‘जापानिजहरुले आउने बित्तिकै सबै काम गरिदिओस् सोच्दा रहेछन्’



विदेश जाउँला, कल्पना नै नगरेको काम गर्नुपर्ला भन्ने कहिल्यै सोचेका थिएनन्, उनले । बरु राम्रोसँग अध्ययन गर्ने, यही देशमा स–सानो भएपनि जागिर खाने सानैदेखिको लक्ष्य थियो । अनि बुबा–आमालाई खुसी पार्ने चाहना । तर मान्छेले सोचेजस्तो कहाँ हुन्छ र ! २३ वर्षीय निराजन थापा परिस्थितिले आफ्नो सोचाइ भन्दा टाढाको बाटो अङ्गाल्न पुगे ।

टेर्निङ भिसामार्फत उनी ०८० माघ १ गते काठमाडौँको त्रीभुवन अन्तराष्ट्रिय विमानस्थलबाट जापानका लागि उडे । सुरुमा जापानिज भाषा पढेरै जान चाहेका थिए उनी । तर त्यसमा सफल हुन सकेनन् । जुन ठाउँमा भाषा पढेका थिए त्यही कन्सल्टेन्सीकै सहयोगमा टेर्निङ भिसामार्फत सपनाको देश जापान जान तयार भए । पश्चिम दैलेखको दुर्गम ठाटीकाँध गाउँपालिका—६, पाँचलाको थापा टोलका उनी पहिलो पल्ट किताबमा पढेको जापान भन्ने देश जाँदै थिए ।

मन विचलित थियो—कस्तो होला जापान, त्यहाँ त हरेक काम सजिलो हुन्छ होला । त्यही भएर त सबैको रोजाइको देश बन्यो ।
उनलाई जापान जान हौस्याउनेहरुले पनि त्यस्तै भनेका थिए रे । उनी जापान जानुको उद्देश्य थियो—पैँसा कमाउने र परिवारलाई खुसी बनाउने ।

उनको सोचाइ थियो, जापानमा त सजिलै पैँसा कमाउन सकिन्छ । ‘घरको जेठो छोरो, परिवारको जिम्मेवारी काँधमा, काठमाडौँ बस्दाबस्दा खर्च पनि टन्नै भइसकेको थियो,’ हाल जापानको खानागावा प्रान्तको एविना भन्ने ठाउँको एक फलाम कारखानामा काम गर्दै आएका थापाले भने, ‘जसरी हुन्छ, पैँसा कमाउनुपर्छ, त्यसका लागि जापान नै जानुपर्छ ।’

पछिल्लो समय जापान जाने लहर नै चलेको छ । कतिपयका लागि सपनाको देश हो, जापान । उनलाई पनि लाग्यो, त्यहाँ त हरेक काम सजिलो हुन्छ होला । त्यही कारणले त जापान सबैको रोजाइको देश बन्यो ।

केही खुसी, केही आसा बोकेर २१ वर्षमै उमेरमा उनी पराई भूमि जापानको नारिता विमानस्थलमा ओर्लिए । ‘विमानस्थल भन्दा बाहिर निस्कनासाथ मेरो खुसी दुगुना भयो,’ उनले सुरुवाती क्षण सम्झिए, ‘किनभने विमानस्थलमा नै कम्पनीको मान्छे लिन आएका थिए ।’

विमानस्थलको आवागमन कक्षमा कुरेर बसेका सरकारी प्रतिनिधिले गरेको स्वागत देखेर उनको खुसीको सीमा नै रहेन । त्यहाँबाट तालिम केन्द्रमा लगियो ।

उनलाई काठमाडौँमा भनिएको थियो—कन्ट्रक्सन लाइनमा हो, प्लस टु पढेको युवा चाहियो । ८ जनामध्ये प्रतिस्पर्धा गर्दा उनीसहित दुई जना पास भए । पहिला तालिम लिनुपर्छ अनि काममा लान्छ भनेर भनिएको थियो रे ।

उनलाई १ महिना तालिम केन्द्र भन्ने ठाउँमा राखियो । तर त्यहाँ के काम हो ? त्यो विषयमा तालिम दिइएन । खाने, बस्ने, रमाइलो गर्ने यसरी नै महिनादिन बितेको उनी बताउँछन् ।

