सुन्दर मुहारमा फसेको दिन



कविता

नयनको जालमा उल्झिएँ म,
बेहाल बनायो त्यो एक नजरले।
मुस्कानले टिप्यो मनको सुवास,
सपनाजस्तै लाग्यो त्यो भेटले।

लाजले रातोपिरो मुहार उसको,
तर नजर बोल्थ्यो बेग्लै कथा।
हावाले उडायो केशको धून,
म भुलिएँ त्यो मधुर क्षणमा।

शब्दहरू रोकिए, मौनता बोल्यो,
मुटुको तालले व्याख्या गर्‍यो।
समय स्थिर, धड्कन तीव्र,
एक झल्कोले बनायो अधीर।

घामपानी जस्तै अनौठो माया,
सपनाभन्दा सुन्दर त्यो क्षण।
सम्हाल्न खोज्दा हराएँ अझै,
नजरको गहिराइमा बिलाएँ।

प्रेम थियो कि मोहमात्र,
अझै बुझ्न सकिनँ त्यो अनुभूति।
फेरि भेट्ने आशामा बाँचेको छु,
सुन्दर मुहारको याद बोकेर।

लेखक : मदन बहादुर थापा, कालिकोट

 

प्रकाशित मिति : २०८२ वैशाख २८ गते आइतबार