मन्त्री उत्पादनको कारखाना बन्यो कर्णाली, ७ वर्षमा ४ मुख्यमन्त्री, ४१ मन्त्री !



सुर्खेत । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को नाराका साथ अघि बढेको कर्णाली प्रदेश मन्त्री उत्पादनको कारखाना जस्तो बनेको छ । सोमबार कर्णाली प्रदेश सभाले आफ्नो सातौँ स्थापना दिवस मनाएकाे छ ।  यो अवधिसम्म कर्णालीमा ४५ जना सांसदहरु मुख्यमन्त्री/मन्त्री बनेका छन् । ४ जना मुख्यमन्त्री र ४१ जना मन्त्रीहरु बनेका छन् ।

४० सदस्यीय प्रदेश सभा रहेको कर्णालीमा सरकार स्थापनाको पहिलो कार्यकालमा २३ जना र दोस्रो कार्यकालको १९ महिनामा २२ सांसदहरु मुख्यमन्त्री/मन्त्री बने । अहिलेसम्म माओवादीका दुई, कांग्रेस र एमालेबाट १/१ गरी चार जना मुख्यमन्त्री बनेका छन् । मन्त्री हुनेमा सबैभन्दा माओवादीबाट छन् ।

कर्णालीमा तीन ठुला पार्टी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबिच सत्ता फेरबदलको खेती चलिरहेको छ । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’को नारा बोकेको कर्णालीमा सत्ताको स्वार्थका लागि संसदीय इतिहासमै नभएका विकृत अभ्यासहरु समेत भए । सत्ता फेरबदलको खेतीले ‘समृद्ध कर्णाली’ को नाराले सार्थकता पवाउन सकिरहेको छैन ।

सङ्घीयताको पहिलो कार्यकालमा कर्णाली राष्ट्रिय राजनीतिको केन्द्र बन्यो । सुरुमा एमाले–माओवादी बिचको सत्ता समीकरण बन्यो । मुख्यमन्त्री बनेका थिए, माओवादीका महेन्द्रबहादुर शाही । पछि दुई दल मिलेर नेकपा बन्यो भने प्रतिपक्षमा नेपाली कांग्रेस थियो । तर, तत्कालीन एमाले संसदीय दलका नेता यामलाल कँडेलले पटक–पटक मुख्यमन्त्री रहेका शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र आफु मुख्यमन्त्री बन्ने सङ्घर्षमा लाग्दा नेकपा विभाजन मात्रै भएन, उनकै दल एमाले समेत विभाजन भयो ।

त्यो बेलाको राजनीति ‘उलट–पुलट’ को केन्द्र कर्णाली बनेको थियो । यस अर्थमा नेकपा हुँदै एमाले विभाजनको कारक कर्णाली भएको विश्लेषण हुन थालेका छन् । पहिलो कार्यकालमा कर्णालीमा विकृत राजनीतिक अभ्यासहरु भए । तत्कालीन एमालेका केही सांसदहरुले दलको निर्णयविरुद्ध ‘फ्लोर क्रस’ गरे—जुन संसदीय इतिहासमा (नेपालको हक) मा यस्ता अभ्यास कमै भएको पाइन्छ । एमालेका सांसदले ‘फ्लोर क्रस’ गरेर महेन्द्रबहादुर शाहीको सत्ता जोगाइदिएपछि यामलाल कँडेल मुख्यमन्त्री बन्न पाएनन् । बरु प्रत्यक्षतर्फ एक सिट जितेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बने । कर्णालीमा नयाँ–नयाँ राजनीतिक अभ्यास र घटनाक्रम भइरहन्छन् । सत्ता स्वार्थका लागि माओवादीले मुर्ती चोरीको आरोप लागेका एक जना गैर–सांसदलाई समेत मन्त्री बनायो ।

पहिलो कार्यकालमा माओवादीबाट ११, एमालेबाट ४ सांसद मन्त्री बने । पछि दुई जना ‘फ्लोर क्रस’ गरेर ६ महिने मन्त्री बनेका थिए भने एमाले विभाजनपछि दुई जना समाजवादीबाट र चार जना कांग्रेसबाट मन्त्री बनेका थिए ।

