‘हाम्रो उद्देश्य त राज्य सत्ता बदल्नु थियो, विभेदको खाडल पुर्नु थियो’



जिल्ला पार्टीको तर्फबाट अभिनन्दन गर्ने कुराले मन हर्षित भएको थियो । त्यो भन्दा धेरै खुःसी कमरेड राहुलसँग भेट्ने कुराले भएका थियौँ । राहुल एउटा बौद्धिक युवा नेता । विद्रोही स्वभाव र मिलनसार पनि । जनयुद्धका सुरुवाती चरणमा सुर्खेतको माओवादी आन्दोलन अघि बढाउने संकल्पका साथ उहाँले नेकपा (मसाल) बाट विद्रोह गर्नुभएको थियो ।

हाम्रो छिमेकी पनि र एउटै स्कुलको अग्रज पनि । कति धेरै बहस गर्ने र मिल्ने पनि । हामी जेल पर्दा एउटै कमिटीमा थियौँ । जेलबाट निस्केर आउँदा कमरेड राहुल सुर्खेतको सेक्रेटरी । कमरेड राहुल सँग अरुको कुरा मज्जाले सुन्न सक्ने र आफ्नो दृष्टिकोण पनि सरल ढंगले प्रस्तुत गर्न सक्ने एउटा विशिष्ट क्षमता थियो । डेढ वर्षपछि हाम्रो भेटघाट हुँदै थियो । यसर्थ पनि एउटा अर्को खुःसी र आनन्द महसुस भइरहेको थियो ।

एउटा सानो चौरमा गोलो घेरा लगाएर राखिएका बेन्चमा हामी बसेका थियौँ । घामका किरणले बिस्तारै शरीरलाई न्यानो बनाइरहेका थिए । अभिनन्दन कार्यक्रमको ब्यानर र झण्डाले हाम्रो ध्यान खिचिरहेको थियो । यत्तिकैमा एउटा टोलीसहित कमरेड राहुलको उपस्थिति भयो । तत्कालीन जिल्ला इन्चार्ज सरला रेग्मी (अणु), पार्टी नेता पूर्ण घर्ती (आयाम) लगायतका नेताहरूको उपस्थिति भयो । बिछोडका डेढ वर्ष, गरेका सङ्घर्ष र प्राप्त गरेका उपलब्धिको व्याख्या गर्न हामीलाई एक दिनको समय अपर्याप्त थियो ।

संक्षिप्त अनुभूति आदानप्रदान गर्दै पार्टीको नयाँ विश्लेषण र नयाँ परिस्थितिको जानकारी लिँदै कार्यक्रम सम्पन्न भयो । हामी अभिनन्दित भयौँ । रातो टीका र माला लगाएर फेरि नयाँ जिम्मेवारीका साथ मुक्ति यात्रामा लामबद्ध हुने कसम खायौं ।

जेल ब्रेक गर्नु हाम्रो अन्तिम उद्देश्य थिएन । न त कहिँ सुरक्षित स्थानमा गएर बस्नु नै थियो । हाम्रो उद्देश्य त राज्य सत्ता बदल्नु थियो । अशिक्षा, गरिबी र विभेदको खाडल पुर्नु थियो । आत्मनिर्भर अर्थतन्त्र निर्माण गरेर समाजवादतिर देशलाई लैजानु थियो । त्यतिबेला चलिरहेको दमन र प्रतिरोध संघर्षमा होमिनु थियो । तत्कालीन सरकारले माओवादी आस्था र विचारमाथि प्रतिबन्ध लगाउँदै ‘आतंककारी’ घोषित गरेको थियो । कमरेड प्रचण्ड र बाबुरामको टाउकाको मूल्य ५०–५० लाख घोषणा भएको थियो । तहगत रूपमा धेरै नेता, कार्यकर्ताको पनि मूल्य निर्धारण गरिएको थियो । राज्यको त्यो दमनका विरुद्ध प्रतिरोध सङ्घर्षलाई बल प्रदान गर्न हामी पनि उपस्थित भइसकेका थियौँ ।

जेलबाट आएका हामी एकै ठाउँका थिएनौँ । कालिकोटदेखि बर्दिया सम्मका थियौँ । हामीलाई जस्तै सबै साथीहरूलाई छिटोभन्दा छिटो आफ्नो जिल्लामा जानु थियो । आफन्त र प्रियजनसँग भेट्नु थियो । पार्टीले प्रदान गर्ने नयाँ जिम्मेवारीमा जोडिनु थियो । त्यसका लागि अर्को ठूलो चुनौती हाम्रा सामु थियो । ती ठाउँसम्म पुग्न धेरै सुरक्षा घेरा पार गर्नुपथ्र्यो । अब सम्पूर्ण व्यवस्थापन पार्टीले गर्छ भन्ने आत्मविश्वास पनि थियो । साथै हामीसँग प्रशस्त समय पनि थियो । रुचि र आवश्यकताका आधारमा जिम्मेवारी प्रदान गर्दै अघि बढ्ने सल्लाह जिल्ला पार्टी कार्यालयसँग भयो । बाहिरी जिल्लामा जानेहरूलाई आवश्यक व्यवस्था सहित बिदाई गरियो ।

