
नयाँ दिल्ली । ‘हुन्न’, ‘नाइँ’ वा ‘गर्दिन’ भन्न सजिलो छ जस्तो तपाईंलाई लाग्न सक्छ । तर केही मानिसका लागि ‘नाइँ’ भन्नु भन्दा सहज आफैँलाई चोट पुर्याउनु हुन सक्छ । पत्याउनु भएन ? भारतको गुजरातको यस्तै घटना भएको छ ।
जागिर छाड्न चाहने एक पुरुषले हाकिमलाई म यो जागिरलाई निरन्तरता दिन्नँ भन्न नसकेर आफ्नो चार वटा औँला काटेका छन् । घटना डिसेम्बर महिनाको शुरुको हो ।
आफ्नो बायाँ हातको चार औँला काटियो भन्दै सुरतका बसिन्दा मयुर तारापारा पुलिस थाना पुगे ।आफू मोटरसाइकल चढेर साथीको घरमा गइरहँदा रिँगटा लागेको अनि सडकको छेउमा बसेको तर १० मिनेटपछि होस आउँदा चार ओटा औँला काटिएको उनको भनाइ थियो ।
सुरुमा त प्रहरीले पनि काला जादुको लागि युवकको औँला कसैले काटेर लग्यो होला भन्ने सोच्यो । तर अनुसन्धानका क्रममा उनले सुनाएको कहानीमा कयौँ कुरा सन्दिग्ध देखियो । घटना सुरतको अम्रोली प्रहरी थानामा दर्ता भयो ।
त्यसपछि सहरको अपराध शाखासम्म मामिला पुग्यो । पीडितले भनेको ठाउँको सीसीटीभी क्यामरा हेर्ने क्रममा मयुर चक्रपथको नजिक बाइक राखेर गएको अनि आउँदा चोटग्रस्त हात लिएर फर्किएको देखियो ।
सडकमा उनलाई कसैले पिछा गरेको पनि देखिएन । प्रहरीले केरकार गर्दा युवकले आफैँले आफ्ना औँला काटेको स्वीकारे । आफैँले चक्कु किनेर ल्याएको अनि घटनाको दिन राति १० बजे चार दिनपछि औँला काटेको उनले बताए । चक्कु र काटिएका औँला युवकले झोलामा राखेर फ्याके ।
आफन्तको हिरा कम्पनीमा काम गर्न नचाहेकोले औँला काटेर फ्याकेको सत्य मयुरले हिचकिचाहटको साथमा प्रहरीलाई बताएका थिए । रोजगारदातालाई तिम्रो कम्पनीमा अब उप्रान्त जागिर खाँदिन भन्नुको गाह्रोले उनले औँला नै काटेर फ्याके ।
औँला नभएपछि उनी उक्त कम्पनीमा काम गर्नका लागि योग्य रहँदैनथे । प्रहरीले मयुरको तीन वटा औँलासहितको झोला फेला पारेका छन् । यस घटनाबारे प्रहरीले अरू छानबिन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्