  • पहिलो कार्यकालमा मुख्यमन्त्री र मन्त्री बनेकाहरुको विवरण
    १) महेन्द्रबहादुर शाही, मुख्यमन्त्री—माओवादी
    २) नरेश भण्डारी, कानुन मन्त्री— माओवादी
    ३) विमला केसी, कृषि मन्त्री — माओवादी
    ४) गोपाल शर्मा, अर्थ मन्त्री — माओवादी
    ५) सिता नेपाली, कानुन मन्त्री— माओवादी
    ६) गणेश प्रसाद सिंह, जलस्रोत मन्त्री— माओवादी
    ७) कार्चेन लामा, (गैरसांसद) उद्योग, पर्यटन मन्त्री— माओवादी
    ८) विन्दमान विष्ट, अर्थ मन्त्री— माओवादी
    ९) कृष्णा शाह, अर्थ मन्त्री— माओवादी
    १०) रातो कामी, जलस्रोत मन्त्री —माओवादी
    ११) वीरबहादुर शाही, उद्योग, पर्यटन मन्त्री— माओवादी
    १२) दल रावल, सामाजिक विकास मन्त्री— एमाले
    १३) प्रकाश ज्वाला, अर्थ मन्त्री एमाले— (फ्लोर क्रस)
    १४) नन्दसिंह बुढा, उद्योग, पर्यटन मन्त्री — एमाले (फ्लोर क्रस)
    १५) खड्ग खत्री, भौतिक पुर्वाधा मन्त्री — एमाले
    १६) अम्मरबहादुर थापा, भौतिक पुर्वाधार मन्त्री— ‘फ्लोर क्रस) ६ महिने मन्त्री
    १७) कुर्मराज शाही, कृषि मन्त्री — ‘फ्लोर क्रस) ६ महिने मन्त्री
    १८) पदम बहादुर रोकाया, भौतिक पुर्वाधार मन्त्री—समाजवादी
    १९) चन्द्रबहादुर शाही, कृषि मन्त्री —समाजवादी
    २०) जीवनबहादुर शाही, मुख्यमन्त्री —कांग्रेस
    २१) हिमबहादुर शाही, कानुन मन्त्री—कांग्रेस
    २२) यज्ञबहादुर विसी, सामाजिक विकास मन्त्री— कांग्रेस
    २३) दीनबन्धु श्रेष्ठ, जलस्रोत मन्त्री— कांग्रेस

दोस्रो कार्यकाल
प्रदेश सभाको दोस्रो कार्यकालको यो अवधिसम्म २२ जना सांसदहरु मुख्यमन्त्री/मन्त्री बनिसकेका छन् । त्यसमा दुई मुख्यमन्त्री र २० जना मन्त्री बने । ०७९ मङ्सिरमा भएको प्रदेश सभाको चुनावपछि कर्णालीको तेस्रो मुख्यमन्त्री (दोस्रो कार्यकालको पहिलो) बने, माओवादी संसदीय दलका नेता राजकुमार शर्मा।

एमालको समर्थनका २७ पुस ०७९ मा मुख्यमन्त्री बनेका उनको सरकार १५ महिना अर्थात ०८० चैत्र २७ गतेसम्म टिक्यो ।उनको अवधिमा उनीसहित माओवादीबाट ५, एमालेबाट ३, कांग्रेसबाट ३ ११ जना सांसदहरु सरकारमा गए । दुई पटक सत्ता समीकरण फेरबदल भयो ।

  • शर्माको कार्यकालमा मन्त्री भएकाहरु
    १. राजकुमार शर्मा, मुख्यमन्त्री—माओवादी
    २. मंगलबहादुर शाही, भौतिक मन्त्री—माओवादी
    ३. कृष्णबहादुर जिसी, कानुन मन्त्री—माओवादी
    ४. भीमप्रकाश शर्मा, कृषि मन्त्री—माओवादी
    ५. उर्मिला विश्वकर्मा, जलस्रोत मन्त्री—माओवादी
    ६. टेकराज पछाई, सामाजिक विकास मन्त्री—एमाले
    ७. जीतबहादुर, मल्ल उद्योग, पर्यटन मन्त्री—एमाले
    ८. विनोदकुमार शाह, अर्थ मन्त्री/कृषि (२)—एमाले
    ९. बेदराज सिंह , अर्थ मन्त्री—कांग्रेस
    १०. खड्ग पोख्रेल, सामाजिक विकास मन्त्री—कांग्रेस
    ११. कृष्ण कुमार विसी, उद्योग, पर्यटन मन्त्री—कांग्रेस

केन्द्रमा कांग्रेस–माओवादीको समीकरण टुटेर एमाले–माओवादी समीकरण बनेपछि ०८० चैत्र २७ गते दोस्रो कार्यकालको दोस्रो मुख्यमन्त्री बने, एमाले संसदीय दलका नेता यामलाल कँडेल । ०७४ मै मुख्यमन्त्री बन्ने सपनासहित प्रदेश झरेका उनको सपना बल्ल पुरा भयो ।

सुरुमा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका उनी अहिले कांग्रेसको समर्थनमा सत्ता चलाइरहेका छन् । असारतिर गठबन्धन बदलिएपछि माओवादी सरकारबाट बाहिरियो भने कांग्रेस इन भयो ।

कँडेल नेतृत्वको सरकारमा अहिलेसम्म माओवादीबाट ५, एमालेबाट उनीसहित ४ र कांग्रेसका चार सांसद मन्त्री बने ।

