जना घाइते भएका छन् ।

सोमबार बिहान साढे ११ बजेतिर भेरी नगरपालिकाको कदुमा भएको फोर्स गाडी दुर्घटनामा १७ जना घाइते भएका छन् भने बाउसेखोलामा भएको दुर्घटनामा तीन जना घाइते भएको जाजरकोट प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी, प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाका अनुसार बा ५ख १८९२ नम्बरको फोर्स गाडी भेरी नगरपालिका–७ स्याउले बजारबाट नेपालगंजतर्फ जाँदै गरेको उक्त गाडी जाजरकोट–छिन्चु सडकअन्तर्गत कुदुमा दुर्घटना भएको हो ।

२१ सवार रहेको गाडीमा १७ जना घाइते भएको र उनीहरुको उद्दार गरी कुदुका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको तिमिल्सिनाले बताए ।

गाडी सडकबाट ५० मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यस्तै बिहान ११ बजेतिर बारेकोटबाट सदरमुकाम खलंगा आउँदै गरेको घ १ ज ५९५ नम्बरको बोलेरो जीप नलगाड नगरपालिका–४ को बाउसेखोलाको जिरो प्वाईन्टमामा दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा घाइते भएका तीन जनालाई जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि पठाइएको प्रहरीले बताएको छ ।
घाइतेमध्ये ४ जनासम्मको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार