
कविता
गणतन्त्रको बिरुवा त रोपियो,
धर्तीमा गाडियो
जनताको पसिनाले भिजेको माटोमा।
तर मलजल? कुनै दिन आएन,
पानीको थोपा जस्तै विश्वास हरायो ।
छायाँ दिने आशामा बस्दा ,
पातहरू पहेँलपुरिए,
बुख्याचा हरु को संरक्षणमा
जरा सुक्न थाले, मौन छटपटाहटमा।
नेताहरू आएर बगाले आश्वासनको बाडुलो,
तर बाडुलो हावाजस्तै खोक्रो
उनीहरू गिज्याइरहे,
भन्छन् :
“हेर, बिरुवा त अझै उभिएको छ !”
तर भित्रभित्रै,
जीवन त ओइलिसकेको छ।
ओइलिएको पात झर्ने क्षण,
कागहरू पर्खिरहेका छन्
जुनबेला उनीहरूले चिथोर्न पाउन्
मरेका सपनाहरू।
जनता हेर्छन् —
न पल्लो घाम छ,
न पानीको आशा।
उनीहरूको नजरमा प्रश्नहरू छन् :
“कसको हो यो गणतन्त्र?
हाम्रो त पक्कै होइन!”
– जैसी सरकार
प्रकाशित मिति : २०८१ चैत २३ गते आइतबार
प्रतिक्रिया दिनुहोस्