  • कँडेलको कार्यकालको अहिलेसम्म मन्त्री बनेकाको विवरण
    १. यामलाल कँडेल, मुख्यमन्त्री—एमाले
    २. शेरबहादुर बुढा, भौतिक मन्त्री—एमाले
    ३. गमता विक, भौतिक राज्यमन्त्री—एमाले
    ४. महेन्द्र केसी, अर्थ मन्त्री—माओवादी
    ५. रणसिं परियार, जलस्रोत मन्त्री—माओवादी
    ६. दुर्गबहादुर रावत, उद्योग, पर्यटन मन्त्री—माओवादी
    ७. वीरबहादुर शाही, सामाजिक विकास मन्त्री—माओवादी
    ८. घनश्याम भण्डारी, सामाजिक विकास मन्त्री—कांग्रेस
    ९. राजीवविक्रम शाह, अर्थ मन्त्री—कांग्रेस
    १०. विजया बुढा, जलस्रोत मन्त्री—कांग्रेस
    ११. सुरेश अधिकारी, उद्योग, पर्यटन मन्त्री—कांग्रेस

कतिपय सांसदहरु पटक–पटक मन्त्री बनेका छन् । माओवादीका वीरबहादुर शाही पहिलो कार्यकालमै पर्यटन मन्त्री थिए । तर दोस्रो कार्यकालमा पनि छोटो समय सामाजिक मन्त्री बने । राजाकै पालामा केन्द्रीय राज्यमन्त्री भएका विनोदकुमार शाह दोस्रो कार्यकालमै दुई पटक मन्त्री भइसकेका छन् ।

कर्णालीमा प्रदेश सभाको यो अवधिमा चार वटा प्रदेश प्रमुख फेरिए । पहिलो पटक ०७४ मा कांग्रेसको कोटाबाट प्रदेश प्रमुख दुर्गाकेशर खनाल बने । उनी वीरेन्द्रनगरबासी हुन् । उनी ०७६ कार्तिक ७ गतेसम्म कर्णालीको प्रदेश प्रमुख रहे ।

पछि केपी ओली नेतृत्वको सरकारले उनलाई हटाएर ०७५ कार्तिक १८ गते एमाले नेता गोविन्द प्रसाद कलौनीलाई प्रदेश प्रमुख नियुक्त गर्‍यो । उनी सुदूरपश्चिमका हुन् । कलौनी ०७८ कार्तिक २३ गतेसम्म कर्णालीको प्रदेश प्रमुख रहे । त्यसपछि नेकपा माओवादीको कोटाबाट प्रदेश कर्णालीको प्रदेश प्रमुख भएर लुम्बिनी प्रदेशको बाँकेका तिलक परियार आए ।
अहिले उनलाई हटाएर फेरि कञ्चनपुरका यज्ञराज जोशी प्रदेश प्रमुख छन् ।

सभाको यो अवधिमा दुई जना सभामुख र दुई जना उपसभामुख बने । पहिलो कार्यकालमा एमालेको तर्फबाट सभामखु राजबहादुर शाही बनेका थिए भने अहिले पनि एमालेकै तर्फबाट नन्दा गुरुङ्ग सभामुख छिन् । यस्तै पहिलो कार्यकालमा माओवादीका तर्फबाट पुष्पा घर्ती (विष्ट) उपसभामुख थिइन् भने अहिले पनि माओवादीकै तर्फबाट यशोदा न्यौपाने उपसभामुख छिन् ।

केन्द्रको ‘इफेक्ट’ सिधै प्रदेशमा
केन्द्रमा केही राजनीतिक घटनाक्रम घट्यो कि, त्यसको प्रत्यक्ष असर प्रदेशमा पर्छ । अस्थिर राजनीति र गठबन्धन फेरबदलले विकासका कामदेखि नीति, निर्माणमा समेत असर पर्छ । गरिबी र विकासका दृष्टिकोणले सबैभन्दा कमजोर रहेको कर्णालीमा सङ्घीयताको यो अवधि सत्ताको फेरबदलमै बितेको छ ।

यसरी हेर्दा राजनीतिक दलहरु विकास र समृद्धिको बाटोतर्फ अग्रसर हुने भन्दा सत्ता स्वार्थको लागि सरकार बनाउने र भत्काउनेमा केन्द्रीत भएका देखिन्छन् । जसका कारण सङ्घीयतामाथि प्रश्न उठिरहेको छ ।

यो अवधिमा कर्णालीमा न प्रयाप्त कानुन निर्माण हुन सके, न यहाँ आत्मनिर्भर प्रदेशका लागि बहस, छलफल बने । न विकासका कामहरु हुन सके । प्रदेश बनेदेखि देखिने गरी बनेको एकमात्र गौरवको संरचना हो, वीरेन्द्रनगरस्थित रङ्गशाला । प्रदेश सरकारको आफ्नो कुनै आम्दानी नहुँदा पुर्ण रुपमा केन्द्रमा निर्भर छ । तरपनि यहाँका राजनीतिक दल र नेताहरु त्यतातर्फ गम्भीर छैनन् ।

 

 

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमबार