भो म त्यस्तो विवाह गर्दिन !



भगवानलाई जीवनको अन्तिम सत्य मान्ने सामाजिक व्यवहारबाट हुर्किएका आस्तिकवादिहरुले भगवान विष्णु र अग्नी साक्षी राखेर गरिएका वैवाहिक सम्बन्धहरु किन पारपाचुकेमा परिणत हुन्छन् होला ? सम्बन्ध जोड्दा कर्मकाण्ड अनिवार्यता हुने सामाजिक परम्परामा सम्बन्ध बिच्छेद गर्दा चाहीँ किन कर्मकाण्ड गर्नुपर्दैन होला ?

विवाहका लागि किन मुहर्त नै कुर्नुपर्छ होला ? कर्मकाण्ड गरी गरिएका विवाहहरुले किन कानुनी मान्यता प्राप्त गर्दैनन् होला ? यिनै यावत विषयहरुमा हाम्रो पछिल्लो पुस्ता घोत्लिन जरुरी छ । समय सापेक्ष र वैज्ञानिक पद्धतिअनुरुप हाम्रा संस्कृतिहरु चल्नु आजको आवश्यकता हो ।

विवाहलाई आआफ्नो धर्मानुरुप अत्युक्तिसहित धुमधामसँग गरिएता पनि वास्तवमा विवाह एक सम्बन्ध मात्र हो जसका लागि कुनै साङ्गे जरुरी हुदैन । विशेष गरि दक्षिण एसियाका नेपाल, भारत लगायतका देशहरूमा पुर्वीय दर्शनको मूल्य मान्यता अनुरुप विभिन्न प्रकारका वैवाहिक संस्कृतीहरु प्रचलनमा छन् ।

यी विकसित सबै विवाहरु खर्चिलो, अवैज्ञानिक र असमानता झल्किने विवाहहरु हुन् । सम्बन्ध जोड्न विधि र कर्मकाण्ड गर्नु फगत यथास्थितिको उपज हो । विकसित देशहरूमा विवाहलाई एक सामान्य समारोह मार्फत सम्पन्न गर्ने गरिन्छ । आजको युग खोज अनुसन्धान र नविनतम योजनामा निर्भर रहने युग हो । विज्ञान र प्रविधिको युगमा हामी वेद पूराण र महाभारतको स्तुति गरिरहेका छौँ, जसले समाजलाई नवीन मार्गतर्फ डोर्‍याउने नभै यथास्थितिमा बाँच्न सिकाउछ ।

मानिस किन धर्मप्रती कठोर बन्छ होला जति ऊ आफ्नो देशको नियम, कानुन र ऐनप्रति बन्दैन । जो मानिस पटक–पटक यो त मेरो धर्मले मान्दै मान्दैन हुदै हुदैन भनिरहन्छ । ऊ कहिल्यै यो मेरो देशको नियम र कानुनले मान्दैन है भनेर वाचन गरेको कहिल्यै सुनिदैन । ऊ देशप्रती भन्दा धर्मप्रति वफादार छ । मानिस धर्मको जालमा इतिहासको कालखण्डदेखि नै फस्दै आएको छ । नादान धार्मान्धहरु आफ्नो धर्मग्रन्थमा लेखिएको शब्द शब्दप्रती अगाध विश्वास गर्दछन्, चाहे त्यो सत्य होस् वा मिथ्या मथलव रहेन । यहाँ एउटा दृष्टान्त प्रस्तुत गर्न वाञ्छनिय हुन्छ भन्ने ठान्दछु । सन् १५६४ मा इटालिमा जन्मिएका वैज्ञानिक ग्यालिलियो ग्यालिलियोले भौतिक विज्ञान सम्बन्धि सिद्धान्त प्रतिपादन गरि सुर्यले पृथ्वीको परिक्रमा नभएर पृथ्वीले सुर्यको परिक्रमा गर्छ भन्ने तथ्य पुष्टि गरे ।

ग्यालिलियोले पत्ता लगाएको तथ्य इसाई धर्म ग्रन्थ विपरीत थियोे, ईसाइ धर्मावलम्बीहरुले यस्तो वैज्ञानिक तथ्य सहन सक्ने कुरै भएन जसको कारण ग्यालिलियो लाई रोमको धार्मिक अदालतमा उभ्याईयो र सुर्यले पृथ्वीको परिक्रमा गर्छ भन्ने झुठो कुरा भन्न बाध्य पारियो, उनका पुस्तकहरु पढ्न र पढाउन प्रतिबन्ध लगाईयो त्यतिले पनि पुगेन उनलाई नजरबन्दमा राखियो ७७ बर्षको उमेरमा सन् १६४२ मा नजरबन्द रहेकै अवस्थामा वैज्ञानिक ग्यालिलियो ग्यालिलिको मृत्यु भयो ।

