जेलभित्रै कम्युन



जिल्ला पार्टी हेडक्वाटरले गर्ने स्वागत तथा अभिनन्दनको जानकारी पाएका थियौँ । चिङ्गाड खोलासम्म पुग्दा हामी धेरै कुरामा अभ्यस्त भइसकेका थियौँ । उकालो ओरालो हिँड्नु, आवश्यक पर्दा दौडिने र छापामार शैलीमा यात्रा गर्ने बानी परिसकेको थियो । आत्मविश्वास निकै बढीसकेको थियो । के हामी सकौँला ? जेल ब्रेक गर्नु भनेको पहरामा टाउको ठोक्काउनु हो । मूर्खतापूर्ण कदम हो, दुस्साहस हो । अल्लारे पन हो । जस्ता अनेक प्रश्न गर्ने साथीहरूलाई परिस्थितिले जवाफ दिइसकेको थियो । अब भनिरहनु पर्ने थिएन, हामी सक्छौं भनेर । हरेक क्रान्तिकारी कदम सुरुवातमा मूर्खतापूर्ण कार्य जस्तै देखिन्छ । आम मान्छेले असम्भव जस्तै देखेका हुन्छन् । हामी त्यस्तै परिस्थितिमा गुज्रिरहेका थियौँ ।

हामी जेलबाट केवल एक जोर कपडा लगाएर निस्केका थियौँ । बाटोमा नुहाई–धुवाई गरेर सुरुङ भित्रको माटो पखाल्यौं । फेर्ने अर्को जोर कपडा हामीसँग थिएन । पसिनाले निथ्रुक्क भिजेको शरीर आफै सुक्थ्यो र फेरि पसिनाले भिज्थ्यो । यस्तो क्रम निरन्तर चलिरहन्थ्यो । उच्च विचार र आदर्शले हामीलाई यात्रामा अगाडि बढ्न निकै हौसला प्रदान गरिरहेको थियो । हामी जेलबाट निकै टाढा टाढा पुगिसकेका थियौं । सेना र प्रहरीको ब्यारेकबाट कम्तिमा दुई दिनको दुरी टाढा पुगिसकेका थियौं । विश्वास थियो अब हाम्रो खोजी हुने छैन । उता सहरमा हलचल पैदा भएको रहेछ । खैला बैला मच्चिएको रहेछ । जेलर देखि प्रहरीसम्म निलम्बनमा परेका रहेछन् । बन्दीहरूलाई एकएक गरी यातना र सोधखोज भएको रहेछ । नजिक–नजिकका गाउँ बस्तीहरूमा सैनिक र प्रहरीहरूले गस्ती बढाएका रहेछन् । हामी भने आफ्नै सुरले चिङ्गाड खोलाको चिसो पानी पिउँदै आनन्दले काँडाघुवानीको उकालो चढीरहेका थियौँ ।

समाजवाद, साम्यवाद एउटा जटिल विषय बनाएर प्रस्तुत गरिएको हुन्थ्यो । तर त्यसलाई हामीले सरल रूपले जीवन व्यवहारमा जोडेर बुझेका थियौँ । त्यो भनेको सम्पत्तिमाथिको सामूहिक स्वामित्व र समान वितरण । संसारभरिको सर्वोत्कृष्ट सिद्धान्त यदि जीवन व्यवहारमा लागू गर्ने हो भने त्यो जस्तो सरल र उत्कृष्ट जीवन अरु हुनै सक्दैन । जेल जीवन कम्युनिस्ट विचार र सिद्धान्तको आधारमा बिताउने अधिकतम कोसिस गरेका थियौँ ।

जेलभित्र आस्थाका बन्दीहरूको एउटा कम्युन बनाएका थियौँ । राज्यले दिने रासन र भत्ता दैनिक ७०० ग्राम चामल र २०–२५ रुपैयाँ जति हुन्थ्यो । एकजना बन्दीलाई त्यो रकम अपुग हुन्थ्यो ।

तर जब त्यसलाई कम्युनमा परिणत गरियो हामीलाई त्यो पर्याप्त हुन्थ्यो । त्यति मात्र होइन, अन्तिम दिन हामीले जम्मा गरेको केही पैसा, किनेका सामग्री र भाँडाकुँडा समेत वितरण गरेर निस्केका थियौँ । लोभ र स्वार्थमा रहेका कतिपय बन्दीहरूलाई आश्वस्त पार्न हामीले चालेको त्यो कदम पनि प्रभावकारी नै थियो ।

जब खुला संसारमा उन्मुक्तिको अनुभूति गर्दै यात्रा गरिन्छ नि त्योभन्दा आनन्दको क्षण अरु हुनै सक्दैन । हामीले कल्पना गथ्र्यौ जेलमा जस्तै कम्युन समाजमा बनाउन सकियो भने त्यो समाज विकसित भएर संसारभर समाजवादी क्रान्ति गर्दै साम्यवाद सम्म पुग्न सकिन्छ । हामीले माक्र्सवादी ज्ञान र सिद्धान्तका धेरै ठूला पुस्तकहरू पढ्न त पाएनौं तर जति पढ्यौँ र बुझ्यौं सरल र सपाट थियो । हामी उकालो चढेर काँडापोखरीतिर जाँदै थियौँ आकाशमा हेलिकप्टर फेरि घुम्न थाले ।

हाम्रो टोलीको लाइन देखेर होला हेलिकप्टरबाट गोलाबारी सुरु भयो । जीवनमा पहिलोपटक हेलिकप्टरको हमलामा परियो । संयोगले कसैलाई पनि केही भएन । झण्डै एक घण्टा हमला गरेर हेलिकप्टर गयो । त्यसपछि हामी फेरि सकुशल जम्मा भयौँ । लाग्यो कि अझै पनि हाम्रो खोजी भइरहेको रहेछ । राज्यले यति ठूलो शक्ति लगाएर खोज्नु पर्ने भएकोमा गर्व महसुस गरेका थियौँ । सबै साथीहरूमा एउटा नयाँ आत्मविश्वास फेरि जागृत भएको थियो ।….

याे पनि..

‘जेल ब्रेक’ डायरी १ः सुर्खेत ‘जेल ब्रेक’ को इतिवृत्तान्त

‘जेल ब्रेक’ डायरी २जेल तोडेका हामीलाई खोज्न जब तिनवटा हेलिकप्टर परिचालन भए…

‘जेल ब्रेक’ डायरी ३:…अनि खोज्न थाल्यौँ औजार

‘जेल ब्रेक’ डायरी ४:..जब हामी सुरुङ भित्र छिर्ने निर्णायक घडी आयाे

प्रकाशित मिति : २०८१ माघ १० गते बिहीबार