त्यसपछि कम्पनीकै साहुनै तालिम केन्द्रमा लिन आए । निराजन झन खुसी भए । तर उनको खुसी लामो समय टिकेन । हर्लक्क बढेको खुसी र उत्साह बोकेर निराजन जब कम्पनीको कार्यालयमा पुगे, छाँगाबाट खसेजस्तो भए ।

‘मेरो खुसी अनि अनुहारको चमक हरायो, शरीर भतक्क थाकेर गलेजस्तो भयो, अगाडी बढ्दै गरेका मेरा खुट्टाहरु काँप्न थाले,’ उनले त्यो क्षण सम्झिए, ‘कारण हो, जिन्दगीमा कहिल्यै नदेखेको काम गर्नुपर्ने रहेछ, फलाम कारखाना ।’

उनका अनुसार उक्त कम्पनीमा फलामका थुप्रै डिजाइन गरिएका सामान र ठुला पहाड जत्रा मेसिनहरु थिए । र, उनले गर्नुपर्ने काम—फलामको सामानले घरको बाहिर सेटिङ गर्ने । त्यस्ता अचम्मका मेसिन उनले नेपालमा कहिल्यै देखेका थिएनन् ।

‘काम गर्नुपर्ने बाध्यता थियो सुरु गरें, सुरुमै त्यहाँ काम गरिरहेका पुराना मान्छे बराबर काम गर्न आउने कुरा भएन,’ उनले भने, ‘तर जति प्रयास गरेपनि साहुको चित्त कहिल्यै नबुझ्ने । अनेक टोकसो सहनुपर्ने ।’

उनका बुझाइमा ‘यो नयाँ आएको मान्छे हो, बिस्तारै सिकेर काम गर्छ’ भन्ने नहुने रहेछ । त्यो वेला नेपालमा कठिन परिस्थितिका वेला सबै मिलेर काम गर्ने गरेको कुरा सम्झिएको उनी बताउँछन् ।

‘जापानिजहरुले आउने बित्तिकै सबै काम गरिदिओस् सोच्दा रहेछन्,’ उनले भने, ‘यिनीहरुको यस्तो सोच मलाई एकदमै नराम्रो लाग्छ ।’

त्यसमा आफ्नो पनि कमजोरी रहेको उनी बताउँछन् । जापान जानुअघि आफू काम गर्ने कम्पनी कुन हो ? त्यसमा के काम गर्नु पर्छ भन्ने विषयमा पुर्ण जानकार थिएनन् उनी । ‘एक्कासि जापान पुगेर पहाड जत्रा मेसिन र यस्तो कामको बोझ झेल्नुपर्छ भन्ने सोचेकै थिएन,’ उनी भन्छन् ।

उनका अनुसार त्यहाँ दैनिक ७ः३० घण्टाका दरले साताको ६ दिन काम गर्नुपथ्र्यो । कहिलेकाहीँ ‘ओभरटाईम’ पनि हुन्थ्यो । काम निकै गाह्रो । विमानस्थलमा बडो भलाद्मी बनेर गएका तिनै साहुले छिटो–छिटो काम गर भनेर दबाब दिइरहन्थे ।

उनी भन्छन्, ‘फलाम कम्पनी हो भनेपछि मैले सामान्य काम होला सोचें, यसरी पेलिएर काम गर्नपर्छ भनेर त सोचेकै थिएन ।’
जापान पुगेपछि उनमा अर्को समस्या थियो, खान नरुच्ने, निन्द्रा नलाग्ने ।

‘एकातिर साहुको टोकसो, अर्को खाना नरुच्ने र निन्द्रा नलाग्ने समस्याले निकै तनाव हुन्थ्यो,’ त्यो क्षण सम्झदै उनी भन्छन्, ‘कताकता म डिप्रेसनमा त गइँन भन्ने सोचाइ आउँथ्यो ।’

लगभग २ महिनाजति काम गरिसकेपछि मात्रै आफुलाई केही सहज लाग्न थालेको उनले बताए । तर पनि साहुको टर्चरले उनलाई सँधै चिन्ताले पिरोलिरहन्थ्यो ।

