
दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा ७ जना उम्मेदवार बनेका छन् ।
कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादीबाट जंगबहादुर बराल मगर, एमालेबाट जंगबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जगत बहादुर हमालको उम्मेदवारी दर्ता भएको छ । यस्तै राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गबहादुर मगरलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवारी ७ जनाको दर्ता भएपनि कांग्रेस, एमाले, माओवादी र रास्वपाका उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । उम्मेदवारहरु यतिबेला घरदैलो अभियानमा व्यस्त छन् ।
१२ हजार ६१४ मतदाता रहेको महावुमा यो पटक निकै कम मत खस्ने आकलन छ । अधिकांश पुरुषहरु रोजगारीको लागि भारत र युवाहरु अध्ययनको सिलसिलामा जिल्ला बाहिर छन् ।
उम्मेदवारकाहरुका आ–आफ्नै दाबी
०७९ सालको निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर विजयी भएका थिए । ०७९ माघ २७ गते उनको हृदयघातका कारण मृत्यु भयो ।
गुरुङका निकटम प्रतिस्पर्धी एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत पाएका थिए भने नेकपा एकीकृत समाजवादीका जंगबहादुर शाहीले २ हजार २६९ मत पाएका थिए । यहाँ माओवादीले उम्मेदवार उठाएको थिएन् ।
पहिलो पटक निर्वाचनमा भाग लिएको रास्वपाका उम्मेदवार प्रकाश कुमार बुढा पुराना राजनीति दलप्रति जनताको वितृष्णा बढेको र जनता परिवर्तनको पक्षमा रहेको बताए ।
उनी भन्छन्, ‘जनताले परिवर्तन खोजीरहेका छन् । रास्वपा परिवर्तनको पक्षधर पार्टी भएकाले यो पटक महावुमा रास्वपाको पक्षमा नतिजा आउँछ भन्ने लागेको छ ।’
घरदैलो अभियानको क्रममा प्राप्त गरेको प्रतिक्रिया अनुसार कांग्रेससँग रास्वपाको प्रतिस्पर्धा हुन्छ कि भन्ने लागेको उनको भनाइ छ । साथै उनले जनताको आशा र भरोषाले हेर्दा चुनाव जित्ने विश्वास बढेको पनि बताए ।
याे पनि..
उपनिर्वाचनमा भाग लिँदै रविको पार्टी: पुर्व ठेकदार बने महावुको अध्यक्षको उम्मेदवार
यता कांग्रेसका उम्मेदवार झलकबहादुर भण्डारीले भने ३–४ सय मतान्तरले चुनाव जित्ने दाबी नै गरे । साथै उनले रास्वपालाई प्रतिस्पर्धी नै मान्दैनन् ।
उनी भन्छन्, ‘अहिले यहाँ समाजवादीको उम्मेदवारले एमालेलाई सहयोग गरेजस्तो छ, उहाँले भोट नै नमागेको अवस्था छ । त्यसैले एमाले नै कांग्रेसको प्रमुख प्रतिस्पर्धी हो । रास्वपा चौथो हो ।’
आफु युवा भएको, फरक तरिकाले जनतामाझ प्रस्तुत भएको र आफैपनि ग्रामिण विकास पढेको मान्छे भएकाले महावु बनाउने प्रष्ट भिजन आफुसँग भएको बताउँदै भण्डारीले आफु नै जितको हकदार रहेको बताए ।
माओवादीका उम्मेदवार जंगबहादुर बराल मगरले भने आफुले चुनाव जितिसकेको बताए । ‘अहिलेसम्म चार वडामा घरदैलो कार्यक्रम सकियो, नेतृत्वमा पुगेका कांग्रेस र एमालेले खासै काम गर्न सकेनन्, उनीहरु जितेर गाउँ फर्किएनन्, अहिले चुनावको बेला मात्रै आउँछन् भनेर जनताले भनिरहेका छन्,’ उनले भने, ‘यो पटक तपाईँलाई नै हाम्रो सहयोग भनेर भनिरहेका छन् ।’
याे पनि..
माओवादीबाट महावु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा बराल
कांग्रेस, रास्वपाको युवा उम्मेदवारप्रति लक्षित गर्दै उनले उमेरले युवा भएपनि राजनीतिक रुपले युवा नभएको बताए । अगाडि उनले थपे, ‘चुनाव जितिसकेको अवस्था छ । जनताले पनि यो विजय हो भनेर भनिरहेका छन् ।कांग्रेस–एमालेबाट जनताको मुक्ति सम्भव छैन । पार्टी पुरानै भएपनि माओवादीले निकास दिनसक्छ भनेर हामीप्रति जनताको विश्वास हो ।’
उनले यो पटक बढीमा ७ हजार मात्रै मत खस्ने हिसाब सुनाए । त्यसको आधारमा करिब २४ सयको हाराहारीमा मत ल्याएर चुनाव जित्ने उनको आकलन छ । यता एमालेका उम्मेदवार रहेका जंगबहादुर शाहीले भने खस्ने मतको ६० प्रतिशत मत ल्याएर चुनाव जित्ने दाबी गरे ।
उम्मेदवार दर्ता गर्ने समयभन्दा केही दिनअघि मात्रै एमाले प्रवेश गरेका उनले आफु समाजवादी र एमाले दुबै पार्टीको उम्मेदवार भएको बताए ।
जनताले आफुलाई नै चाहेको बताउँदै उनी भन्छन्, ‘विगतमा म अध्यक्ष भएकाबेला गरेका काम कांग्रेस नेतृत्वको सरकारले लथालिङ्ग पारेको छ । ती कामलाई मुर्तरुप दिन, सुशासन कायम, सामाजिक रुपान्तरणका लागि मेरो उम्मेदवारी हो र नागरिकले पनि तपाईंको आवश्यकता छ भनेर भनिरहेका छन् ।’ उनले आफ्नो प्रतिस्पर्धी दल कांग्रेसलाई मानेका छन् ।
याे पनि..
महावु उपनिर्वाचनः पार्टी फेरुवा र हरुवालाई एमालेले बनायो उम्मेदवार
कर्णालीमा उपनिर्वाचनः ८ पदका लागि ४४ जनाको उम्मेदवारी









प्रतिक्रिया दिनुहोस्