ईसाइ धर्मान्धहरुको चेत ३६० बर्ष पछि खुल्यो र ग्यालिलियो माथी गरिएको कारबाहीमा आफुहरु गलत भएको स्वीकार गर्यो । त्यसको एउटै कारण थियो कि उनीहरुले संसार लाई हेर्ने दृस्ठिकोण पश्चगमनकारी आध्यात्म थियोे । आध्यात्मको बाटो नै उल्टो हुन्छ समाजलाई यथास्थितिमै बाँच्न मलजल गरिरहन्छ तसर्थ परिवर्तन र अग्रगामी मार्गतर्फ अगाडि बढ्न भौतिकवादी चस्मा आवश्यक हुन्छ ।

मानिस जन्मिदै हिन्दु, बौद्ध, इसाई र कृश्चियन भएर जन्मिन्छ दुखको कुरा मानिस मानिसनै भएर कहिले जन्मिन्छ होला ? सायद त्यही भएर होला मानिस सामाजिक भन्दा बढी धार्मिक हुन रुचाउँछ । अबको पुस्ताले धर्मलाई कर्तव्य ठान्नु पर्छ, मेरो धर्म हिन्दु, बौद्ध, क्रिश्चियन इत्यादी होइन, मेरा धर्म दुखी गरिब, असाहय, अशक्तहरुको सेवामा समर्पित हुनु हो । अग्रजहरुको सम्मान गर्नु हो, बेसाहरा वर्गको साहारा बन्नु हो, संविधानको धारा ४८ मा उल्लेखित नागरिकका कर्तव्यहरु पूरा गर्नु मेरो धर्म हो भन्ने मानसिकता बनाउनु पर्छ ।

धार्मिक अनुयायीका नाममा छुवाछूत प्रती अगाध विश्वास राख्ने, छोईछीटो हाल्ने, धामीझाँक्री पुज्ने, मन्दिर धाउने, बली चढाउने लगायतका क्रियाकलापहरु धर्म होइनन् अधर्म हुन् । सबैभन्दा ठुलो धर्म केही छ भने त्यो मानवता हो हामी सभ्य मानव र जिम्मेवार नागरिक बन्ने प्रयत्न गरौं ।

म प्रगतिशील विवाहको पक्षधर

आजभोलि विवाह भन्ने बित्तिकै त्यसको परिपुरक सुन चाँदी बन्न थालेको छ । मौजुदा कारोबारमा सुनको मुल्य करिब २ लाखको समीप छ । के यो निम्न वर्गिय परिवारका लागि सम्भव संस्कार हुनसक्छ ? कदापी हुन सक्दैन । त्यसकारण संस्कार बदल्न जरुरी छ । के मानव शरीरका लागि नभई नहुने कुनै त्यस्तो अत्यावश्यक भिटामीन वा कुनै तत्व हो सुन चाँदी ? सुन चाँदीरहित विवाह पनि त सम्भव छ । तर हामी अरुलाई देखाउनकै लागि ऋण गरेरै भएपनी बुर्जुवा परिपाटी नै अंगिकार गरिरहेका छौँ । हो म त्यसकारण प्रगतिशिल विवाहको समर्थक हुँ ।

आजभोलि सयपत्री फुल, हजारी फुल, मखमली फुलको माला भन्दा पैँसाका मालाहरुको मर्यादा निकै ओजस्वी हुनथाल्यो । अन्ततः समाजमा वैभवको मान्यता निकै उचो हुन पुग्यो । सबैभन्दा माथि केही छ भने त्यो आर्थिक हो भन्ने निष्कर्षमा समाजको केही तप्का छ । त्यही मान्यता र भ्रम चिर्न प्रगतिशील मितब्ययी वैवाहिक संस्कार आवश्यक छ । विवाहमा पण्डित पुरेत बोलाएर वैभव प्रदर्शनी गरी कर्मकाण्ड गरेमात्र वैध विवाह हुन्छ ? हाम्रो मुलुकी देवानी संहिता ऐन २०७४ को भाग ३ को दफा ७७ मा दर्ता द्वारा विवाह (कोर्ट म्यारिज) सम्बन्धी व्यवस्था गरिएको छ ।

विवाह गर्न चाहने महिला र पुरुषले सम्बन्धित अदालतमा उपस्थित भएर वैवाहिक सम्बन्ध जोड्न सकिन्छ । यो विवाह आजको युग सापेक्ष मितव्ययी र कानुनी रूपमा वैध र सबै वर्गको लागि सहज हुने विवाह हो । यसर्थ हामी सबैले यस्तै खालका प्रगतिशील र समानतालाई प्रश्रय दिने विवाह आजको आवश्यकता हो ।

 

प्रकाशित मिति : २०८२ वैशाख ३१ गते बुधबार