अर्कोको ठाउँमा जतिसुकै नेपाली भएपनि साथ, सहयोग पाउन गाह्रो हुने उनी बताउँछन् ।

लोकसेवा तयारीका लागि काठमाडौँ गएका थिए, उनी

निराजनको जीवनको लक्ष्य थियो—लोकसेवा लडेरै भएपनि जागिर खाने । गाउँको भित्तामा अडिएको पुरानो घर छ । उक्त घरलाई नयाँ बनाउने अनि परिवारलाई खुसी राख्ने चाहना थियो रे ।

११ र १२ कक्षाको अध्ययन गाउँमै पढे । त्यसपछि ०७६ सालतिर १७ वर्षकै उमेरमा लोकसेवा आयोग नै तयारी गर्ने भनेर संघीय राजधानी काठमाडौँ छिरे । काठमाडौँ उनका लागि सपनाको सह थियो ।

मनका केही आसा, केही भरोसा अनि आखाँभरी आँसु बोकेर घरबाट निस्किएको उनलाई ताजै लाग्छ ।
उनका अनुसार काठमाडौँको बसाइ सुरुसुरुमा त रमाइलो लाग्यो । समय बित्दै गयो । उनी भन्छन्, ‘सँधै घरबाट पैँसा माग्न मन नलाग्ने ।’

बुबाले स्थानीय बजारमा सानो कपडा पसल चलाएका थिए । गाउँमा उधारो चलाउनुपर्ने, व्यापार खासै नहुने । जसोतसो घरखर्च चलेपनि घाटामै व्यापार । आर्थिक अवस्था सुधार हुनुको साटो ऋणमाथि ऋण थपिँदै गयो ।

बुबाको अवस्था देखेर उनको मन बदलियो । लोक सेवाको तयारीमा गएका उनले एक पटक राष्ट्रिय अनुसन्धान आयोगमा प्रतिस्पर्धा गर्न फारम भरे । तर उमेरका कारण उनले परीक्षा दिन पाएनन् ।

त्यसपछि उनको मन बदलियो । देशको परिस्थिति हेर्दापनि नेपालमा केही गर्न सकिन्न कि भन्ने मनमा कुरा खेल्ने थालेको थियो रे । उनी भन्छन्, ‘विदेश गएर आफ्नो श्रम बेचेर पैँसा किन्न रहर जाग्यो । त्यसपछि जापानिज भाषा पढ्न थालें ।’

तर भाषा परीक्षामा पनि सफल हुन सकेनन्, उनी । ‘समय बित्दै गयो, गाउँबाट कहिले जापान जान्छस् भनेर मान्छेहरु भन्न थाले,’ उनी भन्छन्, ‘जसरी हुन्छ जापान पुग्नु थियो । अनि टेर्निङ भिसामार्फत जाने निर्णय गएँ ।’

जापान जानेवेला ८ लाख रकम खर्च भएको उनले बताए । त्यो पनि ऋण नै थियो । उनका अनुसार सुरुमा कम्पनीले खान दिएको थियो न बस्न । सबै कुरा आफैले व्यवस्थापन गर्नुपर्ने थियो ।

कम्पनीमा काम गर्न सुरु गर्दा उनको तलब १ लाख ७७ हजार नेपाली थियो । एक वर्षदेखि १ लाख ९८ हजार भएको उनी बताउँछन् ।

तलब जतिधेरै भएपनि जापानमा पैँसा बचाउन नसकिने उनी बताउँछन् । ‘यहाँ हरेक कुरामा कर छ, तलबको ५० प्रतिशत रकम त जापानमै खर्च हुन्छ,’ उनी भन्छन् ।

घरमा उनको बुबा—आमा, भाइ र बहिनी गरी चार जनाको परिवार छ । बहिनीले यो पटक कक्षा १२ को परीक्षा दिइन् । भाइले सुरुमा लाहुरेको तयारी गरेको थियो ।

तर उनको दाँतमा समस्याका कारण खर्च धेरै लाग्ने हुँदा अहिले कोरीया जाने तयारी गरिरहेको छन् । भाइसँगै आफ्नै काका पनि बस्छन्, काठमाडौँमा । सबैलाई निराजनले हेर्दै आएका छन् ।

