महावु उपनिर्वाचनः पार्टी फेरुवा र हरुवालाई एमालेले बनायो उम्मेदवार



सुर्खेत । नेकपा एमालेले दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा हरुवा र अवसरका लागि पार्टी फेरिरहने जंगबहादुर शाहीलाई उम्मेदवार बनाएको छ ।

शनिबार एमालेका नेता, कार्यकर्ताहरु महावु नै पुगेर उनको उम्मेदवारी घोषणा गरेका हुन् । एमाले दैलेख इञ्चार्ज लक्ष्मी पोखरेलले शाहीको उम्मेदवारी घोषणा भएको बताए ।

जंगबहादुर शाही तीनै व्यक्ति हुन्, एमालेबाट अध्यक्ष भइरहेकै बेला समाजवादी रोजे । अहिले अवसरका लागि समाजवादीको प्रदेश अधिवेशन चलिरहेकै बेला एमाले प्रवेश गरेर उम्मेदवार बन्न सफल बने ।

शाही मंगलबार मात्रै एमालेमा प्रवेश गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य रहेका शाहीलाई कर्णालीका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले दैलेख पुगेर पार्टीमा स्वागत गरे ।

०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट महावुकै अध्यक्ष बनेका शाही अध्यक्ष रहँदै बिचमा एमाले विभाजनका बेला समाजवादीतिर लागेका थिए ।

‘फ्लोर क्रस’ गरेर चर्चामा रहेका अम्मरबहादुर थापाले नै उनलाई समाजवादीमा लगेर अवसर दिलाए । समाजवादीको दैलेख जिल्ला अध्यक्ष, ०७९, वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार हुँदै केन्द्रीय सदस्य समेत बनाए, थापाले शाहीलाई ।

स्थानीय तहको निर्वाचनमा तेस्रो स्थानमा मत ल्याएर पराजित बने । तर शाही अवसरका लागि जे गर्नपनि तयार रहने शाही समाजवादीको प्रथम अधिवेशन वीरेन्द्रनगरमा चलिरहेकै बेला उम्मेदवार बन्नका लागि एमाले प्रवेश गरे ।

याे पनि..

प्रदेश अधिवेशन चलिरहेकै बेला एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमाले प्रवेश

अहिले एमालेकै कतिपय नेता कार्यकर्ताले उनलाई ‘पार्टी फेरुवा र हरुवा’ नेतालाई पार्टीमा ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

उनलाई उम्मेदवार बनाउने भन्ने हल्ला सुनेपछि एमाले दैलेखका कतिपय नेता, कार्यकर्ताहरुले असन्तुष्ट व्यक्त गर्दा उम्मेदवारी घोषणामै ढिलाइ भयो । शनिबार असन्तुष्ट नेता, कार्यकर्तालाई समेत समेटेर उम्मेदवारी घोषणा गरेको एमाले दैलेख इञ्चार्ज लक्ष्मी पोखरेलले बताए ।

यद्यपि शाही एमाले प्रवेश गर्नुअघि उम्मेदवारका लागि ७ जनाको नाम सिफारिस भएको पाइएको छ ।

ती नेताहरुलाई पार्टीका ठुला नेताहरुले उपेक्षा गरेर ‘हरुवा र अवसरका लागि पार्टी फेरुवा’लाई उम्मेदवार बनाएपछि असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

यहाँ कांग्रेसबाट युवा नेता झलक भण्डारी, माओवादीबाट जंगबहादुर बराल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा उम्मेदवार बनेका छन् ।

याे पनि..

स्थानीय तह उपनिर्वाचनः कर्णालीका तीन जिल्लामा कांग्रेसले लगायो उम्मेदवारको टुङ्गो

उपनिर्वाचनमा भाग लिँदै रविको पार्टी: पुर्व ठेकदार बने महावुको अध्यक्षको उम्मेदवार

माओवादीबाट महावु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा बराल

कर्णालीका ८ स्थानीय तहमा हुँदै छ उपनिर्वाचन, कुन दलको जनमत कस्तो ?

प्रकाशित मिति : २०८१ मंसिर १ गते शनिबार