
सुर्खेत । बीमा सेवा प्रवाहमा सक्रिय सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले सुर्खेतमा भएको एक आगलागी घटनापछि उल्लेखनीय बीमा दावी भुक्तानी गर्दै आफ्नो सेवाप्रति प्रतिबद्धता देखाएको छ।
बिरेन्द्रनगर–०३ सुर्खेतस्थित टिका वली स्टोरमा २०८२ साल बैशाख २५ गते राति आगलागी हुँदा ठूलो मात्रामा क्षति पुगेको थियो। सो घटनामा कम्पनीले रु. २ करोड बीमा दावी भुक्तानी गरेको जनाएको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका दावी विभाग प्रमुख तथा महाप्रबन्धक नवराज पराजुलीका अनुसार आगलागीपछिको क्षतिको विवरण कम्पनीबाट खटाइएको सर्भेयरले संकलन गरी असार २६ गते प्रतिवेदन बुझाएको थियो। त्यसपछि १५ दिनभित्रै दावी रकम भुक्तानी गरिएको जानकारी उनले दिए।
महाप्रबन्धक पराजुलीका अनुसार, अघिल्लो आर्थिक वर्षमा कम्पनीले १७ हजार ७ सयभन्दा बढी दावीहरू भुक्तानी गर्दै रु. ३ अर्ब ४१ करोडभन्दा बढीको बीमा रकम भुक्तानी गरिसकेको छ।
उक्त दाबी भुक्तानी कार्यक्रम सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको कर्णाली प्रदेश कार्यालयले आयोजना गरेको थियो। कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारीहरू, इन्स्योरेन्स कम्पनीका उच्च पदस्थ कर्मचारीहरू र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश कार्यालय प्रमुख राकेश विसीले यस घटनालाई प्रदेशमै हालसम्मको सबैभन्दा ठूलो बीमा दावी भुक्तानी भएको बताए। उनले भने, “यस्ता आकस्मिक घटनामा परेका बीमितहरूको समस्या समाधानमा हामी सधैं अग्रसर रहन्छौं।”









प्रतिक्रिया दिनुहोस्