‘म जापान आउनेवेला करिब २० लाख बराबर ऋण थियो, हामी जस्ता सर्वहारा वर्गका मान्छेलाई यो ठुलो रकम हो,’ उनी भन्छन्, ‘अहिलेसम्म ८ लाख बराबर ऋण तिर्न सकेको छु ।’

फर्केर केही गर्ने सपना

निराजनको अहिले पनि काम त्यही फलाम कम्पनी अन्तर्गत घर बाहिरको सेटिङको सामान बनाउने हो । ३८—४० डिग्रीको घाममा पेलिएर काम गर्दा पनि जापानिजहरुले टोकसो गर्न छाड्दैनन् रे ।

अनि निराजनलाई कहिलेकाहीँ लाग्छ—जापानिजहरुको टोकसो सहेर बसिरहनु भन्दा बरु आफ्नै देशमा फर्केर केही गर्नुपर्छ ।
तर घर–परिवार र बाँकी रहेको ऋण सम्झँदा मन समाल्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।

उनले भावुक हुँदै एक स्मृति सुनाए—एक दिन काम गर्दागर्दै खुट्टा मर्कियो । जसोतसो कोठमामा त फर्किन सकें तर भोलि बिहान काममा जान नै नस्कने भएँ । कम्पनीको मालिकलाई फोन गरेर आज काममा आउन सक्दैन भनें । तर मालिकले यसरी कहाँ हुन्छ ? काम त जसरी पनि गर्नुपर्‍यो भनेर रिसायो ।

जापानमा मालिकले मजदुरमाथि गर्ने व्यवहारले दिक्क लाग्ने गरेको उनी बताउँछन् ।

‘मैले साहुबाट यस्तो जवाफ आउला सोचेकै थिएन,’ उनी थप भन्छन्, ‘जापानिजहरुमा दया–माया भन्ने नहुने रहेछ । बिरामी हुँदा अस्पताल जाऊ भन्नू त कहाँ हो कहाँ उल्टै जसरी पनि काममा आऊ भन्छ ।’

अर्काको देशमा मालिकमाथि प्रश्न पनि उठाउन नसकिने । अहिले बिस्तारै बानी पर्दै गएको उनी बताउँछन् । अहिलेसम्मको अनुभव साँट्दै उनी भन्छन्—बिरामी भइएन भने जस्तोसुकै काम भए पनि गर्न सकिन्छ भन्ने आँट आउँछ ।

जापानको डेढ बर्षको बसाइले पैसा भन्दापनि बढी मेहनत गर्न सिकिएको उनी बताउँछन् ।

‘यदि यही मेहनत नेपालमा नै गरेको खण्डमा असम्भव केही छैन भन्ने लाग्छ,’ उनले भने, ‘यहाँ काम गर्ने, तलब पाउने सबै कुरा सिस्टममा हुन्छ । यहाँका साहुले नेता चिन्नु पर्दैन । यो तरिकाले काम गर्छु भन्दा नेपालमा सकिन्न कि जस्तो लाग्छ ।’

उनका अनुसार जापानमा सबैभन्दा बढी समयको महत्त्वो हुन्छ । जापान, कोरीया, अमेरिका गएपछि दुख हुँदैन, मलेसिया, कतार, दुवैमा मात्र दुख हुन्छ सोच्दछन् । दुख सबै देशमा उस्तै हुने उनको अनुभवले बताउँछ ।

जापान जानेहरुलाई उनी सुझाव दिन्छन्—जापान भन्ने बित्तिकै २०/३० लाख खर्च गर्न तयार हुन्छन् । तर जापानमा धेरै गार्‍हो छ, हामीले सोचेको जस्तो जापान रहेनछ ।

‘अर्काको देशमा ४० डिग्री घाममा काम गर्न सक्नेले आफ्नो देशमा केही गर्न नसक्ने भन्ने हुँदैन भन्ने सोच्छु,’ उनी भन्छन्, ‘अब म आफ्नै देशमा केही गर्ने जोस, जाँगर र हिम्मत बटुलेर फर्कने छु ।’

 

प्रकाशित मिति : २०८२ जेठ १३ गते मंगलबार