प्रहरीको पहिलो फायर बाटै छुट्टिएका दुईजना साथीहरू हामीले सम्झिरहेका थियौं । एउटा थिए ५६ वर्षका लोकबहादुर चलाउने (बबर) । अग्लो जिउडाल र हक्की स्वभावका उनलाई राज्यले निकै खतरनाक व्यक्तित्वको रुपमा बुझेको थियो । त्यसैले गर्दा जाजरकोटबाट जेल सरुवा गरेर सुर्खेत पठाएको थियो । जब जेल ब्रेकको योजना बन्यो, त्यतिबेला बुढालाई बाहिर निस्केर दौडिन सक्छु भन्ने पटक्कै लागेको थिएन ।

उमेरको साथै हिरासतमा पाएको चरम यातना र जेल बसाइले भौतिक रुपमा बुढा गलेकै थिए । कुनै बेला हामीले जेल ब्रेक गर्‍यौँ भने र बुढा भित्र छुटे भने उनी मारिने निश्चित थियो । त्यसैले लगातार दुई महिना बुढालाई जेलभित्रै दौडाइ रह्यौं । वीरेन्द्रनगरको भूगोल बारेमा उनलाई कुनै पनि जानकारी थिएन । अन्धाधुन्द भाग्दै गर्दा बिहान झिसमिसेमा उनी नेपाली सेनाको पृतना गेट अगाडि खाली खुट्टा हिँड्दै पुगेछन् । ड्युटीमा रहेको नेपाली सेनाले को होस् ? भनेपछि बल्ल बुढाले थाहा पाएछन् । भनेछन्—‘हजुर म त सानो व्यापार गरेर बस्ने मान्छे श्रीमती बिती (निधन भयो) भन्ने खबर आयो म त यस्तै हिँडेको छु । बरु दैलेख गोगनपानी जाने बाटो कता होला ?’ ढाडमा एक लात हान्दै त्यो जवानले बाटो देखाई दिएछ । बुढा त हामीभन्दा पहिले नै जाजरकोट पार्टीको सम्पर्कमा पुगिसकेछन् ।

छुटेका अर्का साथी थिए कुलबहादुर दर्लामी । वीरेन्द्रनगरकै बासिन्दा उनी ज्यान मुद्दामा जेल परेका थिए । छारे रोग लागेका उनी र उनीसँगै बस्ने अर्का थिए शेरबहादुर दर्लामी । जेल प्रशासनको निगरानी हामीतिर बढी हुन्थ्यो । छारे रोगले बेलाबेला बेहोस भइरहने उनीहरूको अलग्गै कोठा थियो ।

सबैभन्दा कम निगरानी हुने उनीहरूकै कोठाको बिस्तरामुनि सुरुङ खनेका थियौं । उनीहरूसँग हाम्रो खासै सहकार्य हुँदैन थियो । जब सुरुङ खन्ने योजना बन्यो र सुरुवातको बिन्दु छनौट गर्ने कुरा आयो हामीले उनीहरुसँग सम्बन्ध बनाउने आवश्यकता महसुस गर्‍यौं । दुवै जनालाई २० वर्ष कैद सजाय सुनाइएको थियो ।

उनीहरूले जम्माजम्मी दुई वर्षजति जेल जीवन बिताएका थिए । सुरुमा त मानेनन्, पत्याएनन् र विश्वास गरेनन् । निरन्तर छलफल गरिसकेपछि उनीहरू पनि सहमत भएका थिए । त्यसरी आएका साथी छुट्दाखेरि हामीलाई नरमाइलो महसुस भएको थियो । तर स्थानीयवासी भएको कारणले उनी सुरक्षा घेरा छल्दै पार्टीको सम्पर्कमा पुगिसकेका थिए ।

याे पनि….

‘जेल ब्रेक’ डायरी १ः सुर्खेत ‘जेल ब्रेक’ को इतिवृत्तान्त

‘जेल ब्रेक’ डायरी २जेल तोडेका हामीलाई खोज्न जब तिनवटा हेलिकप्टर परिचालन भए…

‘जेल ब्रेक’ डायरी ३:…अनि खोज्न थाल्यौँ औजार

‘जेल ब्रेक’ डायरी ४:..जब हामी सुरुङ भित्र छिर्ने निर्णायक घडी आयाे

‘जेल ब्रेक’ डायरी ५: जेलभित्रै कम्युन

युद्धकाे डायरी ६:..जब विवाह बन्धनमा बाँधिएको छ महिनापछि म जेल